Connect with us

समसामयिक

तरकारीमा विषादीको बिगबिगीः परीक्षणको माग गर्दै व्यवसायी सङ्घद्वारा ज्ञापन पत्र

Published

on

पश्चिम नवलपरासी जिल्लाका साप्ताहिक हाटबजारहरूमा बिक्री हुने तरकारी, फलफूल तथा अन्य खाद्य सामग्रीहरूमा विषादी (केमिकल) को अनियन्त्रित प्रयोग भइरहेको भन्दै साप्ताहिक हाट बजार व्यवसायी सङ्घ, नवलपरासीले गम्भीर सरोकार व्यक्त गरेको छ । उपभोक्ताको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सङ्घले हिजो बिहीबार औपचारिक रूपमा जिल्ला प्रशासन कार्यालयलाई गुणस्तर परीक्षणको व्यवस्था मिलाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा तरकारी तथा फलफूलमा अनियन्त्रित रूपमा विषादी प्रयोग हुँदा उपभोक्ताको स्वास्थ्य जोखिम चुलिएको उल्लेख छ । “यस्ता विषादी प्रयोगले क्यान्सर, पेटका रोग, छाला रोग, आँखा दुख्ने, कलेजो तथा मुटुसम्बन्धी जटिल समस्या देखिने खतरा हुन्छ,’’ ज्ञापन पत्रमा भनिएको छ । सङ्घका अनुसार हाटबजारमा बिक्री हुने धेरै प्रतिशत तरकारी तथा फलफूलमा विषादीको मात्रा स्वीकृत सीमाभन्दा धेरै माथि रहेको भन्दै उपभोक्ताबाट लगातार गुनासो आइरहेको छ ।

तरकारीमा प्रयोग हुने रासायनिक पदार्थहरू सामान्य धुने, भिजाउने वा पकाउने प्रक्रियाबाट पनि नहट्ने भएकाले स्वास्थ्य जोखिम अझ बढ्ने खतरा औंल्याइएको छ । सङ्घका अध्यक्ष सागर विकका अनुसार झन्डै एक सयभन्दा बढी प्रकारका विषादात्मक रासायनिक पदार्थहरू तरकारी तथा फलफूलमा प्रयोग भइरहेको पाइएको छ, जसले मानिसको शरीरमा दीर्घकालीन असर पार्नेछ ।

स्थानीय तहलाई सहयोगको अनुरोध
सङ्घले उपभोक्ताको स्वास्थ्य सुरक्षा र खाद्य सुरक्षाको सुनिश्चितताका लागि तत्काल कदम चाल्न माग गर्दै सम्बद्ध निकायसँग विषादीको सर्वेक्षण, निगरानी र तत्काल गुणस्तर परीक्षणको व्यवस्था गर्न माग गरेको छ ।

ज्ञापन पत्रमार्फत स्थानीय तहहरू बर्दघाट, रामग्राम, सुनवल नगरपालिका तथा प्रतापपुर, सरावल, सुस्ता र पाल्हीनन्दन गाउँपालिकालाई पनि विषादी प्रयोगको रोकथाम तथा परीक्षण प्रक्रियामा सहयोग गर्न अनुरोध गरिएको छ । हाट बजार व्यवसायी सङ्घले बजारमा गुणस्तरीय तरकारीको सहज उपलब्धता र खाद्य सुरक्षाका लागि चाँडै प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ ।
पुरुषोत्तम सुबेदी/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.