Connect with us

राजनीति

पूर्वराजा शाहले आफूलाई साथ दिन आह्वान गरेपछि राप्रपाका नेता उत्साहित

Published

on

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा ‘देश जोगाउनका लागि आफूलाई साथ दिन’ आह्वान गरेपछि राजावादीमा खुसियाली छाएको छ । राप्रपा, राप्रपा नेपालका नेताहरुले सामाजिक सञ्जालमार्फत आ–आफ्नो विचार अघि सार्न थालेका छन् ।

पूर्वराजाको सन्देशले अब राजतन्त्र पुनःस्थापनाका लागि निर्णायक संघर्ष हुने भन्दै फेरि एकपटक गोलबन्द हुनुपर्ने बताउन थालेका छन् । पूर्वराजाले आफूले गरेको त्यागलाई कमजोरी नठान्न पनि उनले दलहरूलाई चेतावनी दिएका थिए ।

‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं । नेपालको उन्नतिका लागि हामीबाट अरु के के त्याग गर्नुपर्ने हो, हामी तयार छौं । अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्छौं,’ पूर्वराजाले प्रजातन्त्र दिवसका अवसरमा भनेका छन् ।

यसपटकको वक्तव्यमा उनले मूर्तरूपमै आफूलाई साथ दिन आह्वान गरेकाले राजावादी क्याम्प उत्साहित बनेको हो । राप्रपा महामन्त्री धवलशमशेर राणाले पूर्वराजाकाे कदमलाई आफ्नाे दलले पूर्ण समर्थन गर्ने घाेषणा गरिसकेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले फेसबुकमार्फत सबैलाई तयारी अवस्थामा रहन आह्वान गरेका छन् । ‘प्रजातान्त्र दिवसको उपलक्ष्यमा शुभ सन्देश प्राप्त जो जहाँ छौं त्यतै स्थानमा रहनका साथै तयारी अबस्थामा रहन अनुरोध गर्दछौं । यो सन्देश सबैमा पुर्‍याउन अपील गर्दछौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्वराजाको अभिव्यक्ति यत्तिकै हचुवामा आएको होइन । पूर्वराजालाई साथ दिन अब हामी अगाडि बढ्ने हो । संसददेखि सडकसम्म हामी जनमतसंग्रहको आवाज उठाउँछौं । यसको छिनोफानो हुनैपर्छ ।’

शाहीले राजावादी सबै शक्ति र गणतन्त्रवादी पार्टीहरूमा रहेका राजाका शुभेच्छुकहरू एक ठाउँमा आएर आन्दोलनको आँधिबेहेरी ल्याउने बताएका छन् ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.