प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलासमा आफूले चाहे अनुसारका न्यायाधीश छान्ने भएका छन् । संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरु गोला प्रथाबाट छान्ने राउतको प्रस्तावलाई कतिपय न्यायाधीशहरुले स्वीकार नगरेपछि केही दिन यता सर्वोच्च न्याालयमा विवाद थियो । वरिष्ठता अनुसारका न्यायाधीश छान्नु पर्ने उनीहरुको अडान थियो । तर, राउतले यसमा असहमति जनाउँदै आएका थिए ।
प्रधान्यायाधीश राउतले आज बुधबार कार्यालय सुरु हुनसाथ सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो अधिकार प्रयोग गरेको संवैधानिक इजलासमा बस्ने न्यायाधीशहरु छान्ने जानकारी दिएका छन् । यसअघि संवैधानिक इजलासमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिंदै आएका थिए ।
पछिल्लो समय संवैधानिक इजलासमा प्रधान न्यायाधीशसँग अन्य न्यायाधीशहरूको राय बाझिन थालेपछि प्रधान न्यायाधीश राउतले आफूखुसी अन्य न्यायाधीशहरू तोक्ने अडान राख्दै आएका थिए । वरिष्ठ न्यायाधीशहरुले उनको अडानलाई अस्वीकार गरेका थिए ।
जसको विपक्षमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित अन्य न्यायाधीशहरू उभिएका थिए । राउतले सञ्चारकर्मीहरूसँग भने, ‘मैले लिएको निर्णयमा सबै सहमत छन् ।’संवैधानिक निकायमा नियुक्त ५२ जनाको नियुक्ति विरुद्ध परेको रिटमा प्रधान न्यायाधीश राउतसँग वरिष्ठतम न्यायाधीश प्रधानलगायतले राय बझाएका थिए ।