Connect with us

अर्थ

सार्वजनिक बिदामा पनि धरहरा खुल्ने 

Published

on

पुनर्निर्माणपछि खुला गरिएको धरहरा अब दैनिक दुई चरण (सिफ्ट) मा खुला गरिने भएको छ । साउन १ गतेदेखि दुई चरणमा सञ्चालन हुने तयारी भइरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायण मैनालीले अब सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । धरहरा अवलोकनका लागि दिनहुँ मानिसको आकर्षण बढ्दै गएको हुनाले हप्ताको सातै दिन दुई चरणमा सञ्चालन तयारी भइरहेको उहाँले बताए ।

चार करोड राजस्व सङ्कलन

भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि सशुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट चार करोड ३३ लाख ९३ हजार ६५० रुपियाँ राजस्व सङ्कलन भएको सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले जनाएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित धरहरा खुला गरिएको थियो ।

जेठ मसान्तसम्म सो राजस्व सङ्कलन भएको हो । विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) अन्तर्गत धरहरा सञ्चालन हुँदै आएको छ । एकाइका नायब सुब्बा बाघसिंह ओलीले धरहरा सञ्चालन भएको यस अवधिमा दुई लाख ३७ हजार ६५ जनाले धरहरा चढी अवलोकन गरेको जानकारी दिए  । उनका अनुसार धरहरा अवलोकन गरेको यस सङ्ख्यामा १० वर्षमुनिका बालबालिकाको तथ्याङ्क समावेश गरिएको छैन । १० वर्षसम्मका बालबालिकासँग शुल्क नलिने गरिएकाले उनीहरूको तथ्याङ्क सङ्कलन हुन नसकेको उहाँले स्पष्ट पारे ।

संविधान दिवसका अवसर पारेर असोज ३ गतेदेखि धरहरा सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालन गर्ने निर्णय गरिएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रीपरिषद् बैठकले सशुल्क धरहरा खुला गर्ने निर्णय गरेको थियो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ बमोजिम सशुल्क धरहरा सञ्चालनमा ल्याइएको हो ।

उहाँले टिकट बिक्रीबाट सङ्कलन भएको रकम हरेक दिन सोझै सरकारको राजस्वमा जम्मा गर्ने गरिएको बताउनुभयो । टिकट बिक्रीबाट सङ्कलित रकमबाट कुनै शीर्षकमा खर्च कटाउने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । धरहरा चढ्न प्रतिव्यक्ति दुई सय रुपियाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था गरिएको नायब सुब्बा ओलीले जानकारी दिए ।

उनले धरहरा चढ्न विदेशी पर्यटकसमेत आउने गरेको बताए । उनका अनुसार सार्क मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका मुलुकबाट आउने पर्यटकलाई प्रतिव्यक्ति एक हजार रुपियाँ शुल्क तोकिएको छ । धरहराको बेसमेन्टमा सवारीसाधनको पार्किङबापत शुल्क लिने भनिए पनि अहिलेसम्म नलिएको उनले बताए ।

अहिलेसम्म सर्वसाधारणले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन निःशुल्क पार्किङ सेवा लिँदै आएका छन् । धरहरा परिसरमा प्रवेशका लागि ५० रुपियाँ, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ, व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपियाँ र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपियाँ तोकिएको उहाँले जानकारी दिए ।

गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.