Connect with us

समसामयिक

यसरी पक्राउ परे पर्वतमा ३७ वर्ष अगाडि हत्या गरेर फरार दुई अभियुक्त

Published

on

कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्।

फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले बताए।

गम्भीर लामो समयदेखि रुपन्देही मायादेवी गाउँपालिकामा बसिरहेका थिए। तेजबहादुर पर्वत महासिला गाउँपालिका-५ र  ललितपुर महालक्ष्मी नगरपालिका लुभुमा दुबै ठाउँमा बस्दै आएका थिए।

गम्भीर र तेजबहादुर दुबै पर्वत साबिक कुर्घा गाविस-९ का हुन्। पर्वत साबिक कुर्घा गाउँ पञ्चायत वडा नम्बर २ का रामबहादुर गुरुङलाई चक्कु तथा लाठी प्रहार गरी हत्या गरेर खोल्सामा फालेपछि उनीहरू फरार भएका थिए।

फरार रहेका उनीहरूलाई लामो समयपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। दुबैले २०४४ साल फागुन ७ गते राति साढे १० बजे रामबहादुरलाई योजनावद्ध तरिकाले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

‘उनीहरू घटना घटेको ३७ वर्षदेखि फरार थिए, फरार अभियुक्तको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरी टोलीले उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो,’ प्रहरी नायब उपरीक्षक विष्टले भने।

रामबहादुरको हत्या आरोपमा दुबै जनालाई पर्वत जिल्ला अदालतले जनहीँ १०-१० वर्षको कैद सजाय सुनाएको थियो। उनीहरूलाई पर्वत जिल्ला अदालतले २०५८ साल असार १३ गते कैद सजाय तोकेको थियो।

पक्राउ परेका दुबैलाई जिल्ला अदालत पर्वतमा पेश गरिएकोमा अदालतले कारागार चलान गरिदिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए।

रामबहादुरको हत्यामा अन्य दुई जना फरार छन्। उनीहरूको खोजी भइरहेको विष्टले बताए। ‘लामो समयदेखि उनीहरू फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय पर्वतले विशेष तरिकाले खोजी गरेको थियो,’ विष्टले भने, ‘फरार भएका दुई व्यक्ति चाँडै पक्राउ पर्ने अपेक्षा राखेका छौं।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.