नेपाल मुहार – २०८१-०३-२६
टेलिकम उद्योगको निगरानी गर्न नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स उपकरण जडान हुन नदिन हुवावे कम्पनी परिचालित भइरहेको खुलासा
नेपालको टेलिकम (दूरसञ्चार) उद्योगमा हुवावे कम्पनीले व्यापक हस्तक्षेप गरेको छ । नेपालको ‘टेलिकम्युनिकेसन’ उद्योगमा ‘अपरेटर’ (नेपाल टेलिकम–एनसेल नेपाल दुवैमा) कोर सिष्टम’ हुवावेले दिएको छ । टेलिकम क्षेत्रको अन्तर्राष्ट्रिय मान्यता अनुसार एउटै ‘भेण्डर’ ले दुई वटा ‘अपरेटर’ मा एकै प्रकारको ‘सिष्टम’ जडान नगर्ने प्रचलन छ ।
तर, नेपालका हकमा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेल नेपाल दुवैको सम्पूर्ण ‘सिष्टम’ एउटै कम्पनी हुवावेको पूर्ण नियन्त्रणमा छ । अर्थात हुवावेले नेपाल टेलिकम र एनसेल दुवैको ‘फोर जी’ को ‘कोर सोलुसन’ दिइरहेको छ । फलतः ‘टेलिकम्युनिकेसन’ उद्योगमा भइरहेको अपारदर्शी कामको निगरानी, नियन्त्रण र हस्तक्षेपका लागि टेरामक्स प्रविधि जडान हुन नदिन हुवावेले शक्तिशाली अवरोध गरेको छ ।
हुवावे कम्पनीको खतरनाक हस्तक्षेपकै कारण आजसम्म नेपाल दूरसञ्चार प्राधिकरणले स्वतन्त्र रुपमा अन्तर्राष्ट्रिय टेलिकम ‘अडिटर’ ल्याएर ‘ड्युडेलीजेन्स’ गर्न पाएको छैन । टेलिकम कम्पनीहरुले लाइसेन्स लिँदा प्रतिवद्धता गरेका केपीआई (किप पर्फमेन्स इन्डिकेटर) पूर्णरुपमा पालना गरेका छन् कि छैनन् ? कबोल बमोजिमको गुणस्तरीय सेवा दिएका छन् कि छैनन् ? आजसम्म ‘सिष्टम अडिट’ गराइएको छैन ।
सत्तालाई नै प्रभावमा पारेर हस्तक्षेप
अघिल्लो वर्ष अर्थात ०८० भदौ ३० (सेप्टेम्बर १६) गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूह संयुक्त राष्ट्रसङ्घको ७८ औँ साधारण सभामा भाग लिन अमेरिका गएको थियो । असोज ४ गते (सेप्टेम्बर २१) राष्ट्रसङ्घको सभालाई सम्बोधन गरी असोज ५ गते प्रचण्ड अमेरिकाबाट सिधैं चीन आए । जहाँ चीनको हाङजाओ शहरमा असोज ६ (सेप्टेम्बर २३) मा एशियाली खेलकुदको उद्घाटन समारोह हुँदै थियो ।
चीन उत्रिएर एशियाली खेलकुद समारोहमा सहभागी हुनु अघि प्रचण्डले राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङलगायत उच्च नेतृत्वसँग भेटघाट गरेका थिए । उद्घाटन समारोहमा सहभागिता जनाएर असोज ८ (सेप्टेम्बर २५) गते प्रचण्ड बेइजिङ गए । त्यहाँबाट तिब्बत घुम्दै छेन्दु हुँदै प्रधानमन्त्री प्रचण्ड असोज १३ गते स्वदेश फर्किएका थिए ।
प्रचण्डको चीन भ्रमणको यति लामो व्याख्या किन गरिएको हो भने नेपाल फर्किए लगत्तै उनले पहिलो अभिव्यक्ति दिएका थिए, ‘नेपाल दूरसञ्चार प्राधिकरणले जडान गर्न लागेको टेरामक्स प्रविधि अहिले लागू हुँदैन । उपकरण खरिदमा करोडौं रुपैयाँ खर्च भएको भएपनि त्यो लागू हुँदैन ।’ रोचक के भने चीनमा रहँदा प्रचण्डको आथिथ्यता हुवावे कम्पनीले गरेको भ्रमणमा सहभागी एक सदस्यले नेपालमुहारलाई बताएका छन् । हुवावे चीन सरकारको ‘जाइन्ट’ कम्पनी हो । जसको निर्देशक चिनिया रक्षा मन्त्रीकी छोरी छन् ।
०८० साउन ३० गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको भेटमा पनि प्रचण्डले टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका थिए । नेपाल दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीका अनुसार हुवावेले टेलिकम उद्योगको निगरानी गर्ने टेरामक्स जडान हुन नदिन सरकार, संसददेखि अख्तियारसम्म निकै माथिल्लो स्तरबाट प्रभाव पारिरहेको छ । ती अधिकारीका अनुसार हुवावेले टेरामक्स जडान हुन नदिन सरकार, संसददेखि अख्तियारसम्मलाई मजबुत प्रभावमा पारेको भेद भर्खरै मात्र खुलेको हो ।
“नेपालको टेलिकम उद्योगमा हुवावेले आफू बाहेक अरु कुनै पनि कम्पनीका प्रविधि जडान हुन नदिने गरी प्रभाव पारेको पाइयो । दूरसञ्चार प्राधिकरणले खरिद गर्न लागेको टेरामक्स उपकरण हुवावे आफैंले आपूर्ति गर्न त्यतिबेलै बारम्बार निकै ठूलो दबाब दिएको थियो,” उनी भन्छन्, “कतिसम्म भने टेरामक्स प्रविधि खरिदको ठेक्का पाएको लेवनानी कम्पनी (भेनराइस सोलुसन) मा समेत हुवावेका प्रतिनिधिहरु पुगेर ‘यो उपकरण हामीलाई देउ । हामी जोडिदिन्छौ’ भनेर प्रस्ताव राखेका रहेछन् । लेवनानी कम्पनीले त्यसो हो भने नेपाल दूरसञ्चार प्राधिकरणबाट यसको बोलपत्र नै बदल्न लगाउ भनेको रहेछ । कानून सम्मत प्रक्रियाबाट गरेको बोलपत्र प्राधिकरणले बदल्न सक्ने कुरै थिएन ।”
उनको थप भनाइ छ, “हुवावेले टेरामक्स प्रविधि आफूले आपूर्ति गर्न नपाएपछि अहिले जडान नै अवरुद्ध बनाउन अस्वभाविक चलखेल गरिरहेको छ ।” हुन पनि नेपालको ‘सेक्युरिटी इन्फरमेसन’ हुवावेसँग मात्र छ । उसले नेपालको सेक्युरिटी इन्फरमेसन’ के/कसरी लगिरहेको छ ? कसैलाई जानकारी छैन ।
यस्तो अवस्थामा टेरामक्सले नेपाल टेलिकम र एनसेल दुवै ‘अपरेटर’ को नेटवर्क, सिग्नल, सिष्टम, गुणस्तरलगायतको अडिट गर्दै थियो । त्यसको जडान नै अवरुद्ध गरेपछि हुवावेको एकलौटी निर्वाध चल्न पाउनेछ । यसैपनि टेरामक्स जडान हुन नदिन टेलिकम क्षेत्रका बिचौलियाहरुले दौडधुप गरिरहेका छन् । बिचौलियाहरुको यो समूहमा हुवावे समेत थपिएपछि टेरामक्स जडान थप पेचिलो बनेको छ ।
टेलिकम क्षेत्रका विज्ञहरुका भनाइमा हुवावे कम्पनी टेरामक्स प्रविधि विरुद्ध लाग्नु अस्वभाविक मात्र होइन, निकै नै गम्भीर विषय हो । नेपाल दूरसञ्चार प्राधिकरणका एक जना इन्जिनियर भन्छन्, “हुवावे कम्पनी टेरामक्स प्रविधि जडान विरुद्ध लाग्नु सामान्य विषय होइन । यसमा नेताहरु, सरकार र अख्तियारमा कार्यरत अधिकारीहरु कति जानकार/सचेत छन् ? यसबारेमा मलाई जानकारी छैन ।” टेरामक्स खरिदमा भ्रष्टाचार भयो भनेर अनेकन कथ्य एवं हाउगुजी खडा गरे पनि धरातलीय यथार्थ भने यो प्रविधि जडानलाई अवरुद्ध गरी टेलिकम उद्योगको ‘मोनिटरिङ’ हुन नदिने योजना अन्तरनिहित रहेको उनी बताउँछन् ।
फरक–फरक स्वार्थ
नेपालमा यस्तो एउटा गिरोह छ, जसले आफूलाई फाइदा नहुने भयो भने कुनै पनि काम हुनै दिँदैन । भ्रष्टाचारको भाष्य खडा गरेर होस् वा अन्य बखेडा झिकेर, सत्यतथ्यलाई समेत यसरी गिजोल्छ कि जसको शब्दमा गर्ने बयान नै छैन । खासमभा टेरामक्स पनि यही घानमा पारिएको दूरसञ्चार प्राधिकरणका ती इन्जिनियर सुनाउँछन् ।
“टेरामक्स बिचौलियाहरुको स्वार्थ अनुकूल नभएकाले यसमा गञ्जागोल खडा गरिएको छ । टेरामक्स जडान हुन नदिन बिचौलिया र हुवावेको स्वार्थ फरक–फरक छ,” उनी भन्छन्, “बिचौलियाहरुले आफ्नो आम्दानी छल्न, राजश्व लुकाउन टेरामक्स जडान हुन दिइरहेका छैनन् । हुवावेले भने नेपालको सेक्युरिटी इन्फरमेसनमा आफू बाहेक अरु नछिरुन भनेर अवरुद्ध गरेको पाइएको छ ।”
बिचौलिया र हुवावेले टेरामक्स विरुद्ध यस्तो भाष्य निर्माण गरिरहेका छन्, उक्त प्रविधि उनीहरुको स्वार्थ अनुकूल नभएकाले व्यक्तिगत गोपनीयता, सूचना चुहावट गर्छ भनेर झुट प्रचार गरिरहेका छन् । तर, बिचौलियाहरुले आम्दानी कति लुकाइरहेका छन् ? राजश्व कति छलिरहेका छन् ? कसैलाई जानकारी छैन । टेरामक्सले आम्दानी छलेको, राजश्व लुकाएको पोल खोल्नेछ ।
यता हुवावेले नेपाल र नेपालीको व्यक्तिगत गोपनीयता, सुरक्षा सूचना (सेक्युरिटी इन्फरमेसन) लगिरहेको बारे राज्य सञ्चालकहरु सबै तै चुप मै चुप छन् । नेपाल दूरसञ्चार प्राधिकरणका एक जना निर्देशक भन्छन्, “आफूले लगिरहेको नेपालको सेक्युटिरी इन्फरमेसनमा टेरामक्सले निगरानी गर्ने भएकाले हुवावेले त्यो उपकरणको जडान अवरुद्ध गरिरहेको छ । तर, नेता, सरकार, अख्तियारलगायत केही पत्रकार, सञ्चार माध्यम भ्रमकै पछि दगुरिरहेका छन् ।”