तथ्य खोज
माओवादी अध्यक्ष प्रचण्डज्यू, तपाईँलाई आफैँप्रति ग्लानि हुँदैन ?
Published
2 years agoon
By
माधव बस्नेत
शान्ति प्रक्रियामा आएपछि मात्र पनि प्रचण्डले सादगीपूर्ण जीवन बिताइदिएका हुन्थे भने मुलुक आज यतिको तडकभडकपूर्ण अवस्थामा हुने थिएन ।
दृष्टान्त एक
‘माओवादी जनमुक्ति सेना र हतियार जम्मा गर्ने क्रममा चार सय थान आधुनिक र राम्रा राम्रा हतियार लुकायो । यो कुरा माओवादीमा प्रचण्ड, बाबुराम र केही कमाण्डरलाई मात्र थाहा थियो भने अन्य दलका कोइराला (गिरिजाप्रसाद कोइराला) लाई मात्र थाहा थियो ।
सेना समायोजन प्रक्रिया टुङ्गिने–टुङ्गिने बेलामा प्रचण्डले ती हतियार एउटा विदेशी खुफिया एजेन्सीलाई बेच्ने तयारी गरे । तर, हतियार सीमा कटाएर लैजान प्रचण्डलाई ग्राहो पर्यो । त्यसपछि प्रचण्डले तत्कालीन प्रधानमन्त्री बाबुरामलाई उक्त ‘डिल’ बताए ।
प्रधानमन्त्रीले चाहेमा हतियार सुरक्षित तरिकाले सीमा कटाउन सकिने भएकाले प्रचण्डले बाबुरामलाई ‘तपाईँले मिलाउनूस्’ भने । बाबुरामले ‘रगतसँग साटेका हतियार बेच्नु ठूलो गल्ती र अपराध हुने’ भन्दै प्रचण्डलाई त्यसो नगर्न आग्रह गरे । साथै, उनले हतियार बेचिए कुनै न कुनै बेला उक्त कुरा सार्वजनिक हुनेतर्फ पनि सचेत गराए । त्यसपछि प्रचण्डले हतियार बेच्ने योजना खारेज गरे ।
त्यसको केही समयपछि प्रधानमन्त्री बाबुरामले तत्कालीन प्रधान सेनापति छत्रमान सिंह गुरुङलाई बालुवाटारमा बोलाएर लुकाइएका हतियारबारे जानकारी दिँदै ती हतियार सुरक्षित रुपमा सम्बन्धित ठाउँमा ल्याएर राख्न निर्देशन दिए । सेनापति गुरुङलाई प्रधानमन्त्री बाबुरामले ती हतियार सेनाको छाउनीस्थित भण्डारमा राख्न निर्देशन दिए र त्यसै गरियो ।’
थापा अनिल, अविराम बाबुराम, प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि. बागबजार काठमाडौं, संस्करणः पहिलो २०७३ भदौ, पृष्ठ २३८–२३९

दृष्टान्त दुई
‘चुनवाङ बैठकभन्दा अघिसम्म बाबुरामजीको पक्षका टोपबहादुर रायमाझी लगायतका नेताहरुलाई जनमुक्ति सेनाले आफ्नो सुरक्षा घेरामा राखेको थियो । उहाँहरुलाई धम्क्याइएको थियो, अपमान गरिएको थियो । कुटपिटसम्मका घटना पनि भएका थिए ।
विचारमा मतैक्य भएन भन्दैमा पार्टीका नेता–कार्यकर्ताहरुमाथि गरिएको यस्तो अपमान सहन सकिने कुरा थिएन । सप्लाई विभागको बाहिरको कामबाट उम्केर नेपालभित्र आइसकेपछि मैंले उहाँहरुमाथि भएको अपमान, दिइएको धम्कीबारे अध्यक्ष प्रचण्डसँग कुरा गरेँ । त्यसपछि बाबुराम पक्षधर नेताहरुमाथि दुर्व्यवहार कम हुन थाल्यो ।
अन्तरसङ्घर्षका ती दिनहरुमा बाबुराम पक्षधर भनेर चिनिनेहरुमाथि कस्तोसम्म धम्की दिइन्थ्यो भन्ने मैंले आफैँ पनि भोगेँ ।’
चाचा भक्तिप्रसाद पाण्डेको सङ्घर्षयात्रा, प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि. बागबजार काठमाडौं, संस्करणः पहिलो, २०७३ पुस ११, पृष्ठ १५६
दृष्टान्त तीन
‘क. प्रचण्डका मूलभूत सबल र सकारात्मक पक्षको साथमा केही दुर्बल र नकारात्मक पक्षलाई समेत ध्यान दिन र सच्चाउन अनुरोध, जसमध्ये (!) उहाँ आफैँले स्वीकार गर्दै आइरहेको अस्थिर र सानो कुरामा पनि तुरुन्तै तरङ्गित र सशंकित बन्ने प्रवृति, () मदिरा सेवन गर्ने र लुजटक गर्ने बानी, र () उहाँकी श्रीमती क. सीताले बेलाबखत जिम्मेवार कमरेडहरुसमेतको मानमर्दन गर्ने गरी बोल्दा र हैसियतभन्दा बढी ढंङ्गले प्रस्तुत हुन खोज्दा नियन्त्रण गर्न नसक्नु, आदि । परन्तु विगतमा यीबारे पटक–पटक संकेत र आग्रह गर्दा पनि क. प्रचण्डबाट प्रभावकारी ढंङ्गले सुधारात्मक कदम नचालिएकोले क. लालध्वज वाक्कदिक्क भएर दिल्लीमा कतिपय कमरेडहरुबाट क. प्रचण्डको विरोधमा टिकाटिप्पणी भैरहँदा त्यसको प्रतिरोध नगरेको र उदासीन बनेर बसेको क. लालध्वज (बाबुराम भट्टराई) द्धारा स्वीकारोक्ति ।’
माओवादीभित्र वैचारिक–राजनीतिक सङ्घर्ष (क. डा. बाबुराम भट्टराईलगायत कमरेडहरुद्धारा प्रस्तुत फरक मत र दस्तावेजहरु), भिल्को प्रकाशन, संस्करणः पहिलो २०६८ साउन, पृष्ठ २७

३५ वर्ष (२०४६ कातिक–हालसम्म) देखि पार्टीमा निरन्तर महामन्त्री, अध्यक्ष रहेका नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुन हदसम्म निर्दयी, निरंकुश, अस्थिर र परिवारवाद हावी भएका पात्र हुन् भन्ने उल्लेखित पुस्तक अशंहरुबाटै खुल्छन् ।
लडाईँका मोर्चामा साधारणजनका छोराछोरी हाडीमा मकै भुटिएझैं भुटिएर रगतसँग साटेर खोसेका हतियार शान्ति प्रक्रियामा आएपछि ‘खुफिया एजेन्सी’ लाई बेच्न तयार हुने प्रचण्ड मनोविज्ञान कति छुद्र स्वार्थी, लोभी होला ? आफूलाई मात्र केन्द्रमा राख्ने कति मपाइँत्ववादी, अवसरवादी होला ? अनुमान नै काफी हुन्छ । दूरदृष्टिका नेताले यस्ता हतियार, चिनो सङ्ग्रालय (म्युजियम) मा राखेर इतिहास, सन्तान, दरसन्तानलाई देखाउन, सिकाउन उद्यत हुनु पर्ने हो । तर, प्रचण्ड ती हतियार बेच्न तम्सिए । यो भन्दा लज्जाजनक परिघटना के हुन सक्छ ?
पाठक, शुभेच्छुक, शुभचिन्तक पक्कै जानकार हुनुहुन्छ नै, मैले १८ वर्षभन्दा लामो समय नेकपा (माओवादी) को ‘बिट’ मा ‘रिपोर्टिङ’ गरे । तर, दुई, अढाई वर्षदेखि माओवादीमाथि रिपोर्टिङ गर्न लगभग छाडेको छु । छाड्नुको कारण– जसको विषयमा रिपोर्टिङ गर्नुको कुनै उपादेयता छैन, किन गर्नु ? जति रिपोर्टिङ गरे पनि जसको संवेदना गैंडाको छालाभन्दा बाक्लो छ, छुँदै छुँदैन, किन गर्नु ? जसले आलोचनात्मक चेत, धरातलीय यथार्थ र सुझावलाई सत्तोसराप ठान्छ, किन, के लेख्नु ? त्यसैले मैले माओवादी बिटमा रिपोर्टिङ गर्न छाडेको हुँ ।
तथापि २५ वर्षभन्दा लामो समयदेखि माओवादी आन्दोलन, पात्र, प्रवृतिलाई नजिकबाट नियालिरहेको, ‘युद्ध’ को उत्कर्ष अवधिमा झण्डै चार वर्ष त्यस आन्दोलनमा प्रत्यक्ष सहभागी भएर थिति/वेथिति, जीवन/मृत्यु प्रत्यक्ष देखे/भोगेको हुनाले प्रचण्डको आत्ममुग्धतामाथि केही सय शब्द नै सही, लेख्न खसखस लाग्यो । यसको मूल्य कति र कसरी चुकाउनु पर्ने हो ? सहुँला-बुझाउँला ।
अस्ति २८ असारमा प्रतिनिधि सभाबाट विस्वासको मत माग्दै सार्वभौम संसदको ‘पोडियम’ मा उभिएर प्रचण्डले खासगरी एमाले अनि कांग्रेसलाई जे जसरी, जे जस्ता आक्षेप लगाए, गाली गलौज, रुवावासी गरे– त्यो सुन्दा, पढ्दा लाग्छ, नेपालमा प्रचण्ड छन् र पो देशको अस्तित्व छ, प्रचण्ड छन् र पो समृद्धि, सुशासन छ । प्रचण्ड छन् र पो नैतिकता, इमान्दारिता, सदाचार छ । प्रचण्ड छन् र पो अस्थिर र अवसरवादीहरु हाबी हुन पाएका छैनन् । प्रचण्ड छन् र पो उत्पीडित जाति, क्षेत्र, लिंग, समुदाय…ले अधिकार पाएका छन् । प्रचण्ड बाहेक अरु नेता के नेता ? अरु मान्छे के मान्छे ?
आधा आकाश ढाकेका महिलालाई नेतृत्वमा पुर्याउनु पर्छ, अधिकार दिलाउनु पर्छ भनेर २०१५ सालको आम निर्वाचनमै डडेल्धुराबाट द्धारिकादेवी ठकुरानीलाई उम्मेदवार, मन्त्री बनाउने, दलितलाई अधिकार दिलाउनु पर्छ भनेरै राष्ट्रिय दलित आयोग गठन गर्ने (२०५८) नेपाली कांग्रेस, २०५१ सालमै प्रतिनिधि सभामा लीला श्रेष्ठ सुब्बालाई उपसभामुख चुन्ने (२०५१–२०५६), विद्यादेवी भण्डारीलाई राष्ट्रपतिको जिम्मेवारीमा पुर्याउने (२०७२–२०७९), दलित समुदायका रामप्रित पासवानलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने (२०५८–२०६३) नेकपा (एमाले) का नेताहरुकै सामुन्ने उभिएर प्रचण्डले उनीहरुलाई जे जसरी उल्लीबिल्ली बनाए । मानौं, उत्पीडित जाति, क्षेत्र, लिङ्ग, समुदायको मुक्तिदाता केवल प्रचण्ड मात्र हुन् । अरु सब गवार स्वाँठ हुन् ।
हिंसाको विराट दुष्चक्र
प्रचण्डको कुरा सुन्दा लाग्छ, उनी जतिको बेदाग र सुयोग्य नेता कोही पनि छैनन् । तर, सिक्काको विपरीत पाटो– प्रचण्ड जतिको हिंसाको दुष्चक्र चलाउने (मानवीय क्षतिको कुरै छाडौं, असाधारण क्षमताका वैज्ञानिक, डाक्टर, इन्जिनियर, शासक, प्रशासक, सुशासनका पैरवीकर्ता, कर्म योगी बन्ने मान्छेहरु कति मरे, मारिए होलान् ?), आर्थिक, भौतिक रुपान्तरणमा मुलुकलाई दशकौ पछि धकेल्ने (आर्थिक विनास, भौतिक समृद्धिको रोकावट), निर्दोष सर्वसाधारणका छोराछोरीलाई युद्धमा होमेर, भावानात्मक रुपमा होमिन उकासेर ‘हत्यारा, अपराधी’ को उपमा झुन्ड्याईदिने अर्को पात्र नेपालमा छैनन् । मान्छे मार्नु, अङ्गभङ्ग बनाउनु, धोका दिनु सामान्य कुरा हो भनेर नेपालीहरुको मन–मस्तिष्कमा क्रुरता र निर्दयता जगाउने अगुवा कमाण्डर हुन्, प्रचण्ड ।

हिंसाको यतिको दुष्चक्र चलाएको उपलब्धि सामन्ती राजतन्त्र ढालियो भन्ने कुरालाई प्रचण्ड र उनी निकटस्थहरुले सर्वाधिक महत्वपूर्ण तथ्यका रुपमा प्रचार गरिरहेका छन् । तर, एउटा सामन्ती राजतन्त्र ढालेर थुप्रै भुरेटाकुरे सामन्ती राजाहरु जन्माइएको नाङ्गो यथार्थलाई बुझ पचाइरहेका छन् । त्यहीमध्ये प्रचण्ड पनि एक भुरेटाकुरे राजा, महाराजा बनेका छन् । एक नयाँ सामन्त मात्र होइन, त्यो भन्दा अझ् धेरै युग अघि फर्किएर बादशाहको अवतारमा रुपान्तरण हुने प्रयत्न गरेका छन् । भलै, यस तथ्यलाई उनी पक्कै नै स्वीकार गर्दैनन् । जो प्रचण्डको स्वभाव नै हो ।
जसरी राजाहरुले आफ्नै श्रीमतीलाई उच्च स्तरका तक्मा, विभूषण दिन्थे । उनीहरु ज्यूँदै हुँदा खुशी पार्न होस् वा मरेपछि कृति राख्न– उनीहरुका नाममा कलेज, विद्यालय, पाटीपौवा, मठमन्दिर बनाउँथे, प्रचण्डले पनि ठिक त्यही शैलीमा ०७८ सालको संविधान दिवसको अवसरमा पत्नी सीता दाहाललाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री विभूषण’ उपलब्ध गराए । जुन राज्यलाई धेरै ठूलो योगदान गरेका विशिष्ट व्यक्तिलाई प्रदान गरिने विभूषण थियो ।
यतिले मात्र नपुगेर १५ जेठ ०८१ मा सरकारले प्रचण्डकी स्वर्गीय पत्नी सीता दाहालको नाममा कलेज स्थापनाको घोषणा गर्यो । अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गीय पत्नी सीताको नाममा कलेज स्थापनाको घोषणा गरेका थिए । काठमाडौं विश्वविद्यालयमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज’ स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु’ बजेट भाषण गर्दै पुनले भनेका थिए ।
लेख्दा, भन्दा नमिठो लागे पनि तितो यथार्थ यही हो कि, प्रचण्डज्यू, युद्धकालमा तपाईँकी श्रीमती सीता दाहालले तपाईँको भान्से, सहयोगी, तपाईँलाई मिठो, मसिनो पकवान बनाएर ख्वाउने बाहेक थप के महत्वपूर्ण योगदान गरेकी थिइन ? उनले कुन–कुन गाउँ, जिल्लामा पुगेर संगठन विस्तार गरिन ? कहाँ, कुन–कुन मोर्चाको नेतृत्व गरेर ‘ब्याटल’ लडिन ? कुन ‘एरिया’, जिल्ला, उपव्युरो, व्युरो, कमाण्डको नेतृत्व सम्हालेकी थिइन ? प्रसिद्ध प्रबल जनसेवाश्री विभूषण पाउन सीताले राज्यलाई विशिष्ट योगदान के गरेकी थिइन ? उनका नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज’ स्थापना गर्नै पर्ने बाध्यता के थियो ? के यो पक्तिकारले तपाईँप्रति रिसराग साँधेर फत्तुर लगाएको हो ? यो राजा, महाराजाहरुकै भद्दा नक्कल होइन ? ‘सामन्तवाद’ को यस्तो भद्दा नक्कल गर्दा तपाईँलाई आफैंप्रति ग्लानि हुँदैन ?

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा माओवादीले २९.३८ प्रतिशत मत पाएको थियो । प्रचण्डले अस्ति २८ असारमा संसदमा गरेको भाषण अनुसार त्यस यता पनि उनले मुलुकलाई असाधारण योगदान पुर्याएका छन् । तर, पनि नेकपा (माओवादी–केन्द्र) को मत प्रतिशत २०७० को दोस्रो संविधान सभामा बल्ड्याङ खाएर १५.२१, २०७४ को प्रतिनिधि सभामा १३.६६ र २०७९ मा मा ११.६३ प्रतिशतमा झरेको छ । यो शीघ्र स्खलनमा प्रचण्डको उथलपुथलकारी भूमिका कति जिम्मेवार छ ? साथै, २६ पुस ०७९ मा संसदमा विस्वासको मत लिँदा झण्डै शतप्रतिशत २ सय ६८ सांसदको समर्थन पाएकोमा अस्ति २८ असारमा जम्मा ६३ मत लिएर पद मुक्त हुनु प्रचण्डज्यू, तपाईँको सबैभन्दा ठूलो अयोग्यता हो कि होइन ?
हिंसाको विराट दुष्चक्र चलाएका भए पनि शान्ति प्रक्रियामा आइसकेपछि विधि र स्थायित्वको शासन स्थापित गर्न प्रचण्डले अहम् भूमिका खेलेका हुन्थे भने, मूल्याङ्कनको निष्पक्षता कायम राखेका हुन्थे भने सय खत माफ हुन्थ्यो ? प्रचण्डकै आत्मालाई पनि शान्ति मिल्थ्यो होला । तर, प्रचण्डले त्यसो गरे ? अहँ– पटक्कै गरेनन् । बरु अस्थिरता र आश्वासनका नायक भए । माओवादी (प्रचण्ड स्वयं) लाई शान्ति प्रक्रियामा ल्याउन सबैभन्दा ठूलो अगुवाई गरेका वयोवृद्ध गिरिजाप्रसाद कोइरालालाई समेत राष्ट्रपति बनाउँछु भनेर गम्भीर धोका दिए । प्रचण्डले धोका दिएका, खेलाएका, नचाएका अरु पात्रहरु उल्लेख नगरुँ ।
यति मात्र होइन, शान्ति प्रक्रियामा आएपछि मात्र पनि प्रचण्डले सादगीपूर्ण जीवन बिताइदिएका हुन्थे भने मुलुक आज यतिको तडकभडकपूर्ण अवस्थामा हुने थिएन । प्रचण्डले खर्चिलो, महंगो, भड्किलो दैनिकी बिताई दिएकाले, बिचौलिया र विवादास्पद व्यक्तिहरुसँग सघन उठबस् गरेकाले सारा नेपालीले उनकै अनुसरण गरे । फलतः बिचौलिया, माफिया, दलाल भएर होस् वा ढाँटछल, चोरीचकारी, लुटपाट गरेर नै, श्रम नगरी पैसा आर्जन गरी तडकभडकको जीवन बिताउनेको संख्या दिन दुई गुणा, रात चौगुना बढ्यो । पछिल्लो दशकमा त मुलुकमा बिचौलिया, दलालहरुकै वर्चश्व छ । इमान जमानमा बाँच्छु भन्ने अठोट लिएकाहरु घोसे मुन्टो लगाएर हिड्नु पर्ने, चोर, चण्डालहरु छाती पिट्दै नाच्ने संस्कृति स्थापित भइसकेको छ । प्रचण्डज्यू, यस्तो अवस्था सिर्जना हुनुमा तपाईँलाई ग्लानि लाग्दैन ?
अब्बल नाटककार
प्रचण्डको नाटक कला सुनिल पोखरेल र अनुप बराललाई पनि उछिन्ने छ । तर्क वुद्धिवाद प्रचण्डको सबैभन्दा ठूलो सामर्थ्य कला हो । त्यही तर्क वुद्धिवादको सहारामा उनले सबै नेताहरुलाई टुप्पीमा समाएर फनफनी घुमाएका हुन् । २८ असारमा संसदमा बोल्दै प्रचण्ड गर्जिएका थिए, ‘०४७ सालदेखि ०६३ सम्म १६ वर्षमा १५ वटा सरकार बनाउने तपाईँहरु नै होइन ?’ यो प्रश्न प्रचण्ड स्वयंतिर फर्काउँदा तस्विर यस्तो देखिँदो रहेछ । ०६३ देखि ०८१ असारसम्म १८ वर्षमा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, शुशील कोइराला, केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओली, केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी शर्मा ओली गरी १५ वटा सरकार बनेछन् । जसमध्ये गिरिजाप्रसाद कोइराला बाहेक अरु सबै सरकार प्रचण्डकै बेढङ्ग र अस्थिरताका उपज बने/ढलेका हुन् । जब कि यस अवधिमा छिमेकी दुई देश भारत र चीनमा दुई जना मात्र प्रधानमन्त्री, राष्ट्रपति बनेका छन् । प्रचण्डज्यू, मुलुकको १८ वर्षको यो अस्थिरताको एक्लो नायक तपाईँ होइन ? तपाईँलाई आत्मग्लानि हुँदैन ?
‘तपाईहरु नाङ्गै हुँदा हुन्छ भने म नाङ्गो हुन किन नहुने ?’ एक्लै नै सही, विधिको शासन स्थापित गर्न जोड दिनु भन्दा प्रचण्डमा आफूले गरेको जति सबै सही भन्ने उल्लिखित जिद्दीपन हाबी भएको देखिन्छ । अर्थात ‘तिमीहरु नाङ्गो भयौं । त्यसैले म पनि नाङ्गो भएँ’ भन्ने तर्कलाई प्रचण्डले आफ्नो अमूल्य कला मानेका छन् । संसदको दुई सय ७५ सिट मध्ये ३२ सिटको तेस्रो दलका नेता प्रचण्डलाई पाँच वर्ष नै प्रधानमन्त्रीको कुर्सी सुम्पिएको भए न्याय हुने, उनले कुर्सी गुमाउँदा अन्याय हुने ? प्रचण्डज्यू, यो कस्तो भाष्य हो ? यस्तो भाष्यमा तपाईँलाई ग्लानि हुँदैन ?
स्वर्ण अक्षरमा मवाद, नातावाद र तिकडमको रेकर्ड
प्रचण्ड ३५ वर्षदेखि निरन्तर पार्टी नेतृत्वमा छन् । ‘म बिना पृथ्वी घुम्नै सक्तैन’ भन्ने मवादको यो भन्दा अब्बल नमूना केही हुनै सक्तैन । ०७० को दोस्रो संविधान सभा निर्वाचनमा आफू सिराहाबाट विजयी भएको घोषणा गर्न प्रचण्डले मत गणना नै स्थगित गरेर, नेताहरुसँग ‘सेटिङ’ मिलाएर जे जस्ता तिकडम गरे, त्यो इतिहासका पानामा सुरक्षित छ । ०७४ को स्थानीय तह निर्वाचनमा माइली छोरी रेणुलाई भरतपुर महानगरपालिकाको मेयर बनाउन प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले जे जस्ता लज्जास्पद गोटी चाले, त्यो व्यक्तिले भुल्न सक्छ । तर, इतिहासले कहिल्यै भुल्ने छैन ।
परिवारवादमा चुर्लम्म डुबेकैले धेरै वरिष्ठहरुलाई पाखा लगाएर ०७४ मा कान्छी बुहारी विना मगरलाई प्रचण्डले खानेपानी मन्त्री बनाए । ०७९ मा कान्छा ज्वाईँ जीवन आचार्यलाई कोसी प्रदेशमा दोहोर्याई, दोहोर्याई मन्त्री नियुक्त गराए । जेठा ज्वाईँ सागर केसीलाई पूर्वसभामुखद्धय कृष्णबहादुर महरा र अग्नी सापकोटाको प्रमुख स्वकीय सचिव त बनाए नै, सांसद बनाउन समानुपातिक सूचीमा नाम राखेका थिए । तर केही नेताहरुले असन्तुष्टी जनाएपछि हटाउन बाध्य भए । पन्जावबाट सँगै ल्याएका माइलो ज्वाईँ अर्जुन पाठक संसद सचिवालयको खजान्सी, मन्त्री गणेशमान पुनको स्वकीय सचिव हुँदै पछिल्ला वर्षमा सरकारी कोषबाट तलब भत्ता बुझ्ने गरी मेयर रेणुको स्वकीय सचिव छन् । प्रचण्डको स्वकीय सचिव कान्छी छोरी गंगाको व्यवहार कुनै महारानीको भन्दा कम छैन भन्छन् जानकारहरु । गंगाको निर्देशन र अपमान सहन नसकेरै प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार हरिबोल गजुरेल राजीनामा दिएर हिड्न बाध्य भएका थिए । परिवारवादमा लिप्त भएका अरु उदारहण पनि थुप्रै छन् । तर, त्यो फेहरिस्ततिर नलागौ ।

कांग्रेस–एमालेमाथि पनि प्रचण्डले सामान्य मात्र गद्दारी गरेका छैनन् । ०७९ को निर्वाचनलाई मात्र मानक बनाउने हो भने पनि कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लड्ने अनि एमालेको बुई चढेर प्रधानमन्त्रीको कुर्सीमा पुग्ने शैली गद्दारीको भद्दा ‘केस स्टडी’ हो । कुनै लामो अनुसन्धान, छानबिन नगरीकनै नाङ्गो आँँखाले देखिने लडाकू शिविरको करिब ४ अर्ब हिनामिना प्रचण्डको जानकारी, मिलेमतो बिनै भयो होला भनेर कसैले सोच्छ भने त्यो दिबालिया हो । हाल राष्ट्रपति रहेका रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गरिरहँदा नेपालका सांसद खरिद बिक्री गर्न विदेशी (चिनियाँ) सँग ५० लाख पैसा माग्नु स्वाभिमानमाथि प्रहार हो कि सम्मान ? सार्वजनिक बौद्धिकहरुले हेक्का राखेकै होलान् !
खासमा प्रचण्डले कानूनको शासन होइन कि कानूनमाथि नै शासन गरेका छन्, त्यो पनि एक पटक होइन–पटक–पटक । सहमतिमा होइन, बलात्कार शैलीमा । तर, पनि उनलाई कहिल्यै लज्जाबोध भएन । पार्टी नेता–कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तक र साधारणजनले प्रचण्डलाई गाँजर देख्न चाहेका थिए । तर, उनी जहिल्यै रातो मुला भए । रातो मुला, बाहिर रातो देखिए पनि नङले मात्र छुस्स कोर्दा समेत सेतो उक्किने ।
प्रचण्डको वर्ग उथ्थानीकरण बेजोडले नै भयो । उनी अभिजात्य वर्गमा रुपान्तरित भए । त्यसैको परिणाम प्रचण्डको मन्तव्य र गन्तव्यबीच कहिल्यै एकरुपता भएन । घ्यु चोर र तरबार चोरको लोक कथा प्रचण्डले आफ्नो जीवन, व्यवहारमा लागू गराईरहे । प्रचण्डले जसरी दुनियाँलाई निगरानी गरिरहेका छन्, उनलाई पनि उसैगरी दुनियाँले नियालीरहेको छ भन्ने हेक्का राख्नै सकेनन् । लोकतन्त्रमा सबैले सबैलाई नियाल्न, बुझ्न पाउँछन् । निरंकुशतामा मात्र त्यो बन्देज हुन्छ ।
प्रचण्डले युद्धकालमा ‘जनयुद्ध’ का अर्का ‘आर्किटेक्ट’ बाबुराम भट्टराई, उनकी श्रीमती हिसिलालगायतलाई सैन्य हिरासतमा राखेर झण्डै–झण्डै खाल्डोमा पुरेका थिए । प्रचण्डकै इसारामा नेत्रविक्रम चन्द ‘विप्लव’, कालीबहादुर खाम ‘विविध’ हरुले बाबुरामलगायतलाई ‘तिमीहरुलाई एक सय २० रुपैयाँ पर्ने गोलीले उपचार गरिन्छ’ भनेर धम्क्याएका थिए । उनै चन्दले कालान्तरमा प्रचण्डमाथि ‘महापतन’ पुस्तक लेखे ।
बाबुरामलगायतलाई सैन्य हिरासतमा राखिरहेकै बेला प्रचण्डले २५ चैत्र ०६१ मा रुकुमको खारास्थित ‘सैनिक वेसक्याम्प’मा दोस्रो पटक आक्रमण गराएका थिए । त्यो आक्रमणमा माओवादीले नमिठो पराजय भोग्यो । माओवादीका एक जना शीर्ष नेताका भनाइमा माओवादी लडाकूहरुले खाराको त्यो लडाईँ जितेको हुन्थ्यो भने प्रचण्डले भट्टराईलाई माटोमा मिलाउने थिए । खारा लडाईमा लडाकूहरु पराजय हुनाले मात्र बाबुरामहरु बाँच्न पाए ।
यसबेला लोकतन्त्र, लोकतन्त्र भनेर सर्वाधिक भट्याउने गरे पनि प्रचण्डले त्यसलाई ह्दयदेखि आत्मसात गरेका छैनन् भन्ने तरोताज काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई थुन्ने योजना हो । बालेन शाहलाई थुन्ने प्रचण्ड–नारायणकाजीको प्रस्तावलाई कांग्रेस सभापति शेरबहादुर देउवाले असहमति जनाएपछि मात्र प्रचण्ड पछि हटेका सिके राउतले खुलासा गरिसकेका छन् । लोकतन्त्रमा निर्वाचित मेयरले एउटा उत्तेजक अभिव्यक्ति दिए भन्दैमा उनलाई थुन्न तम्सिनु निरंकुशताकै पदचाप हो ।
उपसंहार
‘के सोचेँ मैले, के भयो अहिले’ गायक किरण प्रधानले ३० कै दशकमा यो सुमधुर गीत गाएका थिए । यसबेला प्रचण्ड यही कालजयी गीतको बोल जस्तै भएका छन् । प्रचण्डले आफ्नै आँखा सामुन्ने दुई सन्तान र श्रीमतीको मृत्यु भोगे । एउटा पिता तथा पतिका लागि यो भन्दा कष्टकर पीडा केही हुनै सक्तैन । तर पनि प्रचण्डमा ‘मरेरै जाने जीवन रहेछ । तसर्थ सत्ता, शक्तिको यति धेरै लोभ गर्नुहुन्न । आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र जो कोहीलाई, जसरी पनि उपयोग गर्नुहुन्न । सादगी र भलादमी जीवन जिउनु पर्छ’ भन्ने उनको दिल दिमागमा घुसेको कहिल्यै देखिएन । प्रचण्डले अवसरवाद, उपयोगवादलाई सधैँ टुप्पीभन्दा माथि राखिरहे । चरम सत्ता आकांक्षाले नै प्रचण्ड सधैँ बिचौलिया, माफिया, दलालहरुको ‘मेसिनरी’ बन्न पुगे ।
प्रचण्डका पिढी, दरपिढी कोही सार्वजनिक बौद्धिक भए भने उनको अवसरवादी, उपयोगतावादी इतिहास पढेर अवश्य सोच्नेछन्, त्यतिको अवसर पाएर पनि मेरा पुर्खा प्रचण्डले गद्दारी गरेकै हुन् । प्रचण्डज्यू, तपाईँले आफूमाथि निर्मम समीक्षा गर्ने फुर्सद कहिल्यै निकाल्नु भएको छ ? छ भने त ठिकै छ । छैन भने अब निकाल्नुस् । रिसाएको बिरालोले खाँबो चिथोरे झैं अरुलाई मात्र बैगुनी नदेख्नुस् । अझै पनि तपाईँलाई मौका आउन सक्छ ।
उनकै भनाइमा प्रचण्ड सिंह हुन् । केही कमजोरीका बाबजुद एक समय उनले सिंहको जस्तो व्यवहार पनि देखाएका हुन् । तर, आफ्नै अस्थिर र उपयोगवादी चरित्रले उनी फट्याङ्ग्रे सिंहमा रुपान्तरण भएका छन् । प्रचण्डज्यू, फट्याङ्ग्रे सिंह बनेकोमा तपाईँलाई आफैँप्रति ग्लानि छ कि छैन ?
माधव बस्नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।