Connect with us

अर्थ

एउटै बोटमा दाँते ओखरका ४ हजार दाना, मनग्य आम्दानी

Published

on

शारदा नगरपालिका वडा नम्बर ९ नयाँ बस्तीका कृषक जीवराज बोहराले लामो समयदेखि व्यावसायिक टिमुर खेती गर्दै आएका छन् ।

उच्च मूल्यका कृषिजन्य बालीहरुको खेतिप्रति आकर्षित हुनुभएका उहाँले बाँझो जमिनमा करिब १०–१५ वर्षअघि दाँते ओखरका बिरुवा रोपेका थिए । अहिले तिनै ओखरका बोटले जीवराजको घरपरिवारलाई आम्दानी दिन थालेका छन् । उनको पहलले शारदा नगरपालिकाका विभिन्न क्षेत्रलाई ओखर खेतीको नयाँ ठाउँको रूपमा परिचित गराउँदैछ ।

कृषक जीवराजले करिब १५० बिरुवा रोपेकोमा अहिले १५ वटा बोटले फल दिन थालेका छन् । एउटा ठूलो बोटबाट मात्र वार्षिक चार हजार दाना ओखर उत्पादन हुनेगरेको उनको भनाइ छ । “उत्पादन भएको दाँते जातको ओखरप्रति दाना १० रुपियाँको दरमा बिक्री भइरहेको छ, एउटा ठूलो बोटबाट चार हजारसम्म दाना फल्ने गर्दछन्” उनले भने ।

हाल केही बोटबाट मात्र उत्पादन भएको र करिब १ लाख रुपियाँसम्म आम्दानी हुने अनुमान उनको छ । “बाँकी बोटहरूले पनि उत्पादन दिन थालेपछि आगामी वर्षमा आम्दानी झनै बढ्दै जानेछ” उनले भने।

ओखर र टिमुर विक्रीबाट मात्र उहाँले वार्षिक पाँचलाख रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । नयाँ गाउँक्षेत्र विगत लामो समयदेखि टिमुर उत्पादनका लागि चिनिँदैआएको छ । जीवराजको पनि करिब तीनसय टिमुरका बोटले उत्पादन दिइरहेका छन् ।

उनले भने, “मैले हरेक वर्ष करिब ६ क्विन्टलसम्म टिमुर विक्री गर्ने गरेको छु । टिमुरसँगै ओखर खेतीलाई पनि विस्तार गर्दै लैजाने सोँच बनाएको छु ।” शारदा नगरपालिकाले पनि यस क्षेत्रमा पहाडी काष्ठफल खेतीलाई प्राथमिकता दिँदै नाफा कार्यक्रम सुरु गरेको जनाएको छ ।

नगरप्रमुख प्रकाश भण्डारीका अनुसार वडा नम्बर ९ मा केही समयपछि हजारौंको सङ्ख्यामा ओखरका बिरुवा वितरण गर्ने योजना छ । यससँगै अन्य वडामा पनि फलफूलका बिरुवा वितरण गरेर कृषिलाई आधुनिक र व्यावसायिक रुपमा अगाडि बढाउने नगरपालिकाको लक्ष्य रहेको उनले बताए ।

जिल्लाका अन्य भागहरूमा पनि किसानहरुको आफ्नै पहल तथा सरकारी निकाय र अन्य कार्यक्रमहरुको माध्यमबाट ओखर खेतीलाई विस्तारको प्रयास भइरहेको छ । पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रम अन्तर्गत दुई वर्ष अघिमात्र बनगाड कुपिण्डे नगरपालिकाको वडा ६ मा ५५ घरधुरीले एक हजार १०० वटा ओखरका बिरुवा रोपेका थिए । बजारमा माग बढ्दै गएकाले किसानहरू नगदे बालीतर्फ हुँदैगएका छन् ।

डिभिजन वन कार्यालय सल्यानले किसानले ओखरका बिरुवा माग गरेमा उपलब्ध गराउने जनाएको छ । कार्यालयका सूचना अधिकारी ललितजङ्ग खड्काले भन, “ेठ्याक्कै ओखर खेतीकै लागि भनेर हाम्रोमा कार्यक्रम आएको छैन । तर जडीबुटी प्रवर्धन तथा कृषि वन प्रवर्धन कार्यक्रम छन् । आवेदन मागेको समयभित्र ओखरका बिरुवा पनि किसानबाट माग भएमा अनुदानमा उपलब्ध गराउँछौँ ।”

व्यावसायिक खेतीमा लागेका किसानहरुले युवापुस्तालाई सम्भव भएसम्म आफ्नै देशको भूमिमा पसिना बगाउन र श्रमको सम्मान गर्दै कृषिमा आत्मनिर्भर बन्नुपर्ने सुझाव दिने गरेका छन् । ओखर र टिमुर खेतीबाट सफलता पाइरहेका कृषक जीवराजले विदेश जानुको सट्टा गाउँघरमै बसेर मिहिनेत गर्दा सम्मानजनक जीवनयापन गर्न सकिने बताए ।

कृषकहरुले सही समयमा सही बाली छनोट गर्न सकेमा आम्दानीको नयाँ अवसर सिर्जना गर्न सकिन्छ । यसमा स्थानीय सरकारहरुले विशेष योजनासाथ कृषिविज्ञ तथा कृषि प्राविधिकलाई उपयोग गर्न आवश्यक छ । टिमुर र ओखरजस्ता बाली उच्च मूल्यको उत्पादन भएकाले यसले ग्रामीण क्षेत्रमा बसोबास गर्ने किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने सम्भावना बलियो छ ।
शङ्कर केसी/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.