Connect with us

राजनीति

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्छ: नेता आङ्देम्बे

Published

on

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी सशक्त रूपमा बहन गर्ने बताएका छन् ।
संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि आज दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग उनले सत्तामा रहेकालाई सही काम गर्न सशक्त भूमिका निर्वाह गरिने बताए । संसदीय दलको नेताका हैसियतमा आफूले त्यो भूमिकालाई थप प्रभावकारी बनाउन लाग्ने नेता आङ्देम्बेको भनाइ थियो ।
  “सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको सशक्त प्रतिवाद गर्छौँ । सत्तामा रहनेले लोकतान्त्रिक संस्कार र प्रणालीमा घोचपेच गरेमा सचेत गराउँछौँ”, उनले भने। संसदीय दलका नेता आङ्देम्बेले दलको प्रमुख सचेतक र सचेतकलगायत बाँकी पदाधिकारी २४ घण्टाभित्र मनोनयन गर्नेगरी छलफल भइरहेको जानकारी दिए ।
नेता आङ्देम्बेको राजनीतिक जीवनी
एकसट्ठी वर्षीय आङ्देम्बे करिब पाँच दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । उनी पञ्चायतविरोधी आन्दोलन, पहिलो र दोस्रो जनआन्दोलनका अग्रपंक्तिका नेता हुन् ।
उनी विसं २०३६ मा पाँचथरको फिदिम माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि नेपाल विद्यार्थी सङ्घका माध्यमबाट राजनीतिमा प्रवेश गरेका हुन् । पाँचथरको साविक उम्लाबुङ जन्मथाले भएका आङ्देम्बे आफ्ना बाजे पूर्वमन्त्री देउमान आङ्देम्बेको प्रेरणाले राजनीतिमा लागेका हुन् । विसं २०४२ मा कांग्रेस नेताहरू सत्याग्रहमा बसेका थिए । त्यस क्रममा आङ्देम्बे पनि पक्राउ परेर  नौ महिना जेल बसेका थिए । त्यसपछि पटकपटक गरी उनी डेढ वर्ष जेल बसे ।
आङ्देम्बे विसं २०४२ तिरै नेविसङ्घको केन्द्रीय सदस्य भएका थिए । २०४६ सालको जनआन्दोलनमा उनले नेविसङ्घको केन्द्रीय सदस्यका रूपमा पूर्वाञ्चलको कमाण्ड सम्हालेका थिए।  विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापना भएपछि २०४९ को स्थानीय निकायको निर्वाचनमा आङ्देम्बेलाई जिल्ला विकास समितिको सभापति बनाउने चर्चा भएको थियो, तर उनले भने नेता भूविक्रम नेम्बाङ वरिष्ठ नेता भएकाले उनलाई छोडेको सुनाए । त्यसबेला उनी जिल्ला विकास समितिको सदस्य भएका थिए।
आङ्देम्बे विसं २०५१ मा नेपाल तरुण दलको केन्द्रीय उपाध्यक्ष बने ।  विसं २०५६ मा उहाँ पाँचथर जिल्ला निर्वाचन क्षेत्र–२ बाट संसदीय निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए । त्यसपछिका निर्वाचनमा पनि उम्मेदवार भएका आङ्देम्बे विसं २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा जित हासिल गरेका थिए।  त्यसबेला उनी संविधानसभाको  संसदीय सुनुवाई समिति सदस्य बनेका थिए । संविधान निर्माणमा क्रममा देखिएका विवाद समाधान गर्न गठित समितिमा रहेर पनि काम गरे ।  त्यसबेला उनी नेपाली समाजको बहुजातीय र बहुधार्मिक संरचनालाई स्वीकार गर्दै बहुपहिचानकै आधारमा समाधान खोज्नुपर्ने धारणा राख्दै एकल पहिचानका विपक्षमा उभिएका थिए ।
राज्य पुनर्संरचनामा पहिचानलाई कसरी समेट्ने भन्ने विषयमा भीमबहादुर तामाङ, महेश आचार्य, डा. मीनेन्द्र रिजाल र आङ्देम्बेलगायत नेताहरू सम्मिलित एउटा समिति गठन गरिएको थियो । उक्त समितिले व्यापक बहस र छलफलपछि ‘जातीय द्वन्द्व मेटिने, पहिचान भेटिने’ भन्ने मार्गचित्र प्रस्तुत गरेको थियो ।
“यो निष्कर्ष केवल सैद्धान्तिक धारणामात्र नभई जनस्तरको वास्तविक भावना र अनुभवमा आधारित थियो”, उनी भन्छन्,“पछि देश नै त्यही बाटोमा गयो । केही असन्तुष्टि भए पनि धेरैजसो विरोधका स्वर तत्कालका लागि मत्थर हुन पुगेका थिए ।” संविधानसभा व्यवस्थापिका संसद्मा रुपान्तरित भएपछि आङ्देम्बे संसद्को उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समिति सभापति भई काम गरेका थिए ।
कांग्रेसको आदिवासी जनजाति विभागको संयोजकका रूपमा काम गर्दै उनले पार्टीभित्र समावेशी मुद्दालाई उठाएर त्यसलाई सम्बोधन गर्न दबाब सिर्जना गरेका थिए । यस्तै, कांग्रेस केन्द्रीय अनुशासन समितिको संयोजक भएर आङ्देम्बे सङ्गठनभित्र अनुशासन कायम गर्ने जिम्मेवारी पनि सम्हाले । आङ्देम्बे तीनपटक कांग्रेस केन्द्रीय सदस्य र एकपटक सहमहामन्त्री भइसेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.