Connect with us

अर्थ

चितवनको छ पालिकामा कर दाता सेवा केन्द्र

Published

on

चितवनका छ पालिकामा करदाता सेवा केन्द्र सुरु गरिएको छ । भरतपुर महानगरपालिकाबाहेक पाँचवटा नगरपालिका र एउटा गाउँपालिकामा करदाता सेवा केन्द्र सुरु गरिएको हो ।

नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार खैरहनीमा रहेको करदाता सेवा केन्द्र हटेसँगै त्यहाँबाट प्रदान गर्ने सेवा स्थानीय तहहरुमा प्रदान गर्ने निर्णय भएपछि पालिकाहरुमा सेवा सुरु गरिएको हो । आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काका अनुसार रत्ननगर, कालिका र राप्ती नगरपालिकामा गएको माघबाट सेवा सुरु गरिएको थियो । त्यसको केही समयपछि खैरहनीबाट सेवा सुरु गरिएको हो । गएको चैत १९ गते माडीबाट सेवा सुरु गरिएकोमा आज मंगरलबार (२०८३ बैशाख १५) देखि इच्छाकामनामा सेवा सुरु गरिने उनले बताए ।

यसैबीच, आन्तरिक राजस्व विभागका सूचना प्रविधि निर्देशक पदमबहादुर भण्डारीले छवटै पालिकाका अधिकृत र सहायकस्तरका दुईदुई जना कर्मचारीलाई सोमबार एक दिने प्रशिक्षण दिएका छन् । सो क्रममा प्रविधिसँग सम्बन्धित र अन्य विषयहरुका बारेमा उनीहरुलाई जानकारी गराइएको थियो । पालिकाहरुले व्यक्तिगत प्यान, व्यावसायिक प्यान दिन सक्ने छन् । करदाताको आयकरतर्फको कारोबार बन्द गर्न, करदाता विवरण संसोधन गर्न, मूल्य अभिवृद्धि कर दर्ताका लागि सिफारिस गर्न, कर चुक्ताका लागि सिफारिस गर्न र आन्तरिक राजस्व कार्यालयको समन्वयमा करदाता शिक्षा दिनसमेत सक्ने छन् । ती विषयमा पनि छलफल भएको खड्काले जानकारी दिए ।

ती पालिकाका करदाताको अनुगमन, अनुसन्धान र कर परीक्षणलगायतका काम भने आन्तरिक राजस्व कार्यालयबाटै हुने छ । कार्यालय भरतपुरमा रहेकाले भरतपुर महानगरपालिकामा भने केन्द्र सञ्चालनमा ल्याइएको छैन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा ७४ हजार करदाता रहेका छन् । यस कार्यालयले यस आर्थिक वर्षमा २९ अर्ब ८१ करोड ७७ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । हालसम्म १८ अर्ब पाँच करोड ५० लाख राजस्व सङ्कलन भएको छ ।
रासस

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.