प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी पंक्तिको रक्षामा दरिलो भएर उभिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । उनले १९ बैशाखमा संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम दृढतापूर्वक समर्थन गर्न पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा आज डाकिएको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए । उनले भनेका छन्, ‘हाम्रा नीतिहरु सही छन्, यसमा साथीहरु ढुक्कले लागे हुन्छ ।
संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध पनि गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुु पर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।’, ओलीले भनेका छन्, ‘हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारीरुपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले पछाडि परेको तप्कालाई माथि उठाउने गरी सरकारले काम गरिरहेको बताउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिकरुपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवर र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याएको बताए । समाजमा वञ्चितहरुको पहुँचवृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरिहेको सुनाए ।
एमाले संसदीय दलको बैठकमा नीति तथा कार्यक्रममाथि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले प्रशिक्षणमूलक विचार राख्नेछन् ।