Connect with us

राजनीति

विश्वको सबैभन्दा ठूलो थाङ्का ‘लुट्न’ सरकार नै सक्रिय !

Published

on

सूर्यबहादुर थकालीको संरक्षकत्वमा रहेको विश्वकै ठूलो थाङ्कालाई सरकारले जबरजस्ती आफ्नो नियन्त्रणमा लिएको बौद्धमार्गी, कानुन व्यवसायी र मानवअधिकारवादीको दाबी

सरकारले प्रहरी बल परिचालन गरी निजी संरक्षणमा रहेको विश्वकै सबैभन्दा ठूलो थाङ्का खोसेको छ । बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीको गोंगबुस्थित डेराबाट प्रहरीले उक्त थाङ्का खोसेको हो । प्रहरीले थाङ्का खोस्नेक्रममा वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारी, ९९ लाई समेत दुर्व्यहार गरेको पीडितहरुको बताएका छन् ।

जापानी नागरिक कातागिरी याचुतादाको पूर्वाग्रहपूर्ण उजुरी एवम् उक्साहटमा सरकारले आफूले बनाएको विश्वकै ठूलो थाङ्का खोसेको थकालीले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठतम् अधिवक्ता भण्डारीले सरकारले नागरिक एवम् मानवअधिकारी विरोध कार्य गरेको बताए । भण्डारीका भनाइमा सत्यतथ्यको गहिराई नै नबुझी एकपक्षिय रुपमा सरकारले मुठे बल प्रयोग गरेर थाङ्का खोसेको छ ।

सरकारले थाङ्का खोस्नेक्रममा आफूजस्तो पाको नागरिक र वरिष्ठतम् कानून व्यवसायीलाई प्रहरीले लछारपछार पारेर दुर्व्यहार गरेको भण्डारीको आक्रोश छ । “व्यक्तिको सम्पति थाङ्का खोस्नेक्रममा सरकारले ममाथि ज्यादती गरेको छ । कानुनी अधिकार र मानवअधिकारको ठाडो उल्लंघन गरेको छ”, भण्डारी भन्छन्, “सरकारको यो ज्यादती राज्य आतंक हो । सरकारले राज्य आतंक खेदजनक छ ।”

सरकारले थाङ्का खोसेको एवम् वरिष्ठतम् अधिवक्ता तथा वयोवृद्ध भण्डारीमाथि ज्यादती गरे विरुद्धको पत्रकार सम्मेलनमा नेपाल बार एसोसियशनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्तात्रय प्रेमबहादुर खड्का, शेरबहादुर केसी र चण्डेश्वर श्रेष्ठ, बारका पूर्वउपाध्यक्ष एवम् वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, पूर्वमहासचिव एवम् वरिष्ठ अघिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता प्रा. युवराज संग्रौला (विद्यावारिधि), वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल, पूर्वराजदूत तथा मानवअधिकारीवादी महेश मास्के (विद्यावारिधि), नेपाल बौद्ध महासंघका अध्यक्ष खेम्पो ङिमा सिङ्गेलगायत दर्जनौ प्रतिष्ठित अगुवा व्यक्तिहरुको उपस्थिति थियो ।

नेपाल बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले बारका संस्थापक एवम् समग्र कानुन व्यवसायीहरुका ‘गुरुदेव’ कृष्णप्रसाद भण्डारीमाथि ज्यादती हुनु निकै नै दुःखद भएको बताए । “प्रहरीले वरिष्ठतम् अधिवक्ता भण्डारीमाथि गरेको दुर्व्यहार निन्दनीय छ । हामी सबै कानुन व्यवसायीका श्रद्धेय गुरुदेव भण्डारीमाथि सरकारले गरेको ज्यादती सामान्य घटना होइन”, खड्काले भनेका थिए, “नेपाल बार र मलगायत पूर्वअध्यक्षहरु शेरबहादुर केसी, चण्डेश्वर श्रेष्ठ, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, पूर्वमहासचिव रमण श्रेष्ठलगायत हामी सबै यो घटनाको बिरोध गर्दछौ ।सरकारको ज्यादतीविरुद्ध हामी सबैको ऐक्यवद्धता छ । व्यक्तिको सम्पति सरकारले जबरजस्ती लिन पाउँदैन भन्ने हामी सबैलाई जानकारी गराउन चाहन्छौं ।”

साता अघि १५ बैशाख बिहानै थकालीको घरभित्र जोरजबरजस्ती पसेर प्रहरीले विश्वकै ठूलो थाङ्का नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । विश्वकै ठूलो थाङ्काको नाम ‘विश्व शान्ति मण्डला’ दिइएको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विश्वकै ठूलो उक्त थाङ्काको परिकल्पनाकार सूर्यबहादुर थकाली आफैं हु्न् । सन् १९९२ मा थकालीले उक्त थाङ्काको परिकल्पना गरेका थिए । बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने तथ्यलाई संसारभर स्थापित गराउन उनका जीवन लिलाहरु संग्रहित गरेर १९९४ बाट थाङ्का निर्माण कार्य अघि बढाइएको थकालीको दाबी छ ।

पत्रकार सम्मेलनमा थाङ्का निर्माण गर्दाका दर्जनौ दृष्यहरु देखाइएको थियो । लुम्बिनी विकास कोषसँग सन् १९९८ मा थाङ्काको सम्झौता गरिएको थियो । थाङ्का निर्माण कार्य पुरा भएपछि बौद्धमार्गीहरु धेरै बस्ने देश जापानमा सन् २००२ मा पहिलो पटक प्रर्दशन गरिएको थकालीको भनाइ छ । त्यहीक्रममा जापानी नागरिक कातागिरी याचुतादा जोडिन पुगेका थिए । यसपछि ती नागरिकले थाङ्का माथि बखेडा झिक्न सुरु गरे । सन् २०१२ मा थाङ्का नेपालको दशरथ रंगशालामा प्रर्दशन गरिएको थियो । सन् २०१६ देखि थाङ्का थकालीको संरक्षणमा थियो ।

अहिले जापानी नागरिक कातागिरीको उक्साहटमा आफ्नो संरक्षणबाट सरकारले गैरकानुनी एवम् जबरजस्ती थाङ्का खोसेको थकाली बताउँछन् । भन्छन्, सरकारले बौद्ध समुदाय र ममाथि अन्याय तथा ज्यादती गर्यो ।” पत्रकार सम्मेलनमा दर्जनौ बौद्धमार्गीहरु उपस्थित थिए । कार्यक्रममा वरिष्ठ अधिवक्ता सबिता बरालले थाङ्का संरक्षण गर्नु भनेर हिजै मात्र उच्च अदालत पाटनले दिएको आदेश सुनाएकी थिइन् भने वरिष्ठ अधिवक्ता प्रा. युवराज संग्रौलाले थाङ्काको स्वामित्व निर्विवादरुपमा थकाली र उनको परिवारमा रहेको जानकारी दिएका थिए ।

कार्यक्रममा सामाजिक न्याय प्राज्ञिक निकेतनका अध्यक्ष अधिवक्ता एवम् मानवअधिकारकर्मी रविन्द्र भट्टराईले नागरिकको नागरिक हक र राजनीतिक अधिकार के हो ? भन्ने विषयमा सरकार अलमलमा रहेको बताएका थिए । उनको भनाइ थियो, “सरकारले सूर्यबहादुर थकाली र उनको परिवारको स्वामित्वमा रहेको थाङ्का खोसेर मानवअधिकारको हक प्रतिकूल काम गरेको छ । यो कार्य संविधान विरोधी छ ।”

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.