सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रुपमा स्थापित गर्न ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।
सरकारको आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सांस्कृतिक, आरोग्य, अध्ययन, चलचित्र, आध्यात्मिक तथा अवकाश पर्यटनको उदाउँदो गन्तव्यका रुपमा विकास गरिने बताए ।
आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । समुदायद्वारा सञ्चालित होमस्टे, स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्दै सीमान्तकृत तथा दलित समुदायको आय आर्जन र रोजगारी प्रवद्र्धन गरिने जनाइएको छ ।
“जीवित सङ्ग्रहालयको अवधारणालाई कार्यान्वयन गर्दै कम्तीमा पाँच हजार नयाँ होमस्टेलाई ‘नेपाल होमस्टे’ ब्रान्डिङसहित बुकिङ प्लेटफर्मसँग आबद्ध गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।