Connect with us

अन्तर्राष्ट्रिय

अमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण

Published

on

अमेरिका, क्यानाडा र अष्ट्रेलियालगायत धेरै देशका विश्वविद्यालय र विद्यालयहरूमा साइबर आक्रमण भएको छ । ठूलो स्तरको साइबर आक्रमणले शिक्षा प्रणालीलाई नै प्रभावित बनाएको छ ।

‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ । आक्रमणको मुख्य निशाना ‘क्यानभास’ नामको अनलाइन शैक्षिक प्लेटफर्म बनेको छ, जसलाई विश्वभरका हजारौँ विश्वविद्यालय र विद्यालयहरूले अध्ययन, असाइनमेन्ट तथा परीक्षा सञ्चालनका लागि प्रयोग गर्छन् । आक्रमणका कारण अन्तिम परीक्षा र असाइनमेन्टको महत्त्वपूर्ण समयमा व्यापक अव्यवस्था फैलिएको छ ।

धेरै विश्वविद्यालयहरूले परीक्षा स्थगित गर्नुपरेको छ भने विद्यार्थी र शिक्षकहरूमा आफ्नो डाटा तथा शैक्षिक सामग्री सुरक्षित रहने विषयमा चिन्ता बढ्न थालेको छ ।

बीबीसीका अनुसार क्यानभासको मालिक कम्पनी ‘इन्स्ट्रक्चर’ले शुक्रबार अबेर राति आफ्नो वेबसाइटमार्फत अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालन गरिएको जनाएको छ । तर, शनिबारसम्म पनि धेरै संस्थाहरूमा ठूलो अवरोध कायम रहेको बताइएको छ ।

रिपोर्टहरूका अनुसार, यस साइबर आक्रमणबाट विश्वभरका करिब नौ हजार शैक्षिक संस्थाहरू प्रभावित भएका छन् । धेरै प्रयोगकर्ताहरूको स्क्रिनमा बिटक्वाइनमार्फत फिरौती माग्ने सन्देश देखा परेको थियो । उक्त सन्देशमा शाइनीहन्टर्सले इन्स्ट्रक्चरको सिस्टममा पहुँच बनाएको र भुक्तानी नगरिए चोरी गरिएको डाटा सार्वजनिक गरिने दाबी गरिएको छ ।

अमेरिकाको मिसिसिपी स्टेट युनिभर्सिटीले विद्यार्थीहरूले सम्भावित रूपमा हराएको काम पुनः प्राप्त गर्न सकून् भनेर शुक्रबारका अन्तिम परीक्षाहरू स्थगित गरेको छ ।

अष्ट्रेलियाको सिड्नी विश्वविद्यालयले विद्यार्थीहरूलाई चेतावनी जारी गर्दै क्यानभास हाल उपलब्ध नरहेको र लग–इन गर्ने प्रयास नगर्न आग्रह गरेको छ । विश्वविद्यालयले यो अवरोधले विद्यार्थीहरूका लागि गम्भीर समस्या सिर्जना गरेको स्वीकार गरेको छ । विश्वविद्यालयले आफू विश्वभरका करिब नौ हजार प्रभावित संस्थाहरूमध्ये एक भएको तथा इन्स्ट्रक्चरबाट थप सल्लाहको प्रतीक्षामा रहेको जनाएको छ ।

अमेरिकामा आइडाहो स्टेट युनिभर्सिटीले दिउँसो हुने परीक्षाहरू रद्द गरेको छ भने पेन स्टेट युनिभर्सिटीले विद्यार्थीहरूलाई सन्देश पठाउँदै हाल कसैले पनि क्यानभासमा पहुँच पाउन नसकेको जानकारी दिएको छ ।
एजेन्सी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.