भक्तजनहरुको सुविधाका लागि ट्राफिक प्रहरीले सवारी साधन व्यवसथापन गर्न पशुपति मन्दिर क्षेत्रमा ६१६ प्रहरी परिचालन गरेको छ । आज हरितालिका (तिज) को अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ६१६ जना ट्राफिक प्रहरी परिचालन गरेको हो । पशुपतिनाथ क्षेत्रमा हुने भीडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ६१६ ट्राफिक प्रहरी खटाएको हो ।
सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउन प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा कमान्ड सेन्टर राखी ६१६ जना ट्राफिक प्रहरी प्रत्यक्ष परिचालन गरिएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा पूजाआजा गर्न आउने भक्तजन एवं दर्शनार्थीलाई सहज रूपमा आवतजावत गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त बनाएको बताएको छ ।
दर्शनार्थीका सवारी साधनको पार्किङ तीलगंगा आँखा अस्पताल अगाडि, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ । बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्यांकर तथा सुरक्षाकर्मीका पार्किङ हुनेछन् ।
कोषको कार्यालय र अमालकोट कोषका कर्मचारी र पर्वसँग सम्बन्धित सवारी साधन र भण्डारखालमा सरकारी संस्थान र विशिष्ट व्यक्तिका सवारी साधनलाई पार्किङको व्यवस्था मिलाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार विभिन्न नाका भई भित्रिने भक्तजनका सवारी साधन छुट्टाछुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको छ । धेरै टाढाबाट आउने भक्तजनको सुविधाका लागि निर्वाध आवतजावतको व्यवस्था मिलाउनुका साथै पार्किङ गर्ने ठाउँ समेत तोकिएको छ ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरिने उनले जानकारी दिए ।
वैकल्पिक मार्गमा करिडोर सडक र भित्री सडकहरूमा समेत बाक्लो मात्रामा ट्राफिक प्रहरी खटाएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ । तर, भक्तजनको संख्या अत्याधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था आए मात्र डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तीनकुनेबाट सिनामंगलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भीडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।
सम्भावित सवारी साधन चोरी नियन्त्रण तथा निगरानीका लागि सादा पोसाकका ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ ।