Connect with us

राजनीति

राज्य व्यवस्था समितिको सभापतिमा न्यौपाने निर्विरोध

Published

on

प्रतिनिधिसभा मातहतको राज्य व्यस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध भएकी छन् । आज मंगलबार (१० भदौ) अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गनृ निर्धारण गरिएको समयमा न्यौपानेको मात्र उमेदवारी परेकोले न्यौपाने निर्विरोध भएकी हुन् ।

प्रतिनिधिसभाका सचिव हकैराज राईका अनुसार सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ताका निम्ति आज दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको थियो । न्यौपानेको उमेदवारी दिउँसो ३ बजेर ४ मिनेटमा दर्ता गरिएको थियो । उनी बाहेक अर्को कसैको उम्मेदवारी दर्ता नभएकोले न्यौपाने निर्विरोध भएकी हुन् । भलै उनी सभापति निर्वाचित भएको औपचारिक घोषणा भने भोलि हुनेछ ।

कांग्रेस सांसद रामहरि खतिवडाले न्यौपानेलाई सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गराएका थिए । नेकपा (एमाले) का सांसद कृष्णगोपाल श्रेष्ठले उक्त प्रस्तावमा समर्थन जनाएका थिए ।

निजामती विधेयकको ‘कुलिङ अफ पिरियड’मा गडबडी प्रकरणमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदनपछि खतिवडाले साउन २७ गते सभापतिबाट राजीनामा दिएका थिए । नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका खतिवडाकै प्रस्तावमा न्यौपाने निर्विरोध सभापति बनेकी हुन् ।

एकल उमेदवारी परे पनि औपचारिक रूपमा सभापति घोषणा हुन बाँकी छ । सभापति चुन्न भोलि ११ भदौ दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बोलाइएको छ ।

बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । “भोलि दिउँसो ३ बजे समिति बैठक छ । भोलिको बैठकको एजेन्डा समितिको सभापतिको निर्वाचनको छ । त्यहीँ प्रक्रियाबाट टुंगो लाग्छ,” सचिव राईले बाह्रखरीसित भने ।

न्यौपानेले संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिबाट आजै मात्र राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी थिइन् । त्यसअघि कांग्रैसको पदाधिकारी बेठकले न्यौपानेलाई सभापति बनाउने निर्णय गरेको थियो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.