यस छिमलको हिमाल आरोहण गर्ने समय सुरु भएको छ । यस छिमलमा सेप्टेम्वरदेखि नोभेम्बरमध्येसम्म हिमाल आरोहण गरिन्छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा चुचुराहरु आरोहणबाट रु. ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको छ । यस वर्ष कति सङ्कलन हुन्छ ? अहिले भन्न सकिने अवस्था छैन ।
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो आठ हजार ५५६ मिटर उचाईको कञ्चनजङ्घा हिमाललाई मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ जनाले सफलतापूर्वक पाइला टेके । उक्त आरोहणबाट रु. एक करोड ९७ हजार ४६० राजस्व सङ्कलन भएको छ ।
सङ्खुवासभा जिल्लामाको मकालु हिमाललाई ६६ आरोहीले सफल आरोहण गरे । यसबाट रु. एक करोड ६२ लाख ६९ हजार ४८० सङ्कलन भएको छ ।
विश्वको अग्लो सगरमाथालाई तीन सय दुई जना पुरुष र ७२ महिला गरी तीन सय ७४ जनाले सफलतापूर्वक आरोहण गरे । जसबाट रु. ५५ करोड ४९ लाख ९० हजार २७८ राजस्व सङ्कलन भयो ।
त्यस याममा २३ हिमाल तथा चुचराहरुको आरोहण गरिएको थियो । जसमा छ सय ७८ पुरुष र एक सय ९१ महिला गरी आठ सय ६९ नेपाली तथा विदेशीले नेपालका हिमाल तथा चुचुराको आरोहण गरेको पर्यटन विभागको तथ्याङ्क छ । यसबाट रु. ६३ करोड ८२ लाख ९४ हजार ९७९ राजस्व सङ्कलन भएको विभागको भनाइ छ ।
विश्वमा ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये आठ वटा नेपालमा छन् ।