Connect with us

अर्थ

नेपाल प्रहरीको करिब डेढ अर्बको ठेक्कामा सेटिङः फेरि पनि सीमित ठेकेदारलाई ठेक्का दिने तयारी

Published

on

छानबिन समितिले देखाएका त्रुटिको ‘आंशिक मात्रै सुधार’ गरेर प्रहरी प्रधान कार्यालयले करिब डेढ अर्ब बराबरको सामान खरिद प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले त्रुटिहरू सच्याउन गरेको पत्राचारअनुसार नभई केही सीमित ठेकेदारलाई मात्र ठेक्का दिलाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन गरेको पत्राचारअनुसार नभई सीमित ठेकेदारलाई मात्र प्रतिस्पर्धा गर्न दिने गरी मुख्य विषयमा संशोधन नगरिएको प्रहरी स्रोतकै भनाइ छ । लत्ताकपडालगायत २५ प्रकारका सामान खरिदका लागि आह्वान गरिएको बोलपत्रमा त्रुटि देखिएको भन्दै अनुगमन कार्यालयले सच्याउन पत्राचार गरेको थियो ।

प्रहरी महानिरीक्षक दीपक थापाले भोलि बुधबारदेखि अवकाश पाउँदै छन् । सरकारले १९ भदौदेखि कार्यभार सम्हाल्ने गरी चन्द्रकुवेर खापुङलाई आइजिपीमा नियुक्ति गरिसकेको छ । नयाँ प्रहरी महानिरीक्षक नियुक्ति भइसकेको अवस्थामा प्रहरी प्रधान कार्यालयले हतार–हतार प्राविधिक मूल्यांकनको काम अघि बढाएपछि प्रश्न उठेको छ ।

नयाँ आइजिपीले कार्यभार नसम्हाल्दै प्रबन्ध शाखाका प्रहरीले प्राविधिक मूल्यांकन सकेर आफ्ना निकटस्थ कम्पनीलाई मात्र पास गराउने तयारी गरेका छन् । यसमा प्रबन्ध शाखाका इन्स्पेक्टर रुद्र गिरी मुख्य रूपमा खटिएका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले छानबिन समितिको प्रतिवेदनका आधारमा बोलपत्रमा आठवटा त्रुटि रहेको भन्दै सच्याउन भनेको थियो । बोलपत्रमा पछिल्लो तीन वर्षमा करोडौँका त्यस्तै किसिमका सामान आपूर्ति गरेको अनुभव चाहिने उल्लेख छ । जसअनुसार पछिल्लो तीन वर्षमा प्रहरीमा सामान आपूर्ति गरेकाबाहेक अरूले ठेक्का प्रतिस्पर्धामा भाग नै लिन नमिल्ने अवस्था बनेपछि मिलेमतो भएको भन्दै विभिन्न निकायमा उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक जाँचबुझ गर्दा बोलपत्र पारदर्शी नभएकोजस्तो देखिएपछि छानबिन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार गरेको थियो । अख्तियारले पनि हाल सो विषयमा थप अध्ययन गरिरहेको स्रोत बताउँछ ।

प्रतिवेदनमा ‘सार्वजनिक खरिद ऐन, नियमावली तथा यस कार्यालयको नमुना बोलपत्रसम्बन्धी कागजात प्रतिकूल नहुने र प्रतिस्पर्धालाई सीमित नगर्ने गरी, कार्यालयको मागरआवश्यकतासमेतलाई ध्यान दिई ‘इस्पेसिफिक एक्सपिरियन्स’ राख्दा बढीभन्दा बढी बिडर समेटिने गरी बनाउन उपयुक्त हुने,’ भनेर सिफारिस गरिएको थियो ।
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.