राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण टोली १२ सदस्यीय हुने भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको विदेश भ्रमण दलमा अक्सर दुई दर्जन सदस्यहरू पुग्ने गरेकोमा राष्ट्रपति पौडेलको कतार भ्रमण दल एक दर्जन सदस्यमा सीमित गर्न लागिएको हो।
कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा हुन लागेको यो भ्रमण खासमा संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) ले १८–२० कार्तिकमा आयोजना गरेको सामाजिक विकास सम्मेलनका लागि हो।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कतार भ्रमण दलमा राष्ट्रपति पौडेलका अलावा उनकी पत्नी सविता पौडेल, राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्ले र प्रमुख स्वकीय सचिव समेत रहेकी राष्ट्रपति पौडेलकी छोरी अवज्ञा पौडेल हुनेछिन्।
यसैगरी राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, परराष्ट्र मन्त्रालय अन्तर्गत संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखाका प्रमुख (सहसचिव) कृष्णप्रसाद ढकाल, उक्त महाशाखाका शिष्टाचार महापाल (चिफ अफ प्रोटोकल) कुमारराज खरेल, अर्का प्रोटोकल अधिकृत, राष्ट्रपतिका चिकित्सक, नेपाली सेना र नेपाल प्रहरीका दुई एडीसी हुनेछन्।
संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूमध्येको एक ‘इकोसोक’ ले आयोजना गरेको यो सम्मेलन ३० वर्षपछि हुन लागेको हो। यसअघि यो सम्मेलनको पहिलो संस्करण सन् १९९५ मा भएको थियो। डेनमार्कको राजधानी कोपनहेगनमा भएको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
कतारका अमिर अल थानीले राष्ट्रपति पौडेलको निमन्त्रणामा अघिल्लो वर्ष ११–१२ वैशाख ०८१ मा नेपालको दुई दिने भ्रमण गरेका थिए। त्यसक्रममा उनले राष्ट्रपति पौडेललाई आफ्नो मुलुक भ्रमणको निमन्त्रणा दिएका थिए। जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा सरकारको प्राथमिकतामा राजनीतिक व्यवस्थापन र निर्वाचन भएकाले सो सम्मेलनमा राष्ट्रपति पौडेलकै उपस्थिति उपयुक्त ठानिएपछि उनको भ्रमणको तारतम्य मिलेको हो।
यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णय अनुसार हुन लागेको हो, जसको शीर्षक ‘सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलन’ तय गरिएको छ।