Connect with us

अर्थ

बक्यौता तिर्न आनाकानी गर्दै विमान कम्पनी

Published

on

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुविधा लिएर हवाई सेवा दिएका वायुसेवा कम्पनीले विमानस्थललाई तिर्नुपर्ने बक्यौता तिर्न आनाकानी गर्दै आएका छन् । विमानस्थल कार्यालयका अनुसार बक्यौता रकम नबुझाउनेमा बर्सौंदेखि विमानस्थलमा जहाज थन्क्याएर बसेका र हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएका वायुसेवा कम्पनी छन् ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार केही कम्पनी बक्यौता बुझाउने प्रक्रियामै रहे पनि केहीले भने पटक पटक ताकिता गर्दासमेत बक्यौता बुझाउन आनाकानी गर्दैै आएका छन् ।

उनले भने, “विगतमा सञ्चालनमा रहेर हाल बन्द अवस्थामा रहेकासहित हाल सञ्चालनमा रहेका केही हवाई कम्पनीले बक्यौता तिर्न बाँकी छ । सञ्चालनमा रहेकामध्ये नेपाल वायुसेवा निगम, यती एयरलाइन्स र स्पाइस जेटलाई तुरन्त बक्यौता रकम बुझाउन ताकितासहितको पत्र पठाएका छौँ । ती कम्पनी तत्काल प्रक्रियामा नआए नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावलीबमोजिम उडानमा रोक लगाउन सकिन्छ ।”

बक्यौता रकम बुझाउन बाँकी रहेकामध्ये नेपाल वायुसेवा निगमको २० करोड ९९ लाख ७१ हजार २५० र यती एयरलाइन्सको १० करोड २४ लाख ७९ हजार ३७० र विदेशी हवाई कम्पनी स्पाइस जेटको पाँच करोड ३७ लाख चार हजार ४२२ रुपियाँ छ ।

हिमालय एयरलाइन्सले हालसालै २५ करोड र स्पाइस जेटले एक करोड ५० लाख रुपियाँ बक्यौता बुझाएको जानकारी दिँदै उनले स्पाइस जेटले अझै पाँच करोड रुपियाँभन्दा बढी बक्यौता बुझाउन बाँकी रहेको बताए । उनका अनुसार गुण एयरलाइन्सले दुई करोड २९ लाख ४९ हजार ७३८ र सौर्य एयरलाइन्सले समेत ४६ लाख १८ हजार ७६१ रुपियाँ बक्यौता विमानस्थललाई बुझाउन बाँकी छ ।

त्यस्तै विगतमा सञ्चालनमा रहेर बन्द रहेकामध्ये कस्मिक एयरको दुई करोड ६९ लाख ७१ हजार १०४, नेकोन एयरको चार करोड ६३ लाख ८५ हजार ५३, नेपाल एयरवेजको ९६ लाख १४ हजार ९५४, साङ्ग्रिला एयरको दुई करोड ३७ लाख ९४ हजार ४८३ र मुक्ति एयरलाइन्सले २६ लाख १६ हजार आठ रुपियाँ तिर्नुपर्ने दायित्व नबुझाएको उनले जानकारी दिए ।

प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ग्राउन्डेड गर्न सकिने प्रावधान छ । नियम अनुसार साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्ने गरेको छ भने समयमै बुझाउँदा छुटको व्यवस्था छ ।

विमानस्थल कार्यालयले उड्डयन सुरक्षासम्बन्धी सेवा, हवाई मार्गनिर्देशन, यात्री तथा सामान व्यवस्थापन, सुरक्षा, हवाई इन्धन आपूर्ति, जहाजको भूमिस्थ प्रबन्ध, ल्यान्डिङ, पार्किङ, कार्यालय सञ्चालन कोठा, काउन्टर, ह्याङ्गर, कार्गोलगायतमा सेवाबापत शुल्क लिने गरेको छ ।
मिनराज भण्डारी/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.