जनमत पार्टीको असन्तुष्ट समूहले गठन गरेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि अध्यक्ष दीपक साहले नयाँ पार्टी दर्ताका लागि निवदेन दिएका छन् । आज शुक्रबार साहले ‘सर्वोदय पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
यसअघि, बिहीबार सर्वोच्चले जनस्वराज पार्टीलाई पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज गरिदिएको थियो । न्यायाधीशहरू सपनाप्रधान मल्ल, सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको इजलासले जनस्वराज पार्टीलाई मान्यता दिने निर्णय खारेज गर्ने फैसला सुनाएको थियो ।
अदालतबाट दलको मान्यता खारेज भएपछि जनस्वराज पार्टीका अध्यक्ष रहेका साहले सोही समूहलाई समेटेर ‘सर्वोदय पार्टी’ नाममा नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएका हुन् । साह जनमत पार्टीका पूर्वउपाध्यक्ष हुन् । उनलाई पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै जनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।