Connect with us

अन्तर्राष्ट्रिय

भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि निकटस्थबाटै घात, अगस्टदेखि गरेका थिए अमेरिकी जासुसले सूचना संकलन

Published

on

गत अगस्टमा अमेरिकी जासुसी संस्था सीआईएको एउटा गुप्त टोली भेनेजुएला छिर्‍यो– राष्ट्रपति निकोलस मदुरोबारे जानकारी बटुल्न। सीआईएको त्यो टोली राजधानी काराकासमा महिनौँसम्म घुमिरह्यो। तैपनि भेनेजुएलाको सुरक्षा संयन्त्रले थाहा पाउन सकेन। त्यो टोलीले मदुरोको दैनिकीबारे सूचना संकलन थाल्यो। उनको हरेक कदममा निगरानी राख्न थाल्यो।

सीआईएको टोलीलाई मदुरोबारे गुप्त सूचना दिने काम उनकै निकटस्थले गरिरहेका थिए। जसका कारण सीआईएले मदुरो कहाँ सुत्छन्, के खान्छन्, के लाउँछन् र उनले केकस्ता जनावर पालेका छन् भन्ने जानकारी पनि पाएको थियो। त्यसका अलावा मदुरोलाई आकाशबाट गुप्त अमेरिकी ड्रोनले पनि पछ्याइरहेको थियो।

भेनेजुएलामा अमेरिकी दूतावास बन्द थियो। त्यसैले जासुसहरूले कूटनीतिज्ञको भेषमा काम गर्न पाउँदैनथे। तथापि यो मिसन अत्यन्त सफल भएको ज्वइन्ट चिफ अफ स्टाफका प्रमुख जर्नेल ड्यान केनले बताएका छन्। यसरी संकलन गरिएको सूचनाको आधारमा डिसेम्बरको सुरुतिर ‘अप्रेसन एब्सोलुट रिजल्भ’ तयार गरियो। त्यसअघि केन्टकीमा ठ्याक्कै मदुरोको घरजस्तै कम्पाउन्डसहितको घर बनाएर सैन्य टोलीले ‘रिहर्सल’ समेत गरेको थियो। जसमा सैन्य टुकडीले फलामे ढोका फोर्ने अभ्यास गरेको थियो।

चार दिनअघि नै डोनाल्ड ट्रम्पले यो कारबाही अघि बढाउन अनुमति दिएका थिए। तर, मौसम खराब भएकाले उनीहरूले पर्खिने निर्णय गरे। ‘क्रिसमस र नयाँ वर्षको समयमा अमेरिकी सेनाका जवानहरू परिस्थिति अनुकूल हुनका लागि धैर्यपूर्वक पर्खिरहेका थिए,’ जर्नेल केनले भनेका छन्। अन्ततः शुक्रबार मौसम खुल्यो र ट्रम्पले आदेश दिए।

लगत्तै दुई घण्टा २० मिनेट लामो कारबाही सुरु भयो। त्यतिबेला ट्रम्प ह्वाइट हाउसको सिचुएसन रुममा होइन, फ्लोरिडास्थित आफ्नो घरमा थिए। जहाँ सीआईएका निर्देशक जोन र्‍याटक्लिफ र विदेशमन्त्री मार्को रुबियोसँग बसेर उनी कारबाहीको लाइभस्ट्रिम हेरिरहेका थियो।

‘टेलिभिजन सो हेरेजस्तै थियो यो,’ ट्रम्पले भनेका छन्।

भेनेजुएलामा सैन्य कारबाही साइबर हमलाबाट सुरु भयो। साइबर आक्रमण गरेर काराकासको ठूलो हिस्साबाट बिजुली काटियो। सहर अन्धकार भयो। जसले गर्दा विमान, ड्रोन र हेलिकोप्टर थाहै नपाई लक्ष्यमा पुग्यो। ड्रोन, लडाकु विमान र बमवर्षकगरी १५० भन्दा बढी विमान यो कारबाहीमा संलग्न थिए। तिनले करिब २० स्थान र विमानवाहक जहाजबाट उडान भरेका थिए।

कारकासमा रातिको २ बजे आसपास विस्फोट सुरु भयो। अमेरिकी लडाकु विमानहरूले रेडार, हवाई प्रतिरक्षा केन्द्र र रेडियो ट्रान्समिसन टावरहरूमा बमबारी गरे। अमेरिकी आक्रमणमा कम्तीमा ४० जनाको ज्यान गएको बताइएको छ।

बमबारीबाट भेनेजुएलाको सेनाको हवाई प्रतिरक्षा शक्ति नष्ट गरेपछि विशेष सैन्य टुकडी बोकेका हेलिकोप्टर कारकास भित्रिए र २ ः ०१ मा मदुरोको कम्पाउन्डमा ती हेलिकोप्टर पुगे। तथापि, हेलिकोप्टरहरूमा गोलाबारी भएको जर्नेल केनले बताएका छन्। यो आक्रमणमा एउटा होलिकोप्टरमा क्षति पुगेको र आधा दर्जन अमेरिकी सैनिक घाइते भएको अमेरिकाले जनाएको छ।

मदुरोलाई कब्जा गर्ने जिम्मा डेल्टा फोर्सलाई दिइएको थियो। यो टुकडीले एमएच–६० र एमएच–४७ हेलिकोप्टर उडाउने गर्छ। जमिनमा उत्रिएपछि डेल्टा फोर्सका जवानहरू सो घरभित्र मदुरोलाई खोज्न थाले। घरमाथि उडिरहेको विमानमा जडित क्यामराको माध्यमबाट १३ सय माइल टाढा बसेर ट्रम्प प्रत्यक्ष हेरिरहेका थिए।

डेल्टा फोर्स बम विस्फोट गराएर घरभित्र पस्यो। ढोका भत्काइसकेपछि मदुरो भएको ठाउँसम्म पुग्न सैनिकहरूलाई तीन मिनेट लागेको थियो। ट्रम्पका अनुसार अमेरिकी सैनिकहरू आइपुगेपछि मदुरो र उनकी पत्नी अर्को सुरक्षित कोठामा भाग्न खोजेका थिए। तर, सैनिकहरूले उनीहरूलाई समाते।

‘उनी सुरक्षित ठाउँमा जान खोज्दैथे,’ ट्रम्पले पत्रकार सम्मेलनमा भनेका छन्, ‘त्यो कोठाको ढोका एकदम बलियो थियो। तर, उनी ढोकाभित्र पस्नै पाएनन्। ढोकासम्म पुगे तर ढोका थुन्न पाएनन्।’

घरभित्र छिरेको पाँच मिनेटमै डेल्टा फोर्सले रिपोर्ट गर्‍यो– मदुरो हाम्रो कब्जामा छन्। मदुरोले सुरक्षित कोठामा पसेर ढोका बन्द गरेको भए उनलाई आत्मसमर्पण गराउन एफबीआईका वार्ताकार पनि सैन्य टुकडीको साथमै गएका थिए। तर, त्यसको आवश्यकता परेन।

सैनिकहरूले तुरुन्तै मदुरो दम्पतीलाई हेलिकोप्टरमा राखे र उडाए। काराकासमा बिहानको साढे ४ बज्दा मदुरो र उनकी पत्नीलाई भेनेजुएलाको किनारभन्दा सय माइल टाढा क्यारिबियन समुद्रमा राखिएको अमेरिकी युद्धपोत इवो जिमामा पुर्‍याइसकिएको थियो।

इवो जिमाबाट उनीहरूलाई ग्वान्टानामो बे पुर्‍याइयो। जहाँ एफबीआईको विमान पर्खिरहेको थियो। सो विमानले उनीहरूलाई म्यानहटनस्थित सैन्य विमानस्थलमा ओराल्यो। भेनेजुएलामा दोस्रो चरणको आक्रमण गर्ने तयारी गरिए पनि अब त्यो आवश्यक नपर्ने ट्रम्पको भनाइ छ। उनले भेनेजुएलाका अरु नेतालाई त्यसैगरी समात्ने धम्की भने दिएका छन्। सेनाले पक्रिन खोज्दा नमानेको भए के अमेरिकाले मदुरोलाई मार्न सक्थ्यो भन्ने प्रश्नमा ट्रम्पको जवाफ थियो, ‘त्यस्तो हुन सक्थ्यो।’

ट्रम्पले लागुऔषध तस्करीको नाम लिएर भेनेजुएलामाथिको आक्रमण वैध ठहर्‍याउने प्रयास गरेका छन्। तर, अन्तर्राष्ट्रिय लागुऔषध तस्करीमा भेनेजुएला ठूलो खेलाडी होइन। सरकारी अधिकारीहरूले संसदमा आफ्नो उदेश्य भेनेजुएलामा सत्ता ढाल्नु नरहेको बताएका थिए। ट्रम्पले पनि वैदेशिक हस्तक्षेपको विरोध गर्दै आएका थिए।

तथापि, शनिबार ट्रम्पले भेनेजुएला अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरे। र, त्यहाँको तेल अमेरिकाले बेच्ने घोषणा गरे।
एजेन्सी/नेपालखबर

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.