Connect with us

अर्थ

भैँसीपालनबाट किसानको फेरिँदै जीवनस्तर

Published

on

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारु समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ आकर्षित भएका छन् । दूध बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि थारु समुदायको जीविकोपार्जन सहज हुनुका साथै बचत गर्ने बानीको विकास भएको छ ।

शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टीका चन्द्रलाल चौधरीले विगत छ वर्षदेखि व्यावसायिक भैँसीपालन गर्दै आएकी छन् । उनले दैनिक नौ लिटर दूध उत्पादन गर्नुहुन्छ । जसमध्ये दुई लिटर घरमा राखेर सात लिटर डेरीमा बिक्री गर्छन । प्रतिलिटर रु ७० का दरले दूध बेचेर उहाँले दैनिक रु चार सय ९० र मासिक रु १४ हजार सात सय आम्दानी गर्दै आएका छन् ।

“दूध बिक्रीबाट आएको पैसाले नून, तेल, औषधिमुलो र लुगाफाटोको खर्च टरेको छ,” चौधरीले भने, “बैंकबाट ऋण लिएर किनेको ट्याक्टरको किस्ता तिर्न धौधौ परेका बेला यही भैँसीको दूधले ठूलो सहारा दिएको छ ।” भैँलाई चारो खुवाउनेदेखि गोबर सोहोर्नेसम्मका सबै काम उहाँ आफैँ सम्हाल्छन्।

यसैगरी नगरपालिका– ११ का वडा सदस्य जयसिंह रानाले पनि व्यावसायिक रूपमा भैँसी पालेका छन् । दैनिक छ लिटर दूध डेरीमा पु¥याउने राना भन्छन्, “भैँसी पाल्न थालेपछि घरमा खर्चको अभाव कहिल्यै भएको छैन, अहिले त उल्टै अरुलाई सापटी दिन सक्ने भएका छौँ ।” सोही वडाका तौला रानाले पनि दूध बिक्रीबाटै नातिनातिनीको बोर्डिङ स्कुलको शुल्क तिरिरहेको बताए ।

पहिले दूध बेच्न हिचकिचाउने थारु समुदायमा अहिले व्यावसायिकताको लहर चलेको छ । आँचल डेरीका सञ्चालक ललित हमालका अनुसार अहिले दैनिक दूध ल्याउने थारु समुदायका व्यक्तिको सङख्या बढ्दो छ । “पहिले एक–दुई जना मात्रै दूध बिक्रीका लगि आउनुहुन्थ्यो, अहिले ३० जनाभन्दा बढीले नियमित दूध बिक्री गरिरहेका छन्,” हमालले भने ।

व्यावसायिक भैँसीपालनले थारु समुदायका विपन्न अवस्थाका परिवारलाई आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउन र अन्य व्यापार व्यवसायमा लगानी गर्नसमेत सक्षम बनाएको छ । थारु समुदायमा फैलिएको यो उत्साहले स्थानीयस्तरमा स्वरोजगारको राम्रो उदाहरण प्रस्तुत गरेको हमाल बताउँछन् ।

“दुध बिक्री गर्न आउने थारु समुदायका व्यक्तिहरुलाई हामीले पनि प्रोत्साहित गर्दै आएका छौँ” उनले भने, “दूधको गुणस्तर अनुसारको मूल्य हातोहात दिने गरेका छौँ ।”

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.