एनसेलको कार्यालयमा नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पुगेको छ। स्मार्ट टेलिकमको उपकरण खरिदबारे अनुसन्धान गरिरहेको सीआईबी टोली एनसेल कार्यालय पुगेर छापा मारेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।
ललितपुरको नक्खुस्थित कार्यालयमा पुगेको टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठ बारे पनि सोधखोज गरेको बुझिएको छ । ‘घटना अनुसन्धानकै क्रममा भएकाले अहिले धेरै बोल्न मिलेन। तर छापा मारिएको र केही कागजात नियन्त्रणमा लिइएको हो। हामीले जुन विषयमा अनुसन्धान गरिरहेका छौँ कुरा त्यही हो। अरु कुरा हामी हेर्दै छौँ’, सीआईबी स्रोतको भनाइ छ ।
यही प्रकरणमा सीआईबीले स्मार्ट टेलिकमका सीईओ सर्वेश जोशी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ ।
बैंकले स्मार्ट टेलिकमका सीईओ सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो। त्यसमा स्मार्ट टेलिकमको सम्पत्ति सकार्न तीनवटा संस्थाहरूले सिलबन्दी बोलपत्र पेस गरेका थिए।
जसमा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख र एनसेल आजियाटा लिमिटेडले चार अर्ब ६० करोड रुपैयाँको बोलपत्र पेस गरेका थिए। एनसेलको बोलपत्र बैंकले असुल गर्नुपर्ने तीन अर्ब ९५ करोड रुपैयाँभन्दा बढी भएकाले बैंकले उक्त बोलपत्र स्वीकृत गरेको थियो।
त्यसपछि बैंकले उक्त टेलिकमका उपकरण एनसेललाई ४ अर्ब ६० करोडमा बिक्री गरेको थियो। सरकारको स्वामित्वमा आएको स्मार्ट टेलिकमको सम्पति आफ्नो कर्जा असुल्ने नाममा बैंकले बिक्री गरेको थियो । त्यही प्रकरणमा लहरो तान्दा पहरो गर्जिएको हो ।