Connect with us

अन्तर्राष्ट्रिय

ट्रम्प र सीबिच बहुप्रतीक्षित भेटवार्ता आज

Published

on

ट्रम्प झन्डै एक दशकपछि चीनको भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएकाले पनि त्यहाँ हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ

ट्रम्पबिचको शिखर वार्तामा अमेरिका र चीनबिचको व्यापारमा देखिएको समस्या, ताइवानको मुद्दा, एआईदेखि इरानमा जारी अमेरिकी युद्धसम्म वार्ता हुन सक्छ

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको बहुप्रतीक्षित शिखर सम्मेलनका लागि हिजो बुधबार बेइजिङ आइपुगेका छन् । यो अमेरिकी राष्ट्रपतिका रूपमा ट्रम्पको सन् २०१७ पछिको पहिलो चीन भ्रमण हो । विश्वको पहिलो र दोस्रो ठुलो अर्थतन्त्र क्रमशः अमेरिका र चीनका शीर्ष नेताबिच बिहीबार र शुक्रबार भेटघाट तय भएको छ । भेटमा दुई देशबिचको व्यापारमा देखिएको समस्या, ताइवानको मुद्दा, कृत्रिम बुद्धिमत्ता (एआई) देखि इरानमा जारी अमेरिकी युद्धमा वार्ता हुने अपेक्षा गरिएको छ ।

मंगलबार पत्रकारसँग बोल्दै ट्रम्पले सीसँग इरानका बारेमा ‘लामो कुराकानी’ गर्ने, तथापि मुख्य ध्यान व्यापारमा केन्द्रित हुने बताएका थिए । राष्ट्रपति ट्रम्प बेइजिङका लागि उड्नुअघि वासिंटनले चीनलाई ‘स्ट्रेट अफ हर्मुज’मा कायम तनाव कम गर्न र इरानलाई वार्तामा फर्काउन मनाइदिन आग्रह गरेको थियो । तथापि, यी प्रयास असफल भएपछि ट्रम्प बेइजिङ भ्रमणमा निस्किएका छन् ।

विश्वका दुई ठुला अर्थतन्त्रबिच मुख्यतः व्यापार, प्रविधि, ताइबानको अवस्था र इरान युद्धलगायत विषयमा तनाव भएकाले तिनका शीर्ष नेताबिच यही विषय मै छलफल हुने बताइएको छ । ट्रम्प लगभग एक दशकपछि चीनको भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भएकाले पनि भ्रमण र शिखर सम्मेलनलाई महत्वका साथ हेरिएको छ । त्यसबाहेक शिखर वार्ता बढ्दो भूराजनीतिक र आर्थिक अनिश्चितताको समयमा हुन लागेकाले पनि विश्वको नजर बेइजिङमा हुनेछ ।

ट्रम्पको चीनको भ्रमण खासमा यसअघि मार्च ३१ देखि अप्रिल २ बिचका लागि तय गरिएको थियो । तर, इरान युद्धका कारण भ्रमण ढिलाइ हुन पुग्यो । बेइजिङका लागि प्रस्थान गर्नुअघि ट्रम्पले उनी र सीबिच इरानलगायत धेरै विषयमा ‘लामो कुराकानी’ हुने बताएका थिए ।

संयुक्त राज्य अमेरिका अझै पनि चीनको उच्च उत्पादन क्षमता र न्यून लागतको उत्पादनमाथि अधिक निर्भर छ । उता चीनका लागि अमेरिका एक महत्वपूर्ण बजार हो । त्यस्तै, चीन अमेरिकाको प्रविधि, पुँजी बजार र डलर–केन्द्रित विश्वव्यापी अर्थतन्त्रको व्यापक स्थिरतामा निर्भर छ । ‘यो अमेरिका–चीन प्रतिद्वन्द्विताको विरोधाभास हो, प्रत्येक पक्षले अर्कोबाट अलग हुन चाहन्छ, तर दुवै एक–अर्कामाथि पारस्परिक निर्भरताको संरचनामा बाँधिएका छन् । यो संरचना दुवैले आफूलाई चोट नपुर्‍याई सजिलै भत्काउन सक्दैनन्,’ लेइडेन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यपक साल्भाडोर स्यान्टियो रेगिलमीले भने ।

नोभेम्बरको मध्यावधि चुनावअघि मतदातालाई आर्थिक जितको रूपमा प्रस्तुत गर्न सक्ने सम्झौता देखाउनुपर्ने दबाबमा रहेकाले ट्रम्पको ध्यान बेइजिङमा मुख्यतः व्यापारमा केन्द्रित हुने अपेक्षा छ । वासिंटनले चीनलाई अमेरिकामा बन्ने बोइङ विमान, गाईको मासु र सोयाबिनलगायत अमेरिकी उत्पादनको खरिद बढाउन दबाब दिँदै आएको छ । साथै वासिंटनले केही क्षेत्रमा निकट लगानी र व्यापार सहयोग पनि खोजिरहेको छ ।

उता बेइजिङले भने अमेरिकाको उन्नत सेमिकन्डक्टरको निर्यातमा लागेको प्रतिबन्ध कम गर्न र महत्वपूर्ण चिप बनाउने प्रविधिमा पहुँच सीमित गर्ने कदम फिर्ता लिन अमेरिकालाई दबाब दिने अपेक्षा गरिएको छ । शिखर सम्मेलनमा ताइबान पनि संवेदनशील र विवादित मुद्दा रहने सम्भावना छ ।

द्विपक्षीय विवादबाहेक दुई नेताबिच इरानविरुद्ध अमरिका–इजरायलले सञ्चालन गरेको युद्ध, त्यसपछि हर्मुजवरपर देखिएको तनाव र कृत्रिम बुद्धिमत्ता ९एआई०को बढ्दो जोखिमबारे पनि छलफल हुने प्रक्षेपण छ ।

प्रविधि र आपूर्ति शृंखला पनि शिखर सम्मेलनमा प्रमुख मुद्दा बन्ने विश्लेषकले बताएका छन् । किनकि, पछिल्लो केही समयदेखि वासिंटन र बेइजिङबिच सेमिकन्डक्टर र महत्वपूर्ण खनिजमाथिको पहुँचलाई लिएर तनाव छ ।

अमेरिकाले उन्नत चिप्स र चिप बनाउने उपकरणको चीन निर्यातमाथि अवरोध कठोर पारेको छ । बेइजिङको ती उन्नत चिप्सलाई सैन्य उपकरण र सैन्यकेन्द्रित एआई विकासमा प्रयोग गर्न सक्ने वासिंटनको चिन्ता छ । यसैले, ती प्रविधिको विकास ढिलो गर्न प्रतिबन्ध आवश्यक भएको उसको तर्क छ ।

यसबिच, चीनले विश्वव्यापी रेअर अर्थको प्रशोधनमा झन्डै एकाधिकार कायम गरेको छ । सेमिकन्डक्टर, विद्युतीय सवारी साधन, सैन्य उपकरण र इलेक्ट्रोनिक्सका लागि अत्यावश्यक रेअर अर्थको लगभग ९० प्रतिशत नियन्त्रण चीनको हातमा छ । अमेरिकाले सेमिकन्डक्टरको निर्यातमा कडाइ गरेको जवाफमा चीनले यही खनिजको निर्यात नियन्त्रण जनाएको छ ।

बेइजिङले हाल कार्यान्वयनमा रहेका अमेरिकी प्रविधि प्रतिबन्ध घटाउन जोड दिने तयारी गरेको बताइएको छ । वासिंटनले निर्यात नियन्त्रण खुकुलो बनाएपछि चीन रेअर अर्थ र महत्वपूर्ण खनिजको ढुवानी पुनः सुरु गर्न चाहन्छ ।

अलजजिरा/नयाँपत्रिकाबाट

Continue Reading

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.