दिइन् पदबाट राजीनामा, १० वर्षसम्म सजाय हुन सक्ने
अमेरिकाको दक्षिणी क्यालिफोर्नियाकी एक नगरप्रमुखले चिनियाँ सरकारको अवैध एजेन्टका रूपमा काम गरेको अभियोग स्वीकार गरेकी छन् । उक्त अभियोग स्वीकार गर्दै उनले पदबाट राजीनामा दिएकी छन् । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एपीले जनाएको छ ।
क्यालिफोर्नियाको आर्काडियाकी मेयर आइलिन वाङलाई गत अप्रिलमा विदेशी सरकारको अवैध एजेन्टका रूपमा अमेरिकामा काम गरेको अभियोग लगाइएको थियो । उनीमाथि अमेरिकी सरकारलाई पूर्वजानकारी नदिई बेइजिङको पक्षमा रहेका लेखहरू साझा गर्नेलगायत चिनियाँ अधिकारीहरूको निर्देशन पालना गरेको आरोप लगाइएको थियो ।
५८ वर्षीया वाङ नोभेम्बर २०२२ मा पाँच सदस्यीय नगर परिषद्मा निर्वाचित भएकी थिइन् । उक्त परिषद्मा आलोपालो प्रणालीअनुसार मेयर चयन गर्ने व्यवस्था रहेको छ ।
नगर प्रबन्धक डोमिनिक लाज्जारेट्टोले एक विज्ञप्ति जारी गर्दै यस घटनामा सहरको कुनै पनि आर्थिक स्रोत वा कर्मचारी संलग्न नरहेको उल्लेख गरेका छन् । “यो अनुसन्धान व्यक्तिगत आचरणसँग सम्बन्धित छ । यी आरोपहरू डिसेम्बर २०२२ मा वाङले पदभार ग्रहण गर्नुअघिका गतिविधिसँग सम्बन्धित छन्,” उनले भने ।
संघीय अधिकारीहरूका अनुसार वाङले गम्भीर अपराध स्वीकार गर्न सहमति जनाएकी छन् । यो कसुरमा उनलाई अधिकतम १० वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।
वाङका वकिलहरू जेसन लियाङ र ब्रायन सनले जारी गरेको विज्ञप्तिमा उनले आरोपको गम्भीरता बुझेकी र विगतका व्यक्तिगत गल्तीहरूको जिम्मेवारी स्वीकार गरेको उल्लेख गरिएको छ ।
“उनले आफ्नो व्यक्तिगत जीवनमा गरेका गल्तीहरूका लागि माफी मागेकी छन् र उनी यस घटनाप्रति दुःखी छन्,” वकिलहरूले भनेका छन्, “आर्काडिया समुदायप्रतिको उनको माया र समर्पण परिवर्तन भएको छैन र कहिल्यै डगमगाएको पनि छैन ।”
अदालती सम्झौताअनुसार वाङ र उनका सहकर्मी याओनिङ ‘माइक’ सनले सन् २०२० को अन्त्यदेखि २०२२ सम्म चीनका सरकारी अधिकारीहरूको तर्फबाट अमेरिकामा चीन समर्थक प्रचारप्रसार प्रवर्धन गर्न काम गरेका थिए । सनले गत अक्टोबरमा सोही अभियोग स्वीकार गरेका थिए र हाल चार वर्षको जेल सजाय काटिरहेका छन् । उनलाई वाङको सन् २०२२ को चुनावी अभियानमा कोषाध्यक्षका रूपमा पनि सूचीबद्ध गरिएको थियो ।
वाङ र सनले चिनियाँ–अमेरिकी समुदायलाई लक्षित गर्दै ‘यू।एस। न्यूज सेन्टर’ नामक समाचार वेबसाइट सञ्चालन गरेका थिए । उनीहरूलाई चिनियाँ सरकारी अधिकारीहरूले उक्त वेबसाइटमा चीन समर्थक सामग्री पोस्ट गर्न निर्देशन दिएको अभियोग लगाइएको छ ।
बाह्खरी