Connect with us

समसामयिक

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाल भारतमा अभिनन्दित

Published

on

दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण-दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ।

खनाललाई डा एपिजे अब्दुल कलाम फाउन्डेसनले अक्टोबर १५ मा सम्मान तथा अभिनन्दन गरेको हो।

उक्त सम्मान खनाललाई मेघालयका सभाध्यक्ष थोमस् ए साङ्माले हस्तान्तरण गरेका थिए। सो क्रममा पश्चिम बंगाल सरकारका मन्त्री अरुप रोए र जनाब जावेद अहमद खानसमेत उपस्थित थिए।

‘तीर्थाटन पर्यटन’मा कीर्तिमान राखेबापत अन्तर्राष्ट्रिय मैत्री समाज नेपालका अध्यक्ष खनाललाई अभिनन्दन गरिएको थियो।

गत असोज १६-१७ गते ‘इन्टरनेसनल कन्भोकेसन-२०२४’ द्वारा खनाललाई भारतमा ट्रफी र सम्मान पत्र प्रदान गरिएको थियो।

भारतका पूर्वसङ्घीयमन्त्री अश्विनी चौबेले नेपाल, भारत, भियतमानलगायत एसियाका विभिन्न विधाका १५ कीर्तिमानीका साथ खनाललाई सो सम्मान गरेका थिए। सोही अवसरमा ‘इन्डिया बुक अफ रिकर्डस’ ले पनि ‘बुद्ध इन्टरनेसनल ट्रस्ट’ बेलायतका दुई संस्थापकमध्येका एक खनाललाई भारतलगायत एसिया आदिका सय कीर्तिमानीसँगै ‘हन्ड्रेड टप रिकर्डस अफ द एयर’ सम्मान दिएको थियो।

डा एपिजे अब्दुल कलाम फाउन्डेसनका कोलकाताका अन्तर्राष्ट्रिय सल्लाहकार खनालले वि.सं. २०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ,   ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए।

साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि  भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी), अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए।

भारतका पूर्वमन्त्री चौबेले करिब ५०० तीर्थस्थलको दर्शन गर्ने खनाललगायतलाई सम्मान गर्न पाएकामा आफू गौरवान्वित भएको बताए। ‘मैले आफूले कुनै कीर्तिमान राख्नका लागि नभई विश्व शान्ति, मैत्री र सद्भाव कायम होस् भन्ने पवित्र कामना गरी यो भ्रमण गरेको हुँ, काम गर्दै जाँदा कीर्तिमान आफैँ कायम हुँदै जाँदो रहेछ, यो सम्मान सबै शान्तिकामी नेपालीको पनि हो,’ काठमाडौं कलंकीका खनालले भने।  

आफ्नो  सफल तीर्थाटनपछि तीर्थयात्री खनालले नेपालका सभामुख, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पशुपतिनाथ मन्दिरका मूलभट्ट, विभिन्न दलका नेता, पूर्वमन्त्री, सञ्चारकर्मी तथा भारतका पूर्वप्रधानमन्त्री एचडी  देवेगौडा, गोवर्द्धन पीठका जगत्गुरु शङ्कराचार्य अध्योक्षानन्दलगायतलाई भेटी जलप्रसाद वितरण गरिसकेका छन्।

खनाललाई यसअघि बैंग्लोर कर्नाटकमा जगतगुरु अनन्तश्री विश्वकेन्नाचार्यले अभिनन्दन गरेका थिए। खनाललाई मैसुर विश्वविद्यालयका उपकुलपति एनके लोकनाथले पनि अभिन्नदन गरिसकेका छन्।

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

भारतका प्रसिद्ध जगतगुरु स्वामी ऋषिपाल आनन्दले भनेका छन्, ‘खनालले सयौं वर्षपछि विश्वमा आजसम्म कसैले नगरेको तीर्थयात्रा एकै वर्षमा पूरा गरेका छन्।’

भारतकै कल्की अवतार भगवानले त्यसमा थपेका छन्, ‘शंकराचार्य र नानक देवपछि नेपालका प्रदीप खनालले यतिका तीर्थस्थलको भ्रमण पूरा गरेका छन्। यो इतिहासमै दुर्लभ घटना हो।’

खनालको भ्रमणबारे सिलिगुडीका धर्मगुरु आचार्य मुक्तिनाथ अधिकारीले भनेका छन्, ‘सायद, यतिको भ्रमण दुई तीन महापुरुषले मात्र गरेका छन्, त्योमध्ये खनाल एक हुन्, इतिहासले तपाईंलाई त्यही दाँजोमा राख्नेछ।’

श्रीलंकाका हिन्दुवादी धार्मिक अभियन्ता बालाजीले खनालको भ्रमणबारे भनेका छन्, ‘असम्भव भन्ने केही छैन, यो कठिन यात्रा इतिहासमा दर्ज हुने छ, आगामी पुस्ताको लागि अध्ययन अनुसन्धानको सोच बन्छ, तपाईंको भ्रमणले प्रेरित गर्ने छ।’

यस्तै, दिल्लीका सामाजिक कार्यकर्ता चमन शर्माले खनालले ‘आजसम्मको सनातन धर्म इतिहासमा कसैले पनि गर्न नसकेको काम’ भनेका छन्।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.