Connect with us

समसामयिक

दिवा खाजामा लाखौं हिनामिना, शिक्षकहरू घाम तापेर खान्छन् तलब

Published

on

सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापककै मिलोमतोमा लाखों रुपैयाँ निकासा गरी घोटाला गरेको खुलेको हो ।

विद्यार्थी नै नभएको विद्यालयमा नगर प्रमुख रामऔतार यादव र शिक्षा शाखाका कर्मचारी रामभरोसी यादवले प्रधानाध्यापकसँग बार्गेनिङ गरी प्रधानाध्यापकले पेस गरेको विद्यार्थीको विवरणकै आधारमा रकम निकासा गरी व्यापक अनियमितता गरेको स्थानीय बताउँछन् । विद्यालयमा शिक्षकहरुले कामै नगरी तलब भत्तासमेत बुझ्ने गरेका छन् । विद्यार्थी नियमित नआउने भएपछि शिक्षकहरुले दिनभर घाम तापेर समय बिताउने गरेको पाइएको छ ।

विद्यालयमा दुई शिक्षक, एक बालविकास र एक कार्यालय सहयोगीसहित चारजना शिक्षक कार्यरत छन्। हाजिरी रजिष्ट«रमाएक सय १७ जना विद्यार्थीको नाम छ। तर उपस्थितिको अवस्था शून्य छ। कार्यालय सहयोगीसहित चारजना शिक्षक रहेको विद्यालयमा प्रत्येक दिन दुईदेखि चारजना विद्यार्थीको उपस्थिति हुने गरेका छन्।
विद्यालय प्रांगणमा बसेर महिलाहरुसँग गफिरहेकी बालविकास सहयोगी कार्यकर्ता सकुन्तलादेवी यादवले आजमात्र विद्यार्थी कम उपस्थित भएको जिकिर गरे। तर, विद्यार्थी हाजिरी रजिस्ट«रमा गत माघ ६ गतेपछि विद्यार्थीको हाजिरी नै गरिएको छैन भनी प्रश्न गर्दा उनले अलमलमलिँदै भनिन्, ‘विद्यार्थी थोरै उपस्थित हुने गरेकाले हाजिरी नगरिएको हो, प्रधानाध्यापकसँग सल्लाह गरेर हाजिरी बनाउँछौं।’

विद्यार्थी उपस्थित नभए पनि प्रधानाध्यापक हरिप्रसाद यादवको दिनहुँजसो नगरपालिका र सिरहा सदरमुकाम जाने काम पर्छ। कार्यालय सहयोगी महेशप्रसाद यादव विद्यालयकै काम विशेषले नगरपालिका गएको बताए। उनले सरको प्रायः नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा काम पर्ने भएकाले गइरहने जानकारी दिए। ‘प्रधानाध्यापक यादव १०–११ बजे नै विद्यालय पुगेर हाजिर ठोक्नु हुन्छ, त्यसपछि कहाँ निस्कने हो कुनै पत्तै हुँदैन,’ उनले भने ।

प्रअ यादवले पछिल्ला दिनमा ३–४ जनामात्र विद्यार्थी उपस्थित हुने स्वीकार गरे। उनले विद्यार्थी उपस्थित नहुनुको कारणबारे भने केही बताउन चाहेनन्। रजिष्टरकै आधारमा पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजाबापतको रकम प्राप्त गर्दै आएको स्विकार गरे। 

पालिकाले प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजामा वार्षिक करिब चार लाख ३२ हजार, पठ्यपुस्तकको वार्षिक एक सय विद्यार्थीको करिब ३५ हजार र प्रतिविद्यार्थी छात्रवृत्तिबापत एक सयजना विद्यार्थीको करिब पाँच हजार निकासा गरेर प्रधानाध्यापकले प्रत्येक वर्ष यो शीर्षकको रकममा मात्रै पाँच लाखभन्दा बढी हिनामिना गरेको देखिन्छ। 

आधारभूत विद्यालयमा करिब तलब भत्ताबाहेकको सात लाख रुपैयाँ निकासा हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक शिक्षकले बताए। उनले भने, ‘प्रधानाध्यापक हरिप्रसाद यादव आफै नियमित उपस्थित नहुँदा विद्यालयमा दिनदिनै विद्यार्थी आउने क्रम कम भएको छ।’ तर विद्यार्थी नआए पनि विद्यार्थीको सेवासुविधा पालिकासँग बार्गेनिङ गरी पूरै रकम निकासा गर्ने गरेको उनको दाबी छ। विद्यालयले खाजाका रुपमा भने विद्यार्थीलाई पाँच रुपैयाँमा पाइने पार्लेजी विस्कुट दिने गरेको छ।

पालिका प्रमुख रामऔतार यादव दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। शिक्षा क्षेत्रमै काम गरेर आएका नगर प्रमुख पालिकामा दोस्रोपटक निर्वाचित हुँदापनि शिक्षाको विकासमा काम गर्न नसकेको स्थानीय बताउँछन्। 


Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.