Connect with us

समसामयिक

कांग्रेसका नेता प्रभुराम बस्नेत पत्नी स्वर्गीय बुद्धकुमारीको वार्षिक स्मृतिमा रक्तदान कार्यक्रम सम्पन्न

Published

on

नेपाली कांग्रेसका पाका नेता एवम् सोलुखुम्बू जिल्लाका पूर्वसभापति प्रभुराम बस्नेतकी श्रीमती बुद्धकुमारी बस्नेतको प्रथम वार्षिक स्मृतिमा रक्तदान कार्यक्रम गरिएको छ । संघीय राजधानी काठमाडौंको पुतलीसडकस्थित शंकर देव क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा एक सय ५४ जना स्वयंसेवीले रक्तदान गरेका माइलो छोरा शुभराम बस्नेतले जानकारी दिएका छन् ।

शुभराम शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति तथा नेपाली कांग्रेसका सक्रिय युवा नेता हुन् । स्वतन्त्र विद्यार्थी युनियन र युवा रेडक्रस ‘सर्कल’ शंकरदेव क्याम्पसको संयुक्त आयोजनामा ‘रेडक्रस अभियानः रक्तदान जीवनदान’ नारासहित आज शुक्रबार दिउँसो कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, युवालगायत विभिन्न क्षेत्रका व्यक्तिहरु स्वतस्फूर्त सहभागी भएका थिए ।

स्वर्गीय बुद्धकुमारी बस्नेत

स्वर्गीय बुद्धकुमारीका पति प्रभुराम बस्नेत १८ वर्षसम्म निरन्तर नेपाली कांग्रेस सोलुखुम्बूका सभापति भएका थिए । हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई ०४८, ०५१ र ०५६ को निर्वाचनमा सोलुखुम्बूबाट निर्वाचित गराउन प्रभुराम–बुद्धकुमारीलगायत परिवारको महत्वपूर्ण योगदान थियो ।

२०३१ साल पुस १ गते बिहान झिसमिसेमै तत्कालीन सरकारद्धारा सोलुखुम्बूको तिङलास्थित टिम्बुरबोटे जंगलमा घटाइएको ‘काण्ड’ मा संलग्नताको आरोपमा प्रभुरामसहित दत्तसिंह कार्की, जहरबहादुर मगरलगायतलाई मृत्युदण्ड घोषणा गरिएको थियो । इतिहासका पानामा उक्त घटना ‘टिम्बुरबोटे काण्ड’ का नाममा स्थापित छ ।

टिम्बुरबोटे काण्डमा सहभागी भएकैले क्याप्टेन यज्ञबहादुर थापालगायतलाई मृत्युदण्ड दिएको थियो । सरकारले मृत्यु दण्डको निर्णय फिर्ता लिएपछि मात्र प्रभुरामसहित बाँच्न सकेका थिए । भलै, नेपाली कांग्रेसले प्रभुराम बस्नेतलाई अहिलेसम्म कुनै राजकीय पद/जिम्मेवारी दिएको छैन ।

तीन छोरा र एक छोरीकी आमा बुद्धकुमारीको गत वर्ष पुस १५ गते अमेरिकामा क्यान्सरका कारण निधन भएको थियो । उनी केही वर्षदेखि जेठा छोरा प्रशुरामसँग अमेरिकामा बस्दै आएकी थिइन । स्वर्गीय आमा बुद्धकुमारीको वार्षिक स्मृतिमा उनकी छोरी इन्दिरा बस्नेतले निःसहाय सेवा सदन शान्तिनगरका जेष्ठ नागरिकहरुलाई खाना खुवाएकी छन् । स्वर्गीय बुद्धकुमारीका कान्छा छोरा बलराम राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.