Connect with us

अर्थ

सुन्तला बेचेर एउटै वडाका किसानले कमाए दुई करोड

Published

on

तनहुँको व्यास नगरपालिका–१३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । पहाडी गाउँको बगैँचामा यस वर्ष उत्पादन राम्रो हुनु, बजार आफैँ बारीमै आइपुग्नु र किसानको मेहनत जोडिनु बेनीकोटको कृषि आय–स्रोत बढेको हो ।

सुन्तला टिप्ने र दाना मिलाउने चटारोले बेनीकोट अहिले पूरै सुन्तलामय बनेको छ । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक फलबहादुर थापाले बेनिकोटबाट मात्रै दुई करोड बढीको सुन्तला बिक्री भएको बताए ।

आफूले पनि १६ लाख ५० हजारको सुन्तला बिक्री गरेको उनले सुनाए । थापाका अनुसार कालबहादुर रानाले चार लाख, मनसिंह थापाले दुई लाख १० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । न्यूनतम २० देखि अधिकतम ८०० बोट भएका किसानले यसै मोसममा मनग्य आम्दानी उठाइरहेका छन् । थापाले भने, “सुन्तलाको माग उच्च छ, ठेकेदार नै बारीसम्म आइपुग्छन्, बिक्रीका लागि समस्या छैन ।’’

जिल्लामा सुन्तला बगैँचा सुदृढीकरण अभियान पनि तीव्र गतिमा अगाडि बढिरहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार ७ हजार ९२५ रोपनीमा फैलिएको सुन्तला क्षेत्रलाई व्यवस्थापन गर्न ३० लाख, र नयाँ बगैँचा विस्तारका लागि ७ लाख ५ हजार विनियोजन गरिएको छ ।

हालसम्म ६ सयभन्दा बढी किसान लाभान्वित भएका छन् । ४३ रोपनी क्षेत्रमा नयाँ रोपाइँ गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेको भनाइ छ । गत वर्ष मात्रै तनहुँबाट ४२ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला बिक्री भएको तथ्याङ्क छ । ग्रिनिङ रोग नियन्त्रण, मल–औषधी वितरण, पुनःरोपाइँ तथा बगैँचा व्यवस्थापन कार्यक्रमले उत्पादन वृद्धि भएको कार्यालयले जनाएको छ । काठमाडौँ, चितवन, पोखराजस्ता ठुला बजारमा पुग्ने बेनीकोटको सुन्तला गुणस्तरका कारण झनै लोकप्रिय बन्दै गएको छ ।

सडक जोखिमपूर्ण भए पनि किसानको उत्साह र सरकारी सहकार्यले तनहुँ अहिले प्रदेशकै सम्भावनायुक्त ‘सुन्तला हब’ को रूपमा उभिँदै छ । शर्मा भन्छन्, ‘‘डाँडाकाँडा अहिले साँच्चै सुन्तलामय छ, उत्पादन, आम्दानी र सम्भावनाको चमकले भरिपूर्ण ।’’
अमरराज नहर्की/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.