Connect with us

अर्थ

हिमालयन कृषि उद्योग लिमिटेडको प्रथम साधारण सभा सम्पन्न

Published

on

हिमालयन कृषि उद्योग लिमिटेडले प्रथम साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ । लिमिटेडले अस्ति १३ पुस शनिबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा प्रथम साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको प्रमुख अतिथि प्रथम राष्ट्रपति डा. रामवरण यादव, ८३ थिए ।

साधारण सभामा नेपाल कृषि अर्थशास्त्र समाजका सभापति, अन्तराष्ट्रिय कृषि प्रसार समाजका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल सरकारका पूर्वकृषि सचिव, डा. योगेन्द्रकुमार कार्की, चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की, कोसी प्रदेशका पूर्वराज्य मन्त्री उत्तमकुमार बस्नेत, नेपालका अगुवा वनस्पतिविद्, काठमाडौं भ्याली कलेजका प्रमुख एवम् ललितपुर महानगरपालिकाका सल्लाहकार डा. पुष्पमान अमात्य, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, बायो मल विज्ञ डा. प्रमोद अर्याल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीलगायत दुई सय बढी गन्यमान्य अगुवाहरुसहित कृषि विज्ञ तथा कृषकहरुको सहभागिता थियो ।

साधारणसभालाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति डा. यादवले आफूले जाने–बुझेदेखि अहिलेसम्म कृषि र कृषकको अवस्था त्यति धेरै सुधार हुन नसकेकोमा दुःख प्रकट गरे । रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्बरा शक्ति क्षय हुँदै गएको, उपभोक्ताले प्रत्येक गाँसमा विषादी निल्नु परेकोमा प्रथम राष्ट्रपति यादवले गहिरो चिन्ता व्यक्त गरेका थिए । “म किसान हुँ । किसानको छोरो हुँ । मैंले जान्दासम्म तराई, मधेस खेतीका लागि एकदमै उर्बर भूमि थियो । किनकी त्यसबेला प्रचुर मात्रामा पानी पाईन्थ्यो । म मावल जाँदा, दिदीकोमा जाँदा घोडामा जान्थे । घोडाले तर्न ग्राहो पर्ने नदी, खोलाहरु थिए”, सादगी र वेदाग छवीले आफ्नो कार्यकाल बिताएका गणतन्त्र नेपालका संस्थापक राष्ट्रपति यादवको कथन थियो, “२५–२६ सालसम्म मैंले धनुषाको सबैला र त्यस आसपासको क्षेत्रबाट काठमाडौंमा धान ल्याएर बेच्ने गरेको थिएँ । धान बेच्न आउँदा म नयाँ सडकको डाँफे होटलमा बस्थे । होटलका मालिकले मेरो विस्वासमा मसँगै आउने अरुलाई पनि बाँकीमा खान-बस्न दिन्थे । धान बेचिसकेर हामी पाँच–छ महीनामा एकै पटक पैसा दिन्थ्यौं ।”

अहिले तराई मधेसमा पानीका मुहानहरु सुकेको राष्ट्रपति यादवले बताए । उनले चुरे मासिएकाले पानीका मुहानहरु सुकेको पनि खुलाए । “अहिले तराई मधेसमा उब्जनी हुन छाड्यो । जमिन बाँझै छन् । जनकपुर गएको बेला स्थानीय दाल, तरकारी ल्याउन खोज्दा मैंले नै पाइन । जनकपुरमा भारतमा उब्जनी भएको दाल, चामल, चिनियाँ लसुन पो पाइँदो रहेछ”, पूर्वराष्ट्रपति यादवको थप भनाइ थियो, “म राष्ट्रपति हुँदा चुरे बचाउन, पानीको मुहान बचाउन राष्ट्रपति चुरे बचाउ सुरु गरे । तर, पनि विनाशको क्रम रोकिएको छैन । हामीले कृषि र कृषकलाई बचाउने हो भने चुरे जोगाउन जरुरी छ ।” पूर्वराष्ट्रपति यादवले कृषि र कृषकको हितमा काम गर्ने गरी हिमालयन कृषि कम्पनी लिमिटेड स्थापना भएकोमा खुशी व्यक्त गर्दै पूर्ण सफलताको कामना गरेका थिए ।

नेपाल सरकारका पूर्वकृषि सचिव एवम् नेपाल कृषि अर्थशास्त्र समाजका सभापति डा. योगेन्द्रकुमार कार्कीले कृषिमा आत्मनिर्भरता बढ्दै गए पनि कृषि र कृषकको जीवन आधुनिक हुन बाँकी नै रहेको बताए । कार्कीका अनुसार कृषि र कृषकलाई आधुनिक बनाउन केही राम्रा काम भएका छन् । तिनलाई अझ् वृद्धि गर्दै लैजानु पर्ने उनको भनाइ थियो । “विगतमा कृषि कर्म गरिबको काम भनिन्थ्यो । अहिले कृषि पढेलेखेकाहरुको आधुनिक काम बन्दै गएको छ । यो निकै खुशीको कुरा हो”, कार्कीले भनेका थिए ।

मानव जीवन बचाउने प्रमुख आधार नै कृषि भएको डा. प्रमोद अर्यालले बताए । तर, कृषि र कृषकहरु अझै उपेक्षित भएकोमा उनको दुखेसो थियो । हिमालयन कृषि उद्योग लिमिटेडका अध्यक्ष सागर उप्रेतीले कृषि क्षेत्रमा धेरै सम्भावना देखेर दिगो कृषि विकास र प्रबद्र्धनका लागि आफूहरुले कम्पनी स्थापना गरेको बताएका थिए । कृषिलाई आधुनिक बनाउन र विषादीरहित खानेकुरा खाने उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न हिमालयन कृषि उद्योग लिमिटेड स्थापना गरिएको उप्रेतीको भनाइ थियो ।

हिमालयन कृषि उद्योग लिमिटेड सञ्चालक समिति सदस्य कृष्ण चन्द्र मर्हजन, जो उचित जैविक मल प्रा.लि. का अध्यक्ष समेत हुन्, ले उचित जैविक मल प्रयोगको फाइदाबारे व्याख्या गरेका थिए । आफ्नो १४ कठ्ठा जमिनमा लगाएको ड्रागन, एभोगार्डो, सावर सप, अम्बा, आँपलगायतलाई उचिव जैविक मलले पुर्याएको फाइदाबारे उपरथी (अ.प्रा) अनन्त कार्कीले अनुभव सुनाएका थिए । उचित जैविक मल प्रयोग गरेको १५ दिनपछि नै परिणाम राम्रो देखिन थालेको उपरथी कार्कीको भनाइ थियो ।

साधारण सभालाई संविधान सभा सदस्य तथा हिमालयन कृषि उद्योग लिमिटेडका सञ्चालक समिति सदस्य हेमराज भण्डारी, उद्योगी एवम् व्यवसायी जयन्द्र गौचन, माटो बचाउ अभियानमा जुटेकी राममाया भेटवालले सम्बोधन गरेका थिए । हिमालयन कृषि उद्योग लिमिटेड कृषि कर्म मार्फत नेपालको माटोको उर्बरा शक्ति बढाउने र किसान तथा उपभोक्ताहरुलाई गुणस्तरीय जीवन जियाउँने लक्ष्यका साथ आठ महीना अघि स्थापना भएको हो ।

हिमालयन कृषि उद्योग लिमिटेडले ISO 14001: 2015 द्धारा प्रमाणित उचित जैवित मल उत्पादन साझेदारी र सहकार्य गरेको छ । हिमालयन कृषि उद्योग लिमिटेड आफैं ISO 9001: 2015 प्रमाणित कम्पनी हो । उचित जैविक मल ISO 14001: 2015 द्धारा प्रमाणित नेपालकै पहिलो बायो मल हो । उचित जैविक मलले माटोको उर्वरता र उत्पादन बढाउने उच्च गुणस्तरको काम गर्छ । । यो मल उच्चस्तरको पर्यावरण मैत्रीसमेत छ । मलले पर्यावरणको रक्षा त गर्छ नै, यो मललाई निरन्तर प्रयोग गरेमा पाँच वर्षभित्रमा उत्पादकत्वलाई दोब्बर वृद्धि गर्न सकिने उत्पादक कृष्णचन्द्र मर्हजनको दाबी छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.