रामप्रसाद श्रेष्ठ वरिष्ठ अधिवक्ता एवम् न्याय परिषद् पूर्वसदस्य
पूर्वप्रधानमन्त्री, नेकपाको प्रथम महाधिवेशन (१३–१७ माघ, २०१०) का महासचिव एवम् नेकपा (एमाले) का पूर्वअध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा केही शब्दहरु लेख्न मन लागेकोले यो जमर्को गर्दैछु । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठसँग मेरो संगत नभएकोले उहाँका बारेमा खास लेख्न सक्तिन । तर, मनमोहनजीसँग मेरो लामो संगत भएको र म त्यही पाठशालाको कम्युनिष्ट विद्यार्थी भएकोले उहाँका बारेमा धेरै जानकारी पाएको छु । तुलनात्मक रुपले अरुभन्दा उहाँसँग निकै प्रभावित पनि छु ।
२००९ साल असोजमा महोत्तरीको बटेश्वरमा बसेको केन्द्रीय समिति बैठकबाट स्व.पुष्पलाल श्रेष्ठलाई विस्थापित गरेर मनमोहन अधिकारीलाई किन महासचिव बनाइयो ? त्यसबारेमा भित्री कुरा थाहा पाउन नसकेकाले केही भन्न चाहन्न । तर, त्यसपछि कम्युनिष्ट आन्दोलन र प्रजातन्त्र प्राप्तिका लागि मनमोहनजीले खेलेको भूमिका निकै सह्रानीय छ । २०१७ साल पुस एक गतेको ‘कु’ मा पक्राउ परेपछि २०२५ सालमा उहाँ जेलबाट बाहिर निस्कनु भयो । उहाँ जेलबाट निस्कनु भएपछि हामीले खासगरी मेरै सक्रियतामा धरानस्थित महेन्द्र कलेजमा स्वागत कार्यक्रम राखेका थियौं ।
त्यसबेला पुष्पलाल समूह, तुलसीलाल समूह, रायमाझी समूह, मोहनविक्रम सिंह समूह र रोहित समूह गरी विभिन्न कम्युनिष्ट घटक समूहबीच वैचारिक रुपमा एकापसमा ठूलै असमझदारी थियो । हामीहरु त्यसबेला पूर्वकोसी प्रान्तिय समिति अन्तरगत आवद्ध थियौं । पूर्वकोसी प्रान्तिय समितिको सचिव स्व. भरतमोहन अधिकारी हुनुहुन्थ्यो । मनमोहनजी भरतमोहनकै साख्खै दाजु हुनु भएकाले उहाँलाई त्यसै अनुरुप पूर्वकोसीकै नेताका रुपमा सम्झन्थ्यौ ।
मनमोहनजी जेलबाट छुटेपछि नेपालका कम्युनिष्टहरु सबैलाई एकता गरेर एउटै पार्टी बनाउनु पर्छ भन्ने धारणामा हुनुहुन्थ्यो । त्यसबेला पुष्पलालले मनमोहनलाई राजदरबारसँग झुकाव राख्नेका रुपमा शंकाको दृष्टिले हेर्थे । तर, धरानस्थित महेन्द्र क्याम्पसमा भएको कार्यक्रममा मनमोहनजीले कम्युनिष्ट पार्टीको एकताको कुरा गर्नु भयो र थप बढो चाख लाग्दो कुरा के भन्नु भयो भने ‘प्रजातन्त्र प्राप्तिका लागि म नेपालमा नै बसेर काम गर्छु । नेपाल बाहिर जान्न । बरु मर्नु परेमा, जेल बस्नु परेमा तयार छु ।’ उहाँको त्यो कुरा हामीहरुलाई ठिक लागेकोले ताली पिट्यौं ।
यसैगरी मनमोहनजीको अर्को प्रसंग उल्लेख गर्न चाहन्छु । झापा आन्दोलन सुरु भएपछि हाम्रो पूर्वकोसी प्रान्तिय समितिका केही साथीहरु झापाका लीला उदासी, विरानगरका कृष्ण पोखरेल, धरानको म, स्व. दलु छाया, स्व. रामप्रसाद खनाल, स्व. चिनियादेवी प्रधान, इन्द्रकुमार श्रेष्ठलगायत केही साथीहरु त्यस आन्दोलनसँग वैचारिक रुपमा सहमत हुन सकेनौ। मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, बासु गिरी, कृष्ण न्यौपानेहरु हामीबाट छुट्टिएर झापा आन्दोलनमा सहभागी हुनुभयो । तर, पछि बासु गिरी र कृष्ण न्यौपाने छिट्टै फर्कनु भयो ।
त्यसबेला पूर्वकोसीका नेताहरु र झापा आन्दोलनका नेताहरुबीच ठूलो वैचारिक र व्यक्तिगत टकराव भयो । पूर्वकोसीका नेताहरुले झापा आन्दोलनका नेताहरुलाई गुप्तचरसम्म भन्न भ्याए । तर, मनमोहनजीले प्रष्ट रुपमा आफ्नो फरक विचार के राख्नु भयो भने झापा आन्दोलनभित्र घूसपैठ छ । तर, त्यहाँ सही नेता कार्यकर्ताहरु पनि छन् । हामीहरुले उनीहरुलाई सजग गराउनु पर्छ । तर, दोष थोपर्न हुन्न । पछि झापा आन्दोलनबाट बनेको मालेसँग एकता गर्न हुन्थ्यो–हुन्नथ्यो ? नैतिक प्रश्न कहिले उठेन ।
यसरी नै अर्को प्रसंग उठाउन चाहन्छु, २०३६ सालको जनमत संग्रह । तत्कालीन कम्युनिष्ट घटकमध्येको प्रभावशाली मानिने मालेले सुरुमा जनमत संग्रहमा भाग लिन चाहेको थिएन । मनमोहन अधिकारीले मालेका नेताहरुलाई खबर पठाएर भाग लिन लगाउन कोशिस गर्नु भयो । मनमोहनजीको त्यही कोशिसपछि तत्कालीन मालेले पनि जनमत संग्रहमा भाग लियो । जनमत संग्रहमा नेपाली कांग्रेस र सबै बामपन्थी दलहरु एक भएर बहुदलका पक्षमा उभिन पहल गर्नुभयो र आमसभालाई सम्बोधन गर्दै ‘म नेपाली कांग्रेसलाई एक हुन आग्रह गर्छु’ भन्नु भयो । स्व. वीपी कोइरालालाई बहुदलवादीहरुको अध्यक्ष प्रस्ताव राख्नु भयो । त्यसबेला स्व. वीपी कोइरालाले मनमोहन अधिकारीको प्रस्ताव मानिदिनु भएको भए नेपाली जनताले पञ्चायतलाई २०४६ सालसम्म कुर्नु पर्दैन्थ्यो भन्ने दृष्टान्त ०४६ को जनआन्दोलनको परिणामले पुष्टि गर्यो ।
जब नेपालमा बहुदल आयो, कम्युनिष्ट एकताको प्रसंग उठ्यो, तब सबैभन्दा पहिला माले र माक्र्सवादीहरुले एकता अभियान अघि बढाए । जसमध्ये कार्यकर्ताहरु मालेमा बढी थिए । तर सबै दलले पत्याएका व्यक्तित्व माक्र्सवादीमा धेरै थिए । मनमोहनजी राष्ट्रिय/अन्तर्राष्ट्रिय दुवै रुपमा पत्यारिलो व्यक्तित्व हुनुहुन्थ्यो । कतिसम्म भने मनमोहनजी भारतको स्वतन्त्रता संग्राममा समेत संलग्न व्यक्ति हुनुहुन्थ्यो । प्रतिस्पर्धात्मक राजनीतिमा जाँदा राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा पत्यारिलो व्यक्ति हुनुपर्छ भन्ने सोंच स्व. मदन भण्डारीमा रहेछ । मदन ज्यादै दूरदर्शी नेता हुनुहुँदो रहेछ । मदनकै प्रस्तावले मनमोहनजीलाई नेकपा एमालेको अध्यक्ष बनाइयो । त्यति मात्र होइन, मदनले २०४८ को आम निर्वाचनमा मनमोहनजीलाई उम्मेदवार हुने निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गर्नुभयो ।
जसअनुसार मनमोहनजीले सुनसरी क्षेत्र नं. एक रोजेर उम्मेदवार हुनुुभयो । मनमोहनलाई त्यहाँको उम्मेदवार बनाइँदा पूर्वमालेका साथीहरुले ठूलै विरोध गरे र धरान पार्टी कार्यालयमा टेबुल ठोकेर रमिता देखाए । त्यसबेला टेबुल ठोक्ने साथीहरु केही बितेर गए । केही हाल पनि जीवित छँदैछन् । त्यति मात्र होइन, मनमोहनजी रक्सी पिउनुुुहुन्छ भनेर उहाँको बेइज्यत गरे । तर, स्व. मदन भण्डारीलाई मान्नै पर्छ कि उहाँले मनमोहनजीको प्रतिरक्षा मात्र गर्नु भएन, म पनि पार्टीमा थोरै रक्सी पिउछु भनेर सत्य खुलासा गर्नुभयो र मनमोहनजीको बचाउ गर्नुभयो ।
यहाँ अर्को एउटा स्मरणीय प्रसंग पनि छ, पूर्वमालेका नेताहरुले मनमोहनजीको यतिसम्म बेइज्जती गरे कि उहाँलाई बुढो भएको कारणले मात्र अध्यक्ष बनाएको हो भने । त्यसको चरितार्थ देखियो, मदन भण्डारीको मृत्यु पश्चात पार्टीको अध्यक्ष होस् वा प्रधानमन्त्रीको रुपमा उहाँलाई नाम मात्रको अध्यक्ष र प्रधानमन्त्री बनाइयो । आज एमालेका ती नेताहरुलाई मनमोहनको स्तुत्य प्रशंसा गर्न कस्तो लाज नलागेको ? म आश्चर्य चकित छु ।
वास्तवमा मनमोहनजीलाई कार्यकारी रुपमा काम गर्न दिएको भए एमाले र सरकार दुवैका लागि उहाँले धेरै राम्रो काम गर्नुहुन्थ्यो । २०५४ मा पार्टी पनि एक रहिरहन्थ्यो । मनमोहनजी धेरै नै अध्ययनशील र दूरदर्शी व्यक्ति हुनुहुन्थ्यो । जसको उदाहरणका रुपमा २०५१ मा ना्र महीना नै सही, सरकारको नेतृत्व गर्दा वृद्ध भत्ता र आफ्नो गाउँ आफैं बनाउँ दृष्टान्त छँदैछ । तर, एमालेले उहाँको शालीनता, दूरदर्शिताको फाइदा लिन सकेन ।
त्यति मात्र होइन, भारतीय स्वतन्त्रता संग्रामको योद्धा भएका कारणले मनमोहनजी धेरै नेताहरुले सम्मान गरेका व्यक्तित्व हुनुहुन्थ्यो । मनमोहनजी मनको सफा हुनुहुन्थ्यो । एमालेले उहाँको व्यक्तित्व, अनुभव, दूरदर्शिताबाट फाइदा लिन सकेको भए अवश्य नै निकै अग्लो पार्टी बन्न सक्थ्यो । मनमोहनजीको व्यक्तित्वको तुलनामा मेरा शब्दहरु निकै नै थोरै हुन् ।
२६ औं स्मृति दिवसका अवसरमा हार्दिक श्रद्धान्जली साथै अलबिदा मनमोहन कमरेड