भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एकजना युवक मृत भेटिएका छन् । भोजपुर अरुण गाउँपालिका–३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् । उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ ।
हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले सञ्चारकर्मीलाई बताएका छन् । उनले भने, ‘हत्या गरेको फालेको जस्तो देखिन्छ, हामी अनुसन्धान गर्दैछौँ ।’
ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा केशवराज हायुको हत्या र पारुहाङबिच सम्बन्ध देखिएको छ । हायु पारुहाङ साथी हुन् । सिन्धुली गोलन्जोर–३ का हायु पुस २ मा शेरेफाँटमा मृत भेटिएका थिए । फार्म हाउसको इनारमा बोराभित्र हालेर फालेको अवस्थामा हायुको शव भेटिएको थियो ।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृत भन्छन्, ‘दुवै हत्या एक अर्कामा अन्तरसम्बन्धित देखिएका छन् ।’ पारुहाङको टाउकोमा चोट देखिएको छ । आज सोमबार बिहान जंगलमा भेटिएका पारुहाङको शव पोस्टमार्टमका लागी प्रहरीले भक्तपुरको केएमसी अस्पतालमा पठाएको छ । दुवै जनालाई एउटै समूहले हत्या गरेको प्रहरीको आशङ्का छ ।
हत्यामा संलग्न आशंकामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने एकजना सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय देवराज ढुंगेल हुन् । उनी मृतक हायुका बहिनी ज्वाइँ हुन । अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सामान्य आर्थिक लेनदेनमा उनीहरुको हत्या गरिएको प्रहरी आशंका छ ।
कम्तीमा ३ जना मिलेर उनीहरूको हत्या गरेको आशङ्का गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताएका छन् । ती अधिकृत भन्छन्, ‘समूहले हत्या गरेर मोटरसाइकलमा ल्याएर तरकारी फार्मको इनारमा फालेको हाम्रो अनुसन्धान छ ।’