Connect with us

समसामयिक

रौतहटको लालबकैया नदीमा प्रहरी, वन र स्थानीय निकायलाई ‘मिलाएर’ अबैध उत्खनन्

Published

on

सञ्जय मिश्रा 

रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ।

फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको जंगलसहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट लालबकैया नदीमा व्यापारी तथा तस्करहरूले तीब्र रुपमा नदी उत्खनन् गरिरहेको पाइएको छ।

तीन वटै नगरपालिकाले लालबकैया नदीको टेण्डर नगरे पनि स्थानीय प्रहरी र वन कर्मचारीलाई पैसा दिएर बिहानैदेखि दर्जनौं ट्याक्टरमा बिना रोकटोक नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिक्स ग्राभेल ढुवानी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

भैंसही बुटवास्थित स्थानीय राजु लामाले ८/१० जना लेबर राखेर एका बिहानैदेखि बेल्चा प्रयोग गरी उत्खनन् गरेको मिक्स ग्राभेल चार वटा ट्याक्टर बाट ढुवानी गराउँछन्।

उनले दैनिक २० टिप भन्दाबढी नदीजन्य पदार्थ हिमालीबास गाउँभन्दा उत्तर चौरमा स्टक गर्ने गरेको प्रत्यक्षदर्शी रुपेश यादवले बताएका छन्।

लामाकै जस्तो अन्य कैयौं व्यापारी तथा तस्करहरूले फतुवा विजयपुर नगरपालिका अन्तर्गत लालबकैया नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको यादवले जानकारी दिएका छन्।

त्यसैगरी, गुजरा कटहरियाको सिमानामा पर्ने लालबकैया नदीको ढोलबाजा, जंगलसहिया, पशुपति टोल, सिमरी घाटमा बिहानैदेखि दर्जनौं लेबर खटाएर मिक्स ग्राभेल उत्खनन् गर्ने र दिनभरि ट्याक्टरमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

पछिल्लो कैयौं महिनादेखि यो क्रम जारी रहेको छ तर उनीहरूलाई कुनै निकायले रोकछेक गर्दैनन्।

आफ्नो घर कामको लागि नदीबाट एक ट्याक्टर बालुवा ल्याउँदा स्थानीय प्रहरीले अनेक बाधा अड्चन लगाउने गरेको छ। तर, अबैध उत्खनन् गर्नेहरू दिनभरि नदीजन्य पदार्थ ढुवानी गर्दा प्रहरी मुकदर्शक बनेको स्थानीय समाजसेवी राजकुमार महतोले गुनासो गरे।

‘दिनभरि अबैध उत्खनन् गरेर उनीहरू जंगलसहिया, पोखरभिन्डा, भसेढावा गाउँस्थित बाटोमै थुपारेर राख्छन्, पछि माग अनुसार बिक्री गर्छन्,’ समाजसेवी महतोले भने।

यसरी जथाभावी बाटोछेउमा नदीजन्य पदार्थको स्टक गर्नाले दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन्।

अबैध रुपमा उत्खनन् गरी नदीजन्य पदार्थ ढुवानी गर्नेहरूले स्थानीय प्रहरी, वन कर्मचारी र कतिपय जनप्रतिनिधिलाई समेत मिलाएको स्थानीय रुपेश यादवले जानकारी दिए।

अबैध उत्खननको कारण एकातर्फ नेपाल सरकारको लाखौं रुपैयाँ राजश्व घुमिरहेको छ भने अर्कोतर्फ ढोलबाजा घाटमा करोडौंको लागतमा निर्माण गरिएको लालबकैया नदीको पुल भासिने जोखिम बढेको छ।

कुनै पनि भौतिक पूर्वाधारको ५०० मिटर टाढा उत्खनन् गर्नुपर्ने नियमलाई यहाँ बेवास्ता गर्दै तस्करहरुले पुलछेउमै उत्खनन् गरिरहेको देखिएको छ।

नदीको अबैध उत्खनन् नियन्त्रण तथा नियमन गर्ने जिम्मा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय , डिभिजन वन कार्यालय र स्थानीय निकायको हुन्छ।

तर, रौतहटको हकमा नियमनकारी ती निकायहरू हालसम्म मौन रहेको स्थानीय सञ्चारकर्मी कृष्ण तिवारीले गुनासो गरेका छन्।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले उक्त ठाउँमा अबैध उत्खननबारे आफूलाई कुनै जानकारी नभएको बताए।

जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवले अनभिज्ञता प्रकट गर्दै नियमन गर्ने प्रतिवद्धता जनाए।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.