Connect with us

समसामयिक

गोदामबाटै चिनी गायब काण्डमा सशस्त्रका एसपी बस्नेतसहित १६ जना कारबाहीमा

Published

on

सशस्त्र प्रहरी बल मुख्यालयले गोदामबाटै चिनी गायब पारिएको घटनामा प्रहरी बलका उपरीक्षक (एसपी), नायव उपरीक्षक (डीएसपी) सहित १६ जना कर्मचारीलाई कारबाही गरेको छ । चोरी निकासी नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीका एसपीकै नेतृत्वको टोलीले गढबढी गरेको भेटिएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटका गण प्रमुख एसपी सन्तोषकुमार बस्नेतसहितलाई कारबाहीस्वरूप मुख्यालयमा फिर्ता बोलाइएको छ ।

बस्नेतको जिम्मेवारीमा मुख्यालयले अर्का एसपी रामहरि अधिकारीलाई पठाएको छ । मुख्यालयले एसपी बस्नेतसहित कैलाली जिल्लास्थित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरका डीएसपी नविन चन्दलाई समेत फिर्ता बोलाएको छ । यी दुई बाहेक सात जना निरीक्षक( इन्सपेक्टर) लाई समेत फिर्ता बोलाइएको छ । अरु त्योभन्दा तल्लो जिम्मेवारीका छन् ।

मुख्यालयमा तानिएकाहरूमध्ये सबैभन्दा बढी बारा जिल्लाका छन् । सशस्त्र प्रहरी बल मुख्यालयका अनुसार, बाराको नेपाल बोर्डर आउट पोस्ट (बीओपी) कबहीगोठका प्रमुख निरीक्षक जीवनलाल बुढा पनि तानिएका छन् । यसैगरी, बारा झिटकैया बीओपीका सशस्त्र प्रहरी नायव निरीक्षक केदारबहादुर परियार, फरवार्ड सुरक्षा बेस बलिरामपुरका सशस्त्र प्रहरी नायव निरीक्षक हरिप्रसाद लम्साल, फरवार्ड सुरक्षा बेस छतवा बाराका सशस्त्र प्रहरी नायव निरीक्षक गणेश गिरी र झरखोर पोस्ट बाराका सशस्त्र प्रहरी सहायक निरीक्षक शिवशंकरप्रसाद चौधरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

पर्सास्थित बोर्डर आउट पोस्ट प्रसौनी भाठाका सशस्त्र प्रहरी निरीक्षक सञ्जीव बानिया क्षेत्री, दक्षिण झिटकैयाका सशस्त्र प्रहरी निरीक्षक नरेश सुवाल पनि कारबाहीमा परेका छन् । सुरक्षा बेस बहुअर्वा भाठाका सशस्त्र प्रहरी नायव निरीक्षक भीमबहादुर क्षेत्री र फरवार्ड सुरक्षा बेस जयमंगलापुरका सशस्त्र प्रहरी नायव निरीक्षक झक्कुप्रसाद ओली पनि जिम्मेवारीबाट हटाइएको मुख्यालयले जनाएको छ ।

यसैगरी, पश्चिम नवलपरासी जिल्लास्थित बोर्डर आउट पोस्ट भुजहवाका सशस्त्र प्रहरी निरीक्षक रूपक नापित, बोर्डर आउट पोस्ट कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक रामशरण विष्ट, बीओपी फूलबारीका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द पनि तानिएका छन् ।

कञ्चनपुर जिल्लास्थित बोर्डर आउट पोस्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तको पनि जिम्मेवारी खोसिएको छ । रौतहटका एसपी सन्तोषकुमार बस्नेतमाथि सशस्त्र प्रहरी बलकै टोलीले बरामद गरेको सात सय बोरा चिनीमध्ये ६०० बोरा गायब पारेको उजुरीपछि छानबिन भएको थियो । छानबिनमा उनीलगायत दोषी देखिएका थिए ।

बस्नेतसँगै डीएसपी अमर लामामाथिसमेत मुख्यालयले छानबिन गरेको थियो । डीएसपी लामाले एसपी बस्नेतको निर्देशनअनुसार काम गरिएको बयान दिएका थिए ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.