Connect with us

समसामयिक

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

Published

on

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गरेका केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

महानिरीक्षक कार्कीले समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुने विश्वास व्यक्त गरे । उनले ट्राफिक व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन र नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह गर्न ट्राफिक प्रहरीलाई थप प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

महानिरीक्षक कार्कीले शिष्ट बोलीबचन, अनुशासित र नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए । उनले प्रहरीले दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर जनचेतामूलक कार्यक्रममा जोड दिनुपर्ने र नागरिकहरूले पनि ट्राफिक नियमको पूर्ण पालनामा सचेत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल तथा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्साल र नवलपरासी पूर्वका निमित्त प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले आफ्नो धारणा राखेका थिए ।

यस्तै, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्री, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापालगायतले सुरक्षा व्यवस्थालगायत विषयमा जानकारी गराएका थिए । कार्यक्रममा प्राविधिक प्रहरी नायब उपरीक्षक ई चिरन्जिवी प्रताप महतोले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा महानिरीक्षक कार्कीले कार्यालय परिसरमा वृक्षरोपण गर्नुका साथै भवन निर्माणमा योगदान गर्ने विभिन्न व्यक्तिलाई प्रशंसापत्रसहित सम्मान गरेका थिए ।

गण्डकी प्रदेश सरकारको तीन करोड दुई लाख १२ हजार ६७६ लागतमा त्यहाँ कार्यालय भवन, ब्यारेक, मेसलगायत संरचना निर्माण गरिएका हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.