Connect with us

समसामयिक

बालिका दुर्व्यवहारमा काठमाडौं महानगरपालिकाको जाहेरीको दाबी पुग्ने अदालतको ठहर

Published

on

काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका विषयमा तयार पारिएको प्रतिवेदनबाट मुद्दाका लागि दावी पुग्ने जिल्ला अदालत काठमाडौँले फैसला सुनाएको छ । 

महानगरपालिका– ४ को एक विद्यालयमा अध्ययनरत बालिकालाई आफ्नै बुबा र बडाबाका छोरा (दाजु) ले यौन दुर्व्यवहार गरेको विषयमा महानगरपालिकाले प्रतिवेदन र यस सम्बन्धी विवरण पत्र राखेर जाहेरीस्वरुप अदालतमा प्रतिवेदन पेश गरेको थियो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले  ‘बाल यौन दुरुपयोग गरेको’ मुद्दाको किसिम र ‘बाल यौन दुर्व्यवहार’ सम्बन्धी मुद्दामा दावी पुग्ने फैसला गरेको हो ।  

महानगरपालिकाका अनुसार जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएका बालबालिकाहरुका सन्दर्भमा बालमनोविज्ञ र समाजसेवीले बालबालिकासँग परामर्श गरेर तयार पारेको प्रतिवेदनलाई जाहेरी मान्न आग्रह गर्दै आएको थियो । अदालतको फैसलाबाट प्रतिवेदनले जाहेरी सरह मान्यता पाएपछि बाल संरक्षण सम्बन्धी विषयले संस्थागत रुपमा अदालतमा प्रवेश पाउने भएको छ । 

महानगरपालिकाका बाल कल्याण अधिकारी शान्ता पहाडीले भनिन,  ‘यसले बाल संरक्षणका आगामी कामलाई थप सहज बनाउनेछ, अदालतको फैसलाबाट बाल बचाउका लागि नयाँ नजिर स्थापित हुनेमा हामी आशावादी छौँ ।’ 

यही विषयलाई बन्दी प्रत्यक्षीकरणको मुद्दा बनाएर उच्च अदालत पाटन गएकी बालिकाकी आमालाई अदालतले मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको फैसला गरेको थियो ।

महानगरपालिकाले आफ्नी छोरीलाई विद्यालयबाटै नियन्त्रणमा लिएर बन्दी बनाएको आरोप लगाएर महानगरपालिकासहित ५ जना व्यक्ति तथा संस्था विरुद्ध उच्च अदालत पाटनमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश अञ्जु उप्रेती ढकाल र टीकाराम आचार्यको संयुक्त इजलासले यस्तो फैसला गरेको थियो ।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.