उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो पार्टीको ८०औं वार्षिकोत्सवमा विश्वको सबैभन्दा विनाशकारी क्षेप्यास्त्र प्रदर्शन गरेका छन् । वार्षिकोत्सवको परेडमा विश्वको सबैभन्दा उन्नत हतियारहरू प्रदर्शन गरिएको थियो, जसमा यसको नयाँ ह्वासोङ(२० अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र पनि समावेश थियो, जसलाई किम जोङ उनले ‘सबैभन्दा शक्तिशाली आणविक रणनीतिक हतियार प्रणाली’ भनेर वर्णन गरेका छन् ।
तस्बिरहरूमा उत्तर कोरियाली राजधानीको सडकमा रंगीन परम्परागत पोशाकमा सजिएका हजारौं मानिसहरू राति अबेरसम्मको कार्यक्रममा भेला भएका, राष्ट्रिय झण्डा फहराउँदै र मुख्य सडकहरूमा गोलीबारीको गर्जनको आवाजमा किम जोङ उनको जयजयकार गरिरहेका देखाइएको थियो ।
सो अवसरमा रूसी सुरक्षा परिषद्का उपप्रमुख तथा राष्ट्रपति भ्लादिमिर पुटिनका नजिकका सहयोगी दिमित्री मेदवेदेव, चिनियाँ प्रधानमन्त्री ली केकियाङ र भियतनामी नेता तो लाम पनि परेडमा उत्तर कोरियाली नेतासँगै उपस्थित थिए । उत्तर कोरियाको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले जारी गरेको तस्बिरहरूमा यी सबै नेताहरू किम जोङ उनको नजिकै बसेको देखाइएको थियो ।
यसलाई चिनियाँ र रुसी नेताहरूको उपस्थितिमा, उत्तर कोरियाले अमेरिकालाई सिधै चुनौती दिएको रुपमा विश्लेषण गरिएको छ । आफ्नो भाषणमा किम जोङ उनले उत्तर कोरियाली सैनिकहरू रूसी सेनासँगै ‘अन्तर्राष्ट्रिय न्याय’ को लागि लडिरहेको कुरा पहिलो पटक सार्बजनिक रुपमा स्वीकार गरेका थिए । दक्षिण कोरियाका अनुसार युक्रेनसँगको लडाइँमा ६०० भन्दा बढी उत्तर कोरियाली सैनिकहरू मारिएका छन् । परेडमा, उत्तर कोरियाले लामो दूरीको क्रूज मिसाइल, ड्रोन प्रक्षेपण सवारी साधन र जमिनबाट हावामा प्रहार गर्ने मिसाइल प्रणालीहरू सहितको आफ्नो नवीनतम प्रविधि प्रदर्शन गरेको थियो ।
उत्तर कोरियाको राज्य एजेन्सी, केसीएनएले यी हतियारहरूले देशको ‘विशाल रक्षा क्षमता र आश्चर्यजनक प्राविधिक प्रगति’ प्रदर्शन गरेको उल्लेख गरेको छ । आफ्नो भाषणमा किम जोङ उनले भने( ‘हाम्रो अजेय सेनाले सधैं पार्टीको प्रयासलाई दोब्बर बनाएको छ, ताकि देशको उज्ज्वल भविष्य चाँडै प्राप्त गर्न सकियोस् ।’
परम्परागत पोशाकमा सजिएका हजारौं नागरिकहरूले झण्डा फहराए र ;किम जोङ उन अमर रहुन्’ भन्ने नारा लगाएका थिए ।