Connect with us

राजनीति

निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गरौंः प्रधानमन्त्री

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्नु पर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना वक्तव्य दिँदै युवाहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेकोसमेत जनाएका छन्।

प्रधानमन्त्री ओलीले दिएको शुभकामना मन्तव्य

नयाँ वर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । आजबाट सुरु भएको नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दछु ।

नयाँ वर्षमा हामी नयाँ ऊर्जा, नयाँ सङ्कल्प र नयाँ सम्भावनाको खोजी गर्छौं । यस वर्षले हामी सबैमा आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा भर्ने छ भन्ने विश्वास लिएको छु । अनेकौं कठिनाइहरुका वावजुद हामीले हासिल गरेका उपलब्धिहरुलाई आधार बनाएर हामी उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने छौं भन्ने विश्वास लिएको छुु । 

देशलाई समृद्ध र जनतालाई सुखी बनाउने हाम्रो साझा सङ्कल्प हो । राष्ट्रको साझा आकाङ्क्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौं । राष्ट्रको साझा गन्तव्य प्राप्त गर्न हामीमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक छ । सबै दिदीबहिनी दाजुभाइहरुमा नयाँ वर्षले नयाँ संकल्प पैदा गर्ने छ भन्ने आशा गरेको छु।

जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पति हुन् । यिनलाई परस्पर विरोधी शक्तिका रुपमा होइन, तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नु पर्दछ । सद्भाव, सहिष्णुता र राष्ट्रप्रेमको मिलनबिन्दुमा उभिएर मात्र हामी देशलाई अगाडि बढाउन सक्छौं ।  
मुलुकमा आज विकास केवल सपना होइन, यथार्थ बनिरहेका छन् । 

यस वीचमा ग्रामीण भेगहरूमा पुगिरहेको पूर्वाधार, यसले जनजीवनमा पर्न थालेको प्रत्यक्ष सकारात्मक प्रभाव र सामाजिक सेवा प्रणालीमा भएका सुधार लोकतान्त्रिक प्रणालीका उपलब्धि हुन् । युवापुस्ता हाम्रो राष्ट्रका सम्भावना हुन् । उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरुलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको छ ।
 
नयाँ वर्षमा हामीले हाम्रो प्रकृतिसँग पनि मित्रता राख्ने संकल्प गर्नु आवश्यक छ । वातावरणको रक्षा बिना दिगो विकास सम्भव छैन । हरियाली, स्वच्छता, जलवायु सन्तुलन र प्रकृतिप्रति जिम्मेवार व्यवहारले मात्र हामी नयाँ पुस्तालाई सुरक्षित मातृभूमि हस्तान्तरण गर्न सक्छौं । 

मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने संकल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै  राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नु पर्दछ । 

नयाँ वर्ष २०८२ सम्पूर्ण नेपालीहरूको जीवनमा शान्ति, समृद्धि, प्रगति र सन्तोषको वर्ष बनोस् । हार्दिक शुभकामना ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.