नेकपा (एमाले) को पोलिट्ब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओली र स्थायी समिति सदस्य कर्ण थापाबीच सवालजवाप भएको छ । पोलिटव्युरो बैठक सुरु हुनसाथ उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनको प्रस्ताव राखेका थिए । उनको प्रस्ताव आउनासाथ स्थायी कमिटी सदस्य कर्ण थापा उठेर बोल्न समय माग गरेका थिए ।
उनले आफ्ना केही महत्वपूर्ण विषय भएको बताउँदै बोल्नका लागि समय माग गरे पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई बोल्न समय दिएनन् ।
केही समयपछि बोल्न समय पाएका थापाले ओलीको काम कारबाही र प्रवृत्तिमाथि चर्कोसँग बोले ।
ओलीप्रति प्रश्न उठाउँदै थापाले भने– पार्टीको लोकतान्त्रिकरणको कुरा तपाईंले उठाउनुभएको होइन ? तपाईंले यस्तो कुरा उठाउँदा ६० वर्षको हुनुहुन्थ्यो । अहिले ७० कट्नुभयो । अहिले हामी ६० हाराहारीमा छौँ । अहिले हामीले ७० को प्रश्न किन उठाउन नपाउने ?”
केपी ओलीले त्यसबेला निकालेको रातो किताबका केही अंश पढेर सुनाउँदै थापाले अहिले जवाफ माग गरेका थिए । “तपाईंका प्रश्नको जवाफ मैले भोलि दिनेछु,” थापाप्रति आक्रोशित ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने । त्यसपछि थापा आफ्नो सिटमा बसेका थिए ।