राजनीति
दल खोल्ने दौड
Published
6 months agoon
By
Nepal Muhar
जेनजी आन्दोलनपछि मात्रै दल दर्ताका लागि १८ निवेदन
आन्दोलनअगाडिका १० सहित कुल २८ निवेदनमध्ये तीनले प्रमाणपत्र पाइसके, २५ दलमाथि अध्ययन गर्दै आयोग, ३० कात्तिकसम्म दल दर्ताको समय, दर्ता भएका दलको कुल संख्या १२५
जेन–जी आन्दोलनपछि संसद् विघटन भई मुलुक प्रतिनिधिसभा निर्वाचनतर्फ उन्मुख भएपछि अहिलेसम्म १८ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । आन्दोलनअगाडिका १० सहित प्रमाणपत्र पाउन बाँकी २५ दलमाथि आयोगले अध्ययन गरिरहेको छ । आयोगको निर्वाचन कार्यतालिकाअनुसार नयाँ दल दर्ताको समय ३० कात्तिकसम्म छ ।
बुधबार निवर्तमान सांसद योगेन्द्र मण्डलले चापाकल चुनाव चिह्न राखेर राष्ट्रिय ऊर्जाशील पार्टी नामक दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । बिहीबार र शुक्रबार कार्यालय समयमा थप पाँच निवेदन परेका छन् । १० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दल दर्ताका लागि आयोगमा निवेदन दिइसकेको छ । यससँगै शनिबारसम्म आयोगमा निवेदनको संख्या २५ पुगेको हो ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार आवश्यक कागजात र प्रक्रिया पुर्याएका तीन दल दर्ता भइसकेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले माटो चिह्नसहित गठन गरेको श्रम संस्कृति पार्टी दर्ता भएको छ । साम्पाङले दल दर्ताको प्रमाणपत्र पनि लिइसकेका छन् । यसैगरी नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी पनि दर्ता भइसकेका छन् । चुनाव घोषणापछि तीनवटा दल थपिएर दलको संख्या १२५ पुगेको छ ।
प्रतिनिधिसभाको २१ फागुनमा तोकिएको निर्वाचन नजिकिँदै गर्दा दल खोल्ने समूह बढ्दै गएका छन् । दल दर्ताका लागि पेस भएका २५ निवेदनमाथि आयोगले अध्ययन गरिरहेको छ । अझै विभिन्न समूह दल खोल्ने गृहकार्यमा छन् ।
भट्टराईका अनुसार आयोगमा परेका निवेदनमाथि अध्ययन भइरहेको छ । ‘नयाँ दलका लागि निश्चित सर्तहरू पूरा गरेर आउनेलाई आयोगले निर्णय गरेर दर्ता गर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार निवेदनहरू आएका छन् । साथै, कतिपय समूहले सोधखोज गरिरहेका छन् । उनीहरूले विधान कस्तो बनाउने, के–के ल्याउने भनेर आयोगमा जिज्ञासा राखिरहेका छन्,’ सहसचिव भट्टराईले भने, ‘प्रक्रिया पूरा गरेका दललाई आयोगले निर्णय गरेर दर्ता गर्छ ।’
आवश्यक कागजात लिएर आज निर्वाचन आयोग जाँदै प्रचण्ड नेतृत्वको नेकपा
१० दल–समूह मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दल दर्ताका लागि आवश्यक कागजात लिएर आइतबार निर्वाचन आयोग जाने भएको छ । नेकपाले एकता राष्ट्रिय सम्मेलनकै दिन गत बुधबार आयोगमा नाम र चुनाव चिह्नसहित ठाडो निवेदन दिएको थियो ।
एकतामा संलग्न पार्टीहरूले निर्वाचन आयोगबाट प्राप्त गरेको प्रमाणपत्र, माइन्युट लगायतसहित नयाँ पार्टीको विधान र घोषणापत्रसहित आइतबार आयोगमा जाने नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले बताए । ‘हामीले एकताकै दिन ठाडो निवेदन दिएका थियौँ । थप कागजातसहित हामी आइतबार आयोग जाँदै छौँ,’ उनले भने । नेताहरूका अनुसार केन्द्रीय सदस्य टुंग्याउन बाँकी छ । आइतबारसम्म विधानलाई अन्तिम रूप दिने तयारी छ । नेताहरूका अनुसार कार्यदलको बैठक आइतबार बिहान बस्दै छ ।
माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चाले एकता गरेका छन् । एकीकृत पार्टीको नाम नेकपा र चुनाव चिह्न तारा छ ।
आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार बुधबार साँझ आयोगमा निवेदन आएको र थप कागजात आउन बाँकी रहेको बताए ।
‘नेपाली कम्युनिस्ट पार्टीको निवेदन र सम्झौतापत्र आएको छ,’ कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भने, ‘विधान र अन्य कागजात आउन बाँकी छ ।’
यी हुन् दल दर्ताका लागि आएका २५ निवेदन
आयोगका अनुसार नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय ऊर्जाशील पार्टीसहित शनिबारसम्म २५ वटा दल दर्ताको प्रक्रियामा छन् । नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत सदस्य र दिनेश प्रसाईं अध्यक्ष रहेको गतिशील लोकतान्त्रिक पार्टी, रेशम चौधरी संस्थापक र कबिर सोव अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल, काभ्रेका ज्ञानेन्द्रकुमार तामाङको उज्यालो नेपाल पार्टीको दर्ताका लागि निवेदन आएको छ । यसैगरी युवा अभियन्ता हिराप्रसाद सोती उर्फ किरण विकको राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल, पूर्वराजदूत नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिभर पार्टी दर्ता लागि आयोगमा निवेदन परेको छ । यसैगरी हिमालयबहादुर चन्दको नेतृत्वमा नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको अध्यक्षतामा नागरिक सर्वोच्चता पार्टी नेपाल र रियाज अहमद शेषले राष्ट्रिय स्वराज पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् ।
जेन–जी आन्दोलनअघि नौवटा दल दर्ताका लागि आयोगमा निवेदन आएका थिए । जसमा मंगोल नेसनल अर्गनाइजेसन डा. गोपाल गुरुङ, किराँत मोर्चा नेपाल, नेपाल गाउँसहर जागरण दल, स्वतन्त्र युवा पार्टी, नेपाल समृद्धि पार्टी, विद्यार्थी शक्ति अभियान पार्टी, रामराज्य परिषद्, अखिल नेपाल हिन्दु महासभा, नेपाली पार्टी छन् । यी दलहरूको आवश्यक कागजात नपुगेको र कतिपय सम्पर्कमा नआएको आयोगका सूचना अधिकारी सुमन घिमिरे बताए । नेपाल नागरिक पार्टी गठन गरेका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भने निवेदन फिर्ता लिएका छन् ।
नयाँ दल दर्ता गर्न कति समय लाग्छ ?
कानुनले नयाँ दल दर्ताको समय ४५ दिन तोकेको छ । तर, आकस्मिक रूपमा प्रतिनिधिसभा निर्वाचन घोषणा भएपछि निर्वाचन आयोगले कात्तिक मसान्तसम्मको समय तोकेको छ । लगत्तै १ देखि १० मंसिरसम्म निर्वाचनमा भाग लिनका लागि छुट्टै दल दर्ताको समय तोकेको छ । यसकारण नयाँ दर्ताका लागि अब समयको चाप छ । हालसम्म दर्ताका लागि आएका नयाँ दलले आवश्यक सबै प्रक्रिया पुर्याए निर्धारित समयभित्रै दर्ता प्रमाणपत्र पाउनेछ ।
कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख सहसचिव भट्टराईका अनुसार नयाँ दल दर्ताका लागि केन्द्रीय समिति, घोषणापत्र, नियमावली र विधान आयोगले तोकेको ढाँचामा मिलेको हुनुपर्छ । केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमै गराएर सनाखत गरिन्छ । यसबाहेक दलले पाँच सयजना मतदाताको विवरण आयोगमा बुझाउँछ । आयोगले जुन जिल्लाका मतदाता हुन् त्यही जिल्ला निर्वाचन कार्यालयमा विवरण पठाउँछ । जिल्लाहरूले पाँच सय मतदाताको सनाखत गर्छ । सनाखतपछि विवरण आयोगमा आउँछ । यसका अलावा नाम, झन्डा र चिह्न कुनै दलसँग नमिल्ने र संविधान, कानुनबमोजिम हुनुपर्छ । सबै प्रक्रिया पुगेपछि आयोगले दर्ता प्रमाणपत्र दिन्छ ।
हालसम्म दर्ता भएका १२५ दल
श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनस्वराज पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा ९माले०, गान्धीवादी पार्टी नेपाल, नागरिक शक्ति नेपाल, युनाइटेड नेपाल डेमोक्रेटिक पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, नेपाल जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, नेपाल नौलो जनवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेकपा (माक्र्सवादी), नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, मधेशी जनअधिकार फोरम मधेश, नेकपा (एमाले), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा )माओवादी केन्द्र), नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, शिव सेना नेपाल, बहुजन शक्ति पार्टी, नेपाल मानवता पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, संघीय नेपाल पार्टी, नेपाल समाजवादी कांग्रेस, नेपाल जनता संरक्षण पार्टी, बहुजन समाज पार्टी नेपाल, जन–राष्ट्रवादी पार्टी नेपाल, समाजवादी पार्टी नेपाल, नेपाल जनता दल, राष्ट्रवादी एकता पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, लोक दल, देशभक्त समाज, मितेरी पार्टी नेपाल, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपास् राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च, जनजागरण पार्टी नेपाल, नेपालवाद पार्टी, विकासशील जनता पार्टी, राष्ट्रिय नागरिक पार्टी, नेपाल जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी नेपाल, त्रिमूल नेपाल, राष्ट्रवादी युवा मोर्चा, नेपाल समाजवादी पार्टी ९लोहियावादी०, इतिहासिक जनता पार्टी, आमूल परिवर्तन रिपब्लिकन पार्टी नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल संघीय समाजवादी पार्टी, आमआदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपालका लागि नेपाली पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली कांग्रेस ९बिपी०, विवेकशील साझा पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा माक्र्सवादी (पुष्पलाल), नेपाल सद्भावना पार्टी, राष्ट्रिय साझा पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, सचेत नेपाली पार्टी, नेस्नलिस्ट पिपुल्स पार्टी, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, बहुजन एकता पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल, नेकपा (समाजवादी), राष्ट्रिय सद्भावना पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल विवेकशील पार्टी, तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाली जनएकता पार्टी, आमजनता पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, संयुक्त नागरिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), साझा पार्टी नेपाल, नेकपा (गौरवशाली), नेकपा (माओवादी–समाजवादी), देशभक्त लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, नेकपा एकता राष्ट्रिय अभियान, समावेशी समाजवादी पार्टी नेपाल, जय जन्मभूमि पार्टी नेपाल, राष्ट्रवादी केन्द्र नेपाल, राष्ट्रिय समता पार्टी नेपाल, प्रगतिशील समाजवादी पार्टी, नेसनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, जनता समाजवादी पार्टी, परिवर्तन पार्टी, नेपाल जनजागृति पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल रहेका छन् ।
कमलराज भट्ट/नयाँ पत्रिका
