पश्चिम नवलपरासीको बर्दघाट-४ स्थित खुर्सानी खोला नजिकै दाउन्नेमा सडक भासिएपछि आज शनिबार बिहानैदेखि पुनः यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
हिजो साँझ सडक भासिएपछि मर्मतगरी मध्यरातमा केही घण्टा सञ्चालन गरिएको थियो । तर, आज बिहानै पुनः भासिएपछि फेरि सडक दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहराले जानकारी दिएका छन् । भासिएको सडकको मर्मतको काम भइरहेको उनले बताए । सडक मर्मत गरेर सवारी साधन सञ्चालन गर्न केही समय लाग्ने डीएस्पी बोहोराको भनाइ छ ।
दाउन्नेमा राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउनेरजाने सवारी जाममा रोकिएका छन् । यसअघि असोज १४ गते सोही स्थानमा सडक भासिएर लामै समय आवागमन अवरुद्ध भएको थियो ।