रूस र युक्रेनबीच तीन वर्षदेखि चलिरहेको युद्धमा शान्ति वार्ता सुरु गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताको समयसीमा दिएका छन् ।
ट्रम्पले शान्ति वार्ताका लागि अवस्था सुधार नभए रूसमाथि भारी प्रतिबन्ध र कर लगाउने अथवा युक्रेनलाई आफैँ समस्या समाधान गर्न छोडिदिनेछन् ।
ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई हप्तामा कुन दिशामा जाने भन्ने कुरा स्पष्ट हुने बताए । उनले वार्ता असफल भएमा रूसमाथि कडा प्रतिबन्ध वा अत्यधिक आयात कर लगाउने वा दुवै विकल्प अपनाउने बताए अब अमेरिकाले रूस–युक्रेन युद्धमा कुनै समाधानको प्रयास नगर्ने निर्णय पनि लिनसक्ने उनको भनाइ छ ।
जेलेन्स्की र पुटिनबीच बैठकमा जोड
ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बैठक गराउने विषयमा जोड दिए । उनले दुवै नेता भेटुन् भन्ने आफ्नो चाहना रहेको तर उनीहरू भिट्दैनन् भने त्यो सबैलाई थाहा होस् भन्ने चाहेको बताए ।
‘शान्ति वार्ता गराउन सजिलो छैन’
ट्रम्पले रूस र युक्रेनबीच शान्ति वार्ता गराउन सहज नभएको बताए । उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति पुटिनको भेटलाई तेल र भिनेगरको मिश्रणसँग तुलना गरे ।
उनले भने “जसरी तेल र भिनेगर एकअर्कासँग मिसिँदैनन्, त्यसरी नै यी दुई नेताहरू पनि एकअर्कासँग मिल्दैनन् ।”
उनले दुवै नेताले एकसाथ काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्न आवश्यक भएको बताए । किनकी उनीहरू जायज कारणले नै एकअर्कासँग असहमत छन् ।
‘दुवै नेताले आफैँ समाधान निकालून्’
ट्रम्पले आफ्नो सहभागिताबिना नै दुवै नेतालाई वार्तामा बसी आफैँ समाधान निकाल्न आग्रह गरे । उनले अहिले पनि युद्ध चलिरहनु र मानिसहरू मरिरहनुलाई धेरै मुर्खतापूर्ण काम भएको बताए ।
ट्रम्पले यो युद्धमा हरेक हप्ता लगभग सात हजार मानिसको मृत्यु भइरहेको दाबी गरे, जसमा अधिकांश सैनिक छन् । उनले यसअघि यो संख्या पाँच हजार बताए पनि अहिले सात हजार पुगेको जानकारी दिए ।
पुटिन सबै मुद्दा समाधान भएपछि मात्र भेट्छन्ः लाभरोभ
यता, रूसी विदेशमन्त्री सर्गेई लाभरोभले भने राष्ट्रपति पुटिन युद्धसँग सम्बन्धित सबै मुद्दा पूर्णरूपमा समाधान भएपछि मात्र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भेट्न तयार भएको बताएका छन् ।
लाभरोभका अनुसार, पुटिन दुवै देशका विज्ञहरू र मन्त्रीहरूसँग आवश्यक सबै मुद्दामा सहमति भएपछि मात्र उच्चतमस्तरमा छलफलका लागि जेलेन्स्कीसहित अन्य मानिससँग भेट्न तयार हुनेछन् । ट्रम्पले पुटिन र जेलेन्स्कीलाई प्रत्यक्ष वार्ता गर्न सुझाव दिएका थिए ।
बाह्खरी