Connect with us

अन्तर्राष्ट्रिय

पाकिस्तानमा आत्मघाती विस्फोट, १३ को मृत्यु र ३० घाइते

Published

on

विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्‍यालीबाट बाहिरिँदै गरेका बेला गएराति स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले आज जानकारी दिएका छन् ।

स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै विस्फोट भएको हो । उनले आक्रमणकारीको शरीरका अङ्गहरू घटनास्थलबाट बरामद गरिएको बताए । सरकारी अस्पतालका प्रवक्ता वसीम बेगले १३ जनाको शव र दर्जनौँ घाइतेहरू अस्पताल भर्ना भएको उल्लेख गर्दै केहीको अवस्था गम्भीर रहेको जानकारी दिए । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन ।

र्‍याली दिग्गज राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । घटनामा बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल सुरक्षित छन् । तर उनका केही समर्थकहरू मारिन पुगेका वा घाइते भएका वरिष्ठ प्रहरी अधिकारी उसामा अमीनले बताएका छन् ।

मेङ्गल सरकारका मुखर आलोचक हुन् र उनी प्रायः बेपत्ता बलुच राष्ट्रवादीहरूको रिहाइको माग गर्दै र्‍यालीहरू आयोजना गर्छन । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटलाई ‘मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य’ भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले घाइतेहरूलाई उत्कृष्ट उपचार उपलब्ध गराउन र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिएका छन् ।

इस्लामावादमा गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै ‘भारत समर्थित आतङ्कवादीहरू र तिनीहरूको सहयोगीहरूले नागरिकहरूलाई लक्षित गर्दै देशलाई अस्थिर बनाउन खोजेको’ आरोप लगाएका छन् । तर उनले आफ्ना दाबीलाई समर्थन गर्ने प्रमाण प्रस्तुत गरेका छैनन ।

हालैका महिनामा पाकिस्तान सरकार र मुख्यमन्त्री बुगतीले बारम्बार भारतले पाकिस्तानी तालिबान र बलुच पृथकतावादीहरूलाई समर्थन गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई भारतले अस्वीकार गर्दै आएको छ । बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । त्यहाँ बलुचिस्तान मुक्ति सेना (बिएलए) जस्ता समूहहरूले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएका छन् । यी पृथकतावादीहरूले विशेषगरी पञ्जाब प्रान्तका सुरक्षा बल र कामदारहरूलाई लक्षित गरेका छन् । अधिकारीहरूले विद्रोह कम भएको बताए पनि यस क्षेत्रमा निरन्तर हिंसा भइरहेको छ ।

गत जुलाईमा क्वेटाबाट पञ्जाब प्रान्ततर्फ जाँदै गरेका दुईवटा यात्रु बसलाई बलुचिस्तानको राजमार्गमा रोकेर बन्दुकधारीहरूले नौ जनालाई अपहरण गरी हत्या गरेका थिए । यस्ता अधिकांश आक्रमण प्रतिबन्धित बिएलए समूहले दाबी गर्दै आएको छ ।
विभिन्न समाचार एजेन्सीहरु

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.