Connect with us

अर्थ

सहुलियतपूर्ण कर्जामा पहुँचवालाकै रजाइँ

Published

on

सहुलियत कर्जा, अनुदान र सरकारी प्रोत्साहन योजना देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले ल्याइने गरे पनि यस्ता सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । अर्बौं रुपियाँ बराबरको कर्जा र अनुदान लक्षित वर्गमा नपुगी पहुँचवाला, बिचौलिया र टाठाबाठाको हातमा पुग्ने गरेको तथ्य विभिन्न अध्ययन प्रतिवेदनले देखाएका छन् ।

कृषि मन्त्रालयदेखि नेपाल राष्ट्र बैङ्कसम्मका सरोकारवाला निकायको अध्ययनले पनि यस्ता योजनामा पारदर्शिता र जवाफदेहिताको कमी देखिएको जनाएको छ । नीति, कार्यक्रम, बजेट र मौद्रिक नीतिमा घोषणा गरिने सुविधा जनताका लागि ‘कागलाई बेल पाके’ जस्तै बन्न थालेको छ, जसको लाभ सधैँ शक्तिशाली पहुँचवालाले मात्रै उठाउने प्रवृत्ति बढ्दो छ ।

यसलाई व्यवस्थित गर्न चालु आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमार्फत लक्षित क्षेत्रमा उत्पादन, रोजगारी तथा स्वरोजगारका अवसर वृद्धि गर्न सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी एकीकृत व्यवस्था कार्यान्वयन गरिन लागेको छ ।

सरकारले बजेटमार्फत ल्याएका कार्यक्रमलाई समेटेर सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधिको चौथो संशोधन भएसँगै यसलाई सहजीकरण गर्ने बताउँछन्, नेपाल राष्ट्र बैङ्कका प्रवक्ता किरण पण्डित ।

एक खर्बभन्दा बढी अनुदान कृषिमा

आर्थिक वर्ष २०७६/७७ देखि आव २०८०/८१ सम्म कृषि मन्त्रालयबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी एक खर्ब सात अर्ब ६६ करोड २७ लाख रुपियाँ अनुदान प्रवाह भएको देखिएको छ । प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख रुपियाँ र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख रुपियाँ रहेको छ । फेज आउट भएका परियोजनामा पनि अनुदान रकम प्रवाह भएको छ ।

मन्त्रालयका अनुसार फेज आउट भएका परियोजना हाई भ्यालु एग्रिकल्चर प्रोजेक्ट, हिमाली प्रोजेक्ट, किसानका लागि उन्नत बिउबिजन कार्यक्रम हुन् । यी संस्थामा गएको अनुदान रकमबारे पनि अध्ययन गरिने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव दीपककुमार खराल (विद्यावारिधि) आगामी दिनमा सरकारले यस्ता अनुदान दिँदा विशेष निगरानी गर्ने बताउँछन् । नेपाल राष्ट्र बैङ्कका गभर्नर प्रा. विश्वनाथ पौडेल (विद्यावारिधि) कृषिमन्त्रीसमेतको छलफलबाट मौद्रिक नीतिमा आवश्यक व्यवस्था भएको उनले बताए ।

पाँच वर्षमा रासायनिक मल, बाली तथा पशुधन बिमा, उखु उत्पादनमा प्रोत्साहन अनुदान, साना सिँचाइ, बजार पूर्वाधार, कृषि औजार उपकरण, बिउ उत्पादन, उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषि तथा पशुपन्छी क्षेत्रको प्रवर्धन गर्न ठुलो रकम अनुदान प्रवाह भएको छ । त्यसको सही सदुपयोग हुन नसकेको मन्त्रालयले नै स्वीकार गरेको छ ।

कतिले लिए सहुलियतपूर्ण कर्जा

गत वैशाख मसान्तमा वाणिज्य बैङ्कहरूबाट लगानीमा रहेको कुल कर्जामध्ये कृषि क्षेत्रमा १३.९ प्रतिशत (छ खर्ब ४७ अर्ब ८५ करोड रुपियाँ), ऊर्जा क्षेत्रमा ९. प्रतिशत (चार खर्ब १८ अर्ब ७४ करोड रुपियाँ) र लघु, घरेलु, साना एवं मझौला उद्यम क्षेत्रमा १०.८ प्रतिशत (पाँच खर्ब तीन अर्ब ३९ करोड रुपियाँ) रहेको छ ।

यसै गरी विकास बैङ्कहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्यमरव्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कुल कर्जाको २६.४ प्रतिशत (१३२ अर्ब ८८ करोड रुपियाँ) र वित्त कम्पनीहरूबाट १८.८ प्रतिशत (१९ अर्ब छ करोड रुपियाँ) कर्जा लगानीमा रहेको छ ।

वाणिज्य बैङ्कहरूबाट प्रवाह भएको कुल कर्जामध्ये २०८१ चैत मसान्तमा औसत ५.६ प्रतिशत (दुई खर्ब ६२ अर्ब २२ करोड रुपियाँ) कर्जा विपन्न वर्गमा प्रवाह भएको छ । यसै गरी विकास बैङ्कहरूबाट ७.१ प्रतिशत (३६ अर्ब १७ करोड रुपियाँ) र वित्त कम्पनीहरूबाट ५.५ प्रतिशत (पाँच अर्ब ६० करोड रुपियाँ) कर्जा विपन्न वर्गमा प्रवाह भएको छ ।

नेपाल सरकारबाट ब्याज अनुदान प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०८२ जेठ मसान्तमा ९८ हजार ५२८ ऋणीलाई प्रवाह भएको कर्जामध्ये ८५ अर्ब १० करोड कर्जा बक्यौता रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

छ अर्बभन्दा बढी दुरुपयोग

बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भएका पुनर्कर्जा र सहुलियतपूर्ण कर्जामध्ये छ खर्ब ३५ करोड बराबर कर्जा दुरुपयोग भएको महालेखा परीक्षकको कार्यालयको ६२ औँ प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार राष्ट्र बैङ्कले कोरोना महामारीबाट अर्थतन्त्रलाई बाहिर ल्याउन प्रयोग गरेको पुनर्कर्जा तथा आन्तरिक उत्पादन प्रवर्धन गर्न सुरु गरिएको ब्याजदर सहुलियतपूर्ण कर्जा दुरुपयोग भएको देखिएको हो ।

कोरोना महामारीमा अर्थतन्त्रलाई गति दिन र आन्तरिक उत्पादन तथा उद्यमशीलता प्रवर्धन गर्न सहुलियतपूर्ण ब्याजदर दिएको कर्जा दुरुपयोग भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

पुनर्कर्जा र सहुलियतपूर्ण कर्जा प्रयोगको अध्ययन गर्न नियुक्त परामर्शदाताको प्रतिवेदन अनुसार एक लाख ७२ हजार ६५४ ऋणीमध्ये ३१ हजार ६६४ ऋणीका फाइल तथा एक हजार ८३८ परियोजनाको स्थलगत निरीक्षण गरिएको थियो ।

प्रतिवेदन अनुसार मूल्याङ्कन गरिएका कर्जामध्ये सात प्रतिशत ऋणीको छ अर्ब ३५ करोड ६० लाख रुपियाँ बराबर कर्जा सदुपयोग नभएको देखिएको छ । त्यस्तै १२ प्रतिशत ऋणीको १८ अर्ब ७४ करोड ९० लाखको कर्जा फाइलमा लक्षित वर्ग पहिचान नभएको र छ प्रतिशत ऋणीको १० अर्ब ४९ करोड १० लाखमा दोहोरो कर्जा सुविधा उपयोग भएको पनि प्रतिवेदनमा छ । राष्ट्र बैङ्कको अध्ययन अनुसार ११ प्रतिशत ऋणीको २१ अर्ब २५ करोड ४० लाख रुपियाँ बराबरको कर्जामा दुरुपयोगको आशङ्का देखिएको छ ।

दुरुपयोग गर्ने कारबाहीमा

ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैङ्कले सात विकास बैङ्क र आठ फाइनान्स कम्पनीका सिइओलाई कारबाहीसमेत गरेको थियो । पाँच महिनाअगाडि राष्ट्र बैङ्कले एकै पटक १५ वटा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरूलाई कारबाही गरेको थियो । ब्याज अनुदानको सहुलियत कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्र बैङ्कले सात विकास बैङ्क र आठ फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई कारबाहीस्वरूप सचेत गराएको थियो ।

पुनर्कर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न नियुक्त गरेका परामर्शदाताले पेस गरेको प्रतिवेदन अनुसार ती संस्थाहरूबाट प्रवाह भएका कर्जामध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशङ्का भएको भनी कैफियत जनाएका कर्जाहरूका सम्बन्धमा सम्बन्धित संस्थाले सो संस्थाको आन्तरिक लेखा परीक्षणबाट तयार गरी राष्ट्र बैङ्कमा प्रतिवेदन पेस गरेका थिए ।

प्रतिवेदनका अनुसार संस्थाबाट प्रवाह भएका केही सहुलियतपूर्ण कर्जा सदुपयोग नभएबाट सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैङ्कबाट जारी सोसम्बन्धी निर्देशन उल्लङ्घन गरेका सात वटा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूलाई नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम ती वित्तीय संस्थाका कार्यकारी प्रमुखलाई सचेत गराइएको थियो ।

लुम्बिनी विकास बैङ्क, महालक्ष्मी विकास बैङ्क, कामना सेवा विकास बैङ्क, मुक्तिनाथ विकास बैङ्क, सालपा विकास बैङ्क, गरिमा विकास बैङ्क र सप्तकोशी डेभलपमेन्ट बैङ्कका सिइओ कारबाहीमा परेका थिए ।

समृद्धि फाइनान्स कम्पनी, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, आइसिएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र गुडविल फाइनान्सका सिइओ पनि कारबाहीमा परेका थिए ।
भेषराज बेल्बासे/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.