अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलगायत ििवरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले अधिकारीले विभिन्न निकायलाई बैंकबाट दिइने करोडौं रुपियाँ ऋण (कर्जा) मा सहजीकरण गरिदिएको भन्दै ७४ लाख रुपियाँ घुस लिएको तथ्य फेला पारेपछि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बैंकका तत्कालीन अध्यक्ष अधिकारीले तनहुँ आँबुखैरनी १ मा रहेको अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियाका क्रममा घुसवापत ५० लाख, रूपेन्देहीको सिद्धार्थनगर १ बेलहियामा रहेको भुसाल हस्पिटालिटीअन्तर्गतको –याडिसन प्रोजेक्टबाट ऋण मिलाइदिएवापत १९ लाख, काठमाडौं महानगरपालिका–३२ स्थित हिमाल तराई कन्स्ट्रक्सनबाट ५ लाख रुपियाँ घुस लिएको फेला परेको छ ।
विभिन्न व्यक्ति तथा संस्थाहरुलाई बैँकबाट करोडौं रुपियाँ ऋण प्रवाह गरेवापत ७४ लाख रुपियाँभन्दा बढी घुुस लिएको पुष्टि भएपछि अख्तियारले तत्कालीन अध्यक्ष अधिकारीसहित यस धन्दामा संलग्न व्यक्तिहरुविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बैंकबाट प्रवाह हुने करोडौं रुपियाँ ऋण हचुवामा मिलाइदिने र त्यसवापत लाखौं रुपियाँ घुुस लिएको तथ्य फेला परेपछि दुवै पक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएका छन् ।
अख्तियारका अनुसार बैंकका तत्कालीन अध्यक्ष अधिकारीले तनहँुको आँबुखैरनीस्थित अकलादेवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गर्न भन्दै ५० लाख रुपियाँ घुस लिएका थिए । उक्त संस्थाले २५ करोड ऋण निकाल्ने लक्ष्य राखेकोमा तत्काल मागबमोजिम रकम प्राप्त नभएपछि सो संस्थाका दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, नारायणप्रसाद बराल र सन्तोष सुुवेदी अध्यक्ष अधिकारीसमक्ष पुगेका थिए ।अधिकारीले आफूलाई कुल ऋणको एक प्रतिशत अर्थात २५ लाख रुपियाँ बुझाउने सर्त राखेपछि ऋणीहरुले उनलाई विभिन्न मितिमा २५ लाख बुझाएका थिए ।
अख्तियारले यस प्रकरणमा बैंकका तत्कालीन अध्यक्ष अधिकारीसहित घुस कारोबार गर्ने नारायणप्रसाद बराल, दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ, सन्तोष सुवेदी र लक्की खान भनिने खुस नसिब अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले उनीहरू प्रत्येकसँग ५० लाख घुस रकम जफत तथा असुलउपर गर्न माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यसै गरी अख्तियारले नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध अर्को १९ लाख घुस काण्डमा दोस्रो मुद्दा दायर गरेको छ । अख्तियारले रूपन्देहीस्थित भुसाल हस्पिटालिटीअन्तर्गतको –याडिसन प्रोजेक्टसँग १ अर्ब ७७ करोड २९ लाख ऋण दिनका लागि फरक फरक समयमा १९ लाख रुपियाँ घुस बुझेको अख्तियारको दाबी छ । यस घटनामा अख्तियारले अधिकारीसहित लक्की भन्ने खुस नसिब अन्सारी, अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यसैगरी तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध अर्को संस्थासँग ५ लाख घुस लिएको आरोपमा अख्तियारले तेस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले काठमाडौं महानगरपालिका ३२ स्थित हिमाल तराई कन्सट्रक्सन प्रालिबाट ५ लाख रुपियाँ घुस लिएको पाइएपछि अधिकारीसहित रमेश आचार्यमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उक्त संस्थाले ६ करोड ऋण लिनका लागि ५ लाख रुपियाँ घुस बुझाएको थियो ।