Connect with us

समसामयिक

प्रवासीलाई मतदान अधिकारः नीति अनुसन्धानले अध्ययन टुङ्ग्याउँदै

Published

on

फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सम्बन्धमा सरकारलाई निर्णय लिन सहयोग पुग्ने गरी नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो अध्ययन टुङ्ग्याउँदै छ । प्रतिष्ठानले आफ्नो अध्ययनको निष्कर्ष आउँदो साता सरकारलाई बुझाउने छ ।

प्रतिष्ठानका प्रवक्ता डा. दीपककुमार खड्काले छोटो समयमा प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सम्बन्धमा सम्भाव्य अध्ययन पूरा गरेको र यसै साता सरकारलाई प्रतिवेदन बुझाउने जानकारी दिएका छन् । प्रतिष्ठानले प्राविधिक पक्षबारे अध्ययन गरेको छ ।

प्रवक्ता खड्काले अनुसन्धानको निष्कर्ष र उत्तम विकल्प यो हो भनेर सरकारलाई सुझाव दिने बताए । उनले भने, “मतदानको अनिवार्यता, मतदान गर्न दिँदा हुने जोखिम, कुन विधिबाट मतदान गर्ने र मतदानको मार्गचित्र के हुने विषयमा केन्द्रित रहेर अध्ययन गरेका छौँ ।”

प्रधानमन्त्री कार्यालयले कात्तिक दोस्रो साता नीति अनुसन्धान प्रतिष्ठानलाई सो विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन पत्राचार गरेको थियो । सरकारले दिएको कार्यक्षेत्रभित्र रहेर प्रतिष्ठानले अध्ययनलाई टुङ्ग्याउँदै छ ।

देशबाहिरबाट गरिने चार प्रकारका मतदान अभ्यासमा छन्, जसमध्ये ‘व्यक्ति’ आफैँले तोकिएको केन्द्रमा उपस्थित भएर र ‘अनलाइन’ माध्यमबाट मतदान गर्ने प्रक्रिया बढी जसो चलनमा छन् ।

“‘वारेस’ र ‘हुलाक’ मार्फत मतदान गर्ने प्रक्रिया परम्परागत रूपमा चलेका छन् तर यी प्रक्रियाले झन्झटिलो र लामो समय लिन्छ,” प्रवक्ता खड्काले भने, “चार वटै प्रक्रियाको फाइदा र कमजोरी औँल्याउने छौँ तर तत्कालका लागि अनलाइन, हुलाक वा व्यक्ति आफैँले केन्द्रमा उपस्थित भएर मतदान गर्न सक्ने विधिमध्ये उत्तम विधि सरकारलाई सुझाउने छौँ ।”

मतदाता रहेको देशमा मतपत्र पठाउने र मतदाताले मतदान गरेर पुनः निर्वाचन आयोगमा पठाउने हुलाकको माध्यमबाट हुन्छ । यस प्रकारको मतदानमा जुनसुकै देशमा पहिचान भएका सबै मतदाता समेटिन्छ तर समय बढी लाग्छ । प्रवक्ता खड्काले आइतबार सरोकारवालाहरूसँग छलफल गर्ने र आएका सुझावसमेतलाई समेटेर सरकारलाई प्रतिवेदन बुझाउने बताए ।

अन्तर्राष्ट्रिय अभ्यास

सरकारले अध्यादेशमार्फत कानुनी अड्चन हटाउने तयारी गरिरहँदा प्राविधिक र व्यवस्थापकीय चुनौतीलाई समेत समाधान गर्नुपर्ने हुन्छ । यो सँगसँगै राजनीतिक सहमति आवश्यक हुन्छ । विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था थुप्रै राष्ट्रले गरेका छन् तर त्यसअघि व्यवस्थापकीय, प्राविधिक र सरकार–सरकारबिच समझदारी आवश्यक हुन्छ । करिब ४३ देशमा नेपालको कूटनीतिक नियोग छ । तोकिएका केन्द्रमा व्यक्ति उपस्थित भएर मतदान गर्ने प्रक्रियाका लागि दुई सरकारबिच समन्वय र समझदारी हुनु पर्छ ।

इन्टरनेसनल आइडियाले सन् २०२० मा गरेको अध्ययनबमोजिम २१६ राष्ट्र तथा क्षेत्रमध्ये १०९ वटा राष्ट्र तथा क्षेत्रले व्यक्ति मतदान केन्द्रमा उपस्थित भएर मतदान गर्ने प्रक्रियाको अभ्यास गरेका छन् । ब्राजिल, इजिप्ट, फिनल्यान्ड, मङ्गोलिया, म्यानमार र दक्षिण अफ्रिकालगायत राष्ट्रले यस प्रकारको अभ्यास गरेका छन् ।

५० वटा राष्ट्रले हुलाकमार्फत मतदानको व्यवस्था गरेका छन् । अस्ट्रिया, क्यानडा, जर्मनी, मलेसियाले यस प्रकारको मतदानको अभ्यास गरेका छन् । बेल्जियम, मौरिसस, भानुआटुलगायतका २१ राष्ट्रले ‘वारेस’ मार्फत मतदान गर्ने विधि पछ्याएका छन् । अस्ट्रेलिया, डेनमार्क, जापान, लात्भिया र थाइल्यान्डले भने मतदातालाई व्यक्ति आफैँ उपस्थित भएर वा हुलाकमार्फत मतदान गर्ने विकल्प दिँदै आएका छन् ।

२८ वटा राष्ट्रले विदेशमा रहेका आफ्ना नागरिकलाई संसदीय निर्वाचनमा मतदानको अधिकार सुनिश्चित गरेका छन्, जसमध्ये १८ वटा राष्ट्रले राष्ट्रपतिको निर्वाचनमा समेत मतदानको अधिकारलाई निरन्तरता दिएका छन् । आप्रवासी कामदार र परिवारका सदस्यहरूको अधिकारको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले विदेशमा रहेका नागरिकलाई आफ्नो देशको कानुनबमोजिम मतदान गर्ने र चुनावमा स्पर्धा गर्न पाउने अधिकारको व्यवस्था गरेको छ ।

नीति अनुसन्धान प्रतिष्ठानले विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकार सम्बन्धमा राजनीतिक दलहरूसँग पनि लिखित सुझाव मागेको छ । प्रतिष्ठानले दलबाट लिखित सुझाव प्राप्त भएको जनाएको छ ।

आयोगले गृहलाई सुझाव पठायो

निर्वाचन आयोगले ‘निर्वाचनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ को मसौदामा गृह मन्त्रालयलाई सुझाव पठाएको छ । सरकारले विदेशमा रहेका नेपाली नागरिकको मतदान सुनिश्चित गर्न सो अध्यादेश ल्याउने गृहकार्य गर्दै छ । गृह मन्त्रालयले गत असोज २८ गते निर्वाचन आयोगलाई अध्यादेशको मसौदामाथि सुझाव पठाउन पत्राचार गरेको थियो ।

आयोग पदाधिकारीको कात्तिक १८ गतेको बैठकले अध्यादेशको मसौदामाथि सुझाव पठाउने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले सरकारको प्रयासलाई आयोगले सकारात्मक रूपमा लिएको र सोहीबमोजिम आयोगले तयारी गरिरहेको बताए ।

आयोगले पठाएको सुझावमा निर्वाचन आयोग ऐन, २०७३ र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ मा गर्नुपर्ने कानुनी सुधार समेटेको छ । विद्यमान ऐनमा भने विदेशमा रहेका नेपालीको मतदानसम्बन्धी व्यवस्था छैन । गृह मन्त्रालयले मतदाता नामावली ऐन, निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐनमा समेत संशोधन गर्ने गरी अध्यादेशको मसौदा गर्दै छ ।

आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान दिने अधिकारसम्बन्धी कानुनी व्यवस्था अतिरिक्त सरकारलाई अन्य पाटोबारेसमेत ध्यानाकर्षण गराएको छ । राजनीतिक दल तथा निर्वाचन सरोकारवालाको सहभागिता, शान्ति सुरक्षा तथा मतदान केन्द्र, स्रोत साधन तथा जनशक्तिको व्यवस्थाबारे सुनिश्चित हुनुपर्ने आयोगले सुझाव दिएको छ ।

सरकारले विदेशमा रहेका नेपाली नागरिकको मतदान गर्ने व्यवस्थाका लागि कानुनी अवरोध हटाउने गृहकार्य गरे पनि राजनीतिक दलहरूसँग सो विषयमा छलफल गरेको छैन ।
ईश्वरचन्द्र झा/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.