त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ।
बिहान ८ः०० बजेदेखि ४६ आंगिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन जारी भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिएका छन्। मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले आजै साँझदेखि मतगणना गर्नेछ । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ। निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूह लगायतले भाग लिएका छन्।
काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन स्थगित गरिएको छ ।
काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदि क्याम्पसमा चुनाव हुँदैछ।
उपत्यकाबाहिर मोरङ डिग्री क्याम्पस विराटनगर, पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुराम बहुमुखी क्याम्पस लगायतमा स्ववियु चुनाव हुँदैछ।