Connect with us

समसामयिक

मौसम विभागद्वारा हावाहुरी सुरु हुने समय र प्रभावित जिल्लाको विवरण सार्वजनिक

Published

on

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु हुने समय र प्रभावित हुने जिल्लाहरुको विवरण सार्वजनिक गरेको छ ।

विभागको विशेष बुलेटिनमा उल्लेख भए अनुसार अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने छ । हावाहुरीबाट सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटीसहित आसपासका जिल्ला प्रभावित हुने सम्भावना छ ।

लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासीसहित आसपासका जिल्लामा पनि हावाहुरीको प्रभाव पर्ने छ । गण्डकी प्रदेशको नवलपुर र बागमती प्रदेशको चितवन आसपासका जिल्ला पनि हावाहुरीबाट प्रभावित हुनसक्ने सूचनामा उल्लेख छ ।

यस्तै मधेश प्रदेशका बारा, पर्सा र धनुषासहित आसपासका जिल्लामा पनि हावाहुरीबाट प्रभावित हुनसक्ने विभागले जनाएको छ । कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लामा पनि तीव्र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विभागले हावाहुरी सुरु हुने समय पनि संशोधन गरेको छ । विभागको अध्यावधिक सूचनामा आज अपराह्न ४ बजे तीव्र गतिको हावाहुरी सुरु हुने र भोलि बिहान ६.४५ बजे समाप्त हुने उल्लेख छ ।

हिजो विभागले वैशाख १६ गते साँझ ५.४५ हुरी चल्न सुरु हुने र १७ गते बिहान ७.४५ बजे समाप्त हुने सम्भावना रहेको जनाएको थियो । विभागका अनुसार हावाहुरीसँगै मेघगर्जन, चट्याङ सहित असिना पानी पर्ने प्रणाली पनि पश्चिमबाट पूर्वतिर सर्दै जाने सम्भावना छ ।

देशका धेरै ठाउँहरुमा यसको प्रभाव पर्ने सम्भावना भएकाले सतर्कना अपनाउन विभागले सबैलाई अनुरोध गरेको छ । विभागको चेतावनी अनुसार यसबेला काठमाडौंको आकाशमा मेघजर्गन भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.