तथ्य खोज
लोकलाज पचाएर किर्ते ‘रथी’ अशोक सिग्देलको समूह नेताका घर–मन्त्रालय धाउँदै, नेता र सत्तालाई प्रभावित पार्न चार ठेकेदारसमेत परिचालित
Published
9 months agoon
By
Nepal Muhar
किर्ते नागरिकता बोकेर पनि अशोक सिग्देलको सेनापति हुने हठ । सैनिक प्रमुख प्रभुराम शर्मा र ‘रथी’ सिग्देलले सैनिक शक्तिको दुरुपयोग गर्दै किन हेप्दैछन्, राज्य एवं नागरिकलाई ?
घटना एक
किर्ते जन्ममितिका रथी अशोकराज सिग्देललाई जसरी भए पनि प्रधान सेनापति बनाउने उद्देश्यले सैनिक प्रमुख प्रभुराम शर्माले आज साँझ सरकारी निवास शशी भवनमा ‘डिनर पाटी’ राखेका छन् । उक्त डिनरमा रक्षामन्त्री हरिप्रसाद उप्रेती, पूर्वरक्षामन्त्री पूर्णबहादुर खड्का, अमेरिकी ग्रिनकार्डधारी रक्षा सचिव किरणराज शर्मा र मधेशवादी दलका नेताहरुलाई निम्तो गरिएको छ । ‘किर्ते महारथ’ सिग्देलका पक्षमा ‘लविइङ’ गर्न डिनरमा सम्पूर्ण ताकत खर्च गरिने स्रोतको भनाइ छ ।
घटना दुई
हिजो असार १५ गते सैनिक प्रमुख प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले सिग्देलका पक्षमा माहोल बनाउन नेताहरुका घर दैलोमा देउसी भैलो खेलेका थिए । शनिवारको बिदा र असार १५ को चटारोमा पनि शर्माद्धय दिउँसोको खाना अघिसम्म नेताहरुका घरदैलो चहार्न व्यस्त रहेका स्रोतको दाबी छ । सिग्देलको किर्ते जन्ममितिमा शर्माद्धय नेताहरुका घर–घरमा पुगेर सफेद झुट प्रस्तुत गर्दै आफ्ना पक्षमा माहोल सिर्जना गर्ने प्रयत्न गरेका थिए ।
घटना तीन
त्यसअघि अस्ति असार ११ गते किर्ते रथी सिग्देल आफ्ना पक्षमा माहोल बनाई पाउँ भन्दै रक्षा मन्त्रालय पुगेका थिए । जानकारका भनाइमा सिग्देलले त्यहाँ रक्षामन्त्री हरिप्रसाद उप्रेतीलाई त भेट्न पाएनन् । विवादित रक्षा सचिव किरण शर्मालाई भेटेर झुटको सहारा लिँदै रोइकराइ गरेका थिए ।
किर्ते रथी सिग्देललाई प्रधान सेनापति बनाउन पछिल्ला दिनमा भएका दौडधुपका केही प्रतिनिधि घटना हुन्, यी । ‘कानून सबैका हकमा समान ढंगले लागु हुनुपर्छ’ न्यायको सर्वमान्य सिद्धान्त हो । तर, न्याय मिचेर व्यक्तिगत स्वार्थको पछि लाग्ने जमातका हकमा ‘नेपालको कानुन दैवले जानून’ भन्ने उखान हुने गरेको छ । यही उखानलाई फेरि एक पटक व्यवहारतः लागू गराउन सक्छौ/सक्छु भन्ने भूत सवार भएर हुन सक्छ, फरक–फरक जन्ममितिका किर्ते नागरिकता बोकेर पनि ‘रथी’ अशोकराज सिग्देलले प्रधान सेनापति बन्ने हठ गरिरहेका छन् ।
सिग्देलको हठलाई सैनिक शक्तिको दुरुपयोग गर्दै प्रभुराम शर्माले त पूठ दिइरहेका छन् नै, उनको किर्ते धन्दा यति धेरै प्रमाणित भइसक्दा पनि नेता, शासक र प्रशासकहरुले सिग्देललाई कानूनी दायरामा ल्याउन आनाकानी गरिरहेका छन् । परिणाम, सिग्देलमा सेनापति बनेरै छाड्ने महत्वकांक्षा चुलिएको छ । दोहोरो नागरिकता बनाएर सरकारी लाभको पदमा बसेर राज्य दोहन गरिरहेका सिग्देललाई नेता र प्रचण्ड सरकारले प्रश्रय गर्नु गम्भीर दण्डहीनता त हो नै, लाचारीको पराकाष्ठ हो । लाचारीको यो पराकाष्ठले राज्य मिचाहाहरुको मनोबल बढिरहेको छ । फलतः सरकारी निकायका कागजातमा चार फरक जन्ममिति भएका सिग्देल प्रधान सेनापतिको कुर्सीमा पुग्न तिकडमका अनेकानेक प्रपञ्च रचिरहेका छन् ।

माध्यामिक तहसम्म पढेको विद्यालय, एसएलसी दिँदाको विवरण रहने परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी, प्रविणता प्रमाणपत्र तह अध्ययन गरेको मकवानपुरको भिमफेदीस्थित नेपाली सेनाको सुपिङ क्याम्पस, जसको केन्द्रीय कार्यालय भक्तपुर सल्लाघारी र त्रिभुवन विश्वविद्यालयको अभिलेख अनुसार सिग्देलको वास्तविक जन्ममिति २०२१ साल चैत्र १९ गते हो । (हेर्नुहोस् अभिलेख)
उनले २०४० साल असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट पहिलो नागरिकता लिएका छन् । जसमा उनको उमेर १७ वर्ष उल्लेख छ । त्यसबेलाको चलन नै त्यही थियो कि नागरिकता लिएको दिनलाई आधार मानेर जन्ममिति गणना गर्ने । यस हिसाबले रुपन्देही जिल्ला प्रशासन कार्यालयका अनुसार सिग्देलको जन्ममिति २०२३ साल असोज ९ गते हो । यस मितिले नागरिकता लिएका दिन उनी १७ वर्षका हुन्छन् । यो नागरिकता अनुसार सिग्देल गत असोज ९ गते नै उपरथीबाट अनिवार्य अवकाश भइसक्नु पर्ने थियो । किनभने उपरथीको उमेर हद ५७ वर्ष हो ।
सिग्देल २०४३ साल फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका हुन् । सेनाको २५ वेसिकमा भर्ना भएका उनीसँगै त्यो ब्याचमा ५२ जना अधिकृत क्याडेट भएका थिए । जसमध्ये दुई जना पूर्वशाही पाश्वर्वती मेजर राजु कार्की र प्रभुराम शर्माले व्यक्तिगत प्रतिशोधमा कारबाही गरेर बर्खास्त गरेका उपरथी प्रेम शाहीले बेलायतको रोयल मिलिट्री एकेडेमी स्याडहर्टसमा तालिम गर्ने अवसर पाए, जीत गुरुङ (सहायक रथी, अ.प्रा.) आइएमए देहरादुन (इन्डियन मिलिट्री एकेडेमी) मा छानिए ।
५२ जनामध्ये १ जना तालिम अवधिमै निष्कासनमा परे । दुई जनाले बीचमै तालिम छाडे भने अरु ४६ जनाले भक्तपुरको खरिपाटीस्थित तत्कालीन शाही नेपाली सैनिक प्रतिष्ठानबाट आयुक्त पद प्राप्त गरे । त्यही ब्याचका उपरथी (अ.प्रा), हाल राष्ट्रिय सेवा दलका सम्पर्क अधिकृत सुरेश कार्की तीन पटक भागेका थिए । तर, उनले पहुँचकै भरमा जागिरमा निरन्तरता पाएका थिए । २५ वेसिकमा पास आउट भएका ४९ जनामध्ये अब सेनामा सिग्देल, निर्मलकुमार थापा र यान्त्रिक सेवा महानिर्देशनालयका महानिर्देशक उपरथी भोला बुढाथोकी मात्र बाँकी छन् ।
यस ब्याचका सरोजप्रताप राणा र सीताराम खड्का रथीबाट निवृत भए भने रथी हुने रोलक्रममै रहेका अनन्त कार्कीलाई कार्यकाल थप गर्न आफ्नै हातले हस्ताक्षर गरेको सिफारिसलाई लत्याउँदै सेना प्रमुख शर्माले व्यक्तिगत प्रतिशोध साँधेर घर पठाई उनीभन्दा कनिष्ठ खड्कालाई रथी बनाएका थिए ।

यस ब्याचकै ताराध्वज पाण्डे प्रधान सेनापति (महारथी) बन्दै थिए । तर, उनले पनि नागरिकतामा किर्ते गरेको प्रमाणित भएसँगै रथी बढुवा सिफारिस गरिसकेपछि सेना प्रमुख शर्माले जंङ्गी अड्डामा ६ घण्टा बन्धक बनाएर राजीनामा गराएका थिए । अनि त्यहीँ ब्याचका किर्ते धन्दाका अर्का नायक सिग्देललाई भने शर्माले प्रधान सेनापतिको रोलक्रममा राखेका छन् । नेपालमुहार प्रतिनिधिलाई राणा, खड्का, कार्की, पाण्डे, सिग्देल जो कोही प्रधान सेनापति, रथी हुन् वा नहुन्, खास सरोकार छैन । पक्तिकारको सरोकार मुलुक कानून र विधिको शासनमा चलेको छ कि छैन ? ठ्याक्कै एउटै प्रकृतिको घटनामा कानून सबैलाई समान ढंगले लागू हुन्छ कि हुँदैन ? को कसरी र कुन प्रवृति बोकेर उपल्लो जिम्मेवारीमा पुगे ? भन्ने मात्र हो ।
अब फेरि उनै सिग्देलको किर्तेधन्दातिरै फर्कौ । २०५८ सालमा जाजरकोटमा वीर दलको गुल्मपति भएका थिए, सिग्देल । उनी जाजरकोटमा वीर दलको संस्थापक गुल्मपति हुन् । त्यहीँ गुल्मपति भएका बेला ०५८ जेठ ८ गते सिग्देलले प्रतिलिपि भनेर नागरिकता लिएका छन् । सरकारी कर्मचारी खासगरी निजामती, प्रहरी र सेना एवं उनीहरुका सन्तानले अभिभावक जुन जिल्लामा पुग्यो, त्यहीँबाट नागरिकता लिने सुविधा पाउँदै आएका छन् । त्यही सुविधा अन्तरगत सिग्देलले प्रतिलिपि नागरिकता लिएका थिए ।

प्रतिलिपि हुबहु हुनु पर्ने कानूनी व्यवस्था छ । तर, सिग्देलले कानूनको गम्भीर खेलाची गर्दै जन्ममिति स्थान, नागरिकता जारी मिति समेत फरक पारेर प्रतिलिपि लिएका प्रमाणहरुले खुलाउँछन् । उनले जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्म स्थान कपिलवस्तु र जारी मिति २०४०/०४/२९ छ । जबकि रुपन्देहीबाट लिएको नागरिकतामा जन्म स्थान रुपन्देही, सिदार्थनगर र जारी मिति २०४०/०६/०९ छ । उल्लेख भइसक्यो, यो मिति अनुसार सिग्देल ०८० असोज ९ गते नै अनिवार्य अवकाशमा गइसक्नु पर्ने थियो । अनि जारकोटबाट लिएको प्रतिलिपि अनुसार त झन् ०८० साउन २९ गते नै उनी निवृत भइसक्नु पर्ने थियो ।
तर, उनले नागरिकता अनुसार होइन, सेनाको सुपिङ क्याम्पसका तत्कालीन क्याम्पस प्रमुख कमल राज सिंह राठोरले ‘टु हुम इट मे कन्सर्न’ (जो जसँसँग सम्बन्धित छ) भनेर दिएको चारित्रिक प्रमाणपत्रको जन्ममिति अनुसार जागिर खाइरहेका छन् र प्रधान सेनापति भएरै छाड्ने धृष्टता गरिरहेका छन् । जुन कानूनी शासनमा सरासर अपराधिक दण्डनीय कार्य हो । २०४३ साल भदौ १२ गते को मितिमा बनाइएको भनिएको टु हुम इट मे कन्सर्नमा सिग्देलको जन्ममिति २०२३/१०/१९ उल्लेख गरिएको छ । जब कि उनले नागरिकता भने त्यसको तीन वर्ष अघि नै २०४० साल असोज ९ गते बनाएको प्रमाणले देखाउँछ ।

जानकारका अनुसार तत्कालीन क्याम्पस प्रमुख राठोरले सिग्देललाई सुरुमा दिएको ‘टु हुम इट मे कन्सर्न’मा जन्ममिति सुपिङ क्याम्पसको वास्तविक जे हो, त्यही थियो अर्थात २०२१ साल चैत्र १९ गतेको थियो । सिग्देल मेजरको जिम्मेवारीमा रहदा निवृत भइसकेका तत्कालीन क्याम्पस प्रमुख राठोरलाई प्रभावमा पारेर टु हुम इट मे कन्सर्नमा जन्ममिति र जन्म महिना परिवर्तन गरी हस्ताक्षर गर्न लगाएका जानकारको दाबी छ । त्यसबेला एसएलसी दिँदा १६ वर्ष पुरा नभई सहभागी हुन पाइन्नथ्यो । स्रोतका अनुसार मेजरको जिम्मेवारीमा रहदै गर्दा सिग्देलले यो भेउ पाए कि चैत्र १९ गतेकै मिति राख्दा एसएलसी दिँदा १६ वर्ष पुगेको हुँदैनथ्यो । त्यसैले जन्ममिति दुई वर्ष र जन्म महिना दुई महिना घटाएर २०२३ साल माघ १९ को जन्ममिति राखेर ‘टु हुम इट मे कन्सर्न’ लिएका स्रोतहरु बताउँछन् ।

यसबेला सिग्देल र उनको समूहले ‘प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सचिव जस्ता महत्वपूर्ण पदमा बढुवा हुने बेलामा बिरोधीहरुले यस्तै फजुल आरोप लगाउँछन्, प्रचारबाजी गर्छन्, यो प्रधान सेनापति बन्न नदिने षडयन्त्र हो’ भनेर निकटहरुलाई ‘कन्भिन्स’ गरिरहेका छन् । यति मात्र होइन, उनीहरुले ‘दुश्मन लागे हजुर, संस्थाको छवि र ब्यक्तिको मनोविज्ञानमा असर पारिदैछ । यो पहिले नै छानबिनबाट टुङ्ग्याएको विषय हो । बिरोधीहरुले अहिले गलत प्रमाणहरु सार्वजनिक गरेर सिष्टम तोड्न खोज्दैछन्’ भनेर नेता, शासक, प्रशासकहरुलाई सहमत गराउन खोज्दैछन् ।
सिग्देलहरुले बनाएको यो कथ्य सरासर गलत भाष्य हो । जसरी पृथ्वी, सूर्य, चन्द्र, तारामण्डल अकाट्य सत्य हो, ठिक त्यसैगरी सिग्दलले नागरिकतामा किर्ते गरेको पनि उसैगरी सत्य हो । तर, जो चोर उसकै ठूलो स्वर उखान चरितार्थ गर्दै गोयबल्स शैलीमा उत्रिरहेका छन् । गोयबल्स शैली त्यही हो, एउटा झुटलाई सय पटक सही भनेपछि सत्यकै रुपमा बुझिन्छ भन्ने मान्यता छ ।
तथ्य/प्रमाण हेरेको कुनै व्यक्तिले सिग्देलको नागरिकतामा कैफियत छैन भनेर भन्छ भने त्यो भन्दा ठूलो ‘जोक’ धर्तीमा अरू केही हुनै सक्तैन । भलै, स्वार्थी हुलले सत्य बोल्दैन । त्यसैले शर्मा–सिग्देलपछि दगुरिरहेको स्वार्थ समूहले कैफियत छैन भन्ने दलिल गरिरहेको छ । जुन सत प्रतिशत झुट हो । झुट छ्याङछ्याङती छ्यालब्याल हुँदा समेत उनीहरु लाजसरम पचाएर दौडधुप गरिहेका छन् । सिग्देल र उनी निकट समूहसँग सामान्य मात्र नैतिकता हुन्थ्यो भने म (हामी) यतिविध्न विवादित भइसक्यौं । अब मलाई (हामीलाई) त्यो पदमा बस्न सुहाउँदैन भनेर विश्राम लिने थिए । तर, उल्टै उनका खुट खराबीमाथि कलम चलाउनेहरुलाई धम्की दिन छाडेका छैनन् ।
चार ठेकेदारको दौडधुप
जानकारका भनाइमा सिग्देललाई प्रधान सेनापति बनाउन चार जना ठेकेदारहरु समेत दौडधुप गरिरहेका छन् । ती चार ठेकदारहरु हुन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचारमा मुद्दा दायर गरिएका विवादास्पद व्यापारी विशाल पण्डित, दिपक कुँवर, दिपक भट्ट र शम्भु भारती । सिग्देललाई प्रधान सेनापति बनाउन यी ठेकेदारहरु अर्ब रुपैयाँसम्म खर्च गर्न तयार रहेका जानकार बताउँछन् ।
सिग्देलले प्रधान सेनापतिको कुर्सीमा पुग्न नेता–कर्मचारीतन्त्रको व्यवस्थापन गर्न चार ठूला ठेकेदार त परिचालन गरिरहेका छन् नै, केही ठेकेदार सञ्चार गृहका मालिक एवं प्रधान सम्पादक, सम्पादकलाई आफ्नो विपक्षमा नलेखिदिन आग्रह गर्दै आफैं भेटिरहेका छन् । त्यसैको करामत ठूला भनिने सञ्चार माध्यम प्रायः कसैले पनि सिग्देलको किर्तेधन्दा लेखिरहेका छैनन् ।